सुरु भयो भक्तपुर फिल्म महोत्सव

महोत्सवमा २४ वटा फिल्म देखाइनेछन् ।

चैत्र ६, २०८२

कान्तिपुर संवाददाता

Bhaktapur Film Festival has begun.

What you should know

काठमाडौँ — नवीन सुब्बा निर्देशित 'गाउँ आएको बाटो' देखाउँदै भक्तपुर फिल्म महोत्सव सुरु भएको छ । भक्तपुरस्थित नेपाल भोकेस्नल एकेडेमीमा भक्तपुरका युवा फिल्मकर्मीहरुले यो महोत्सव आयोजना गरेको हो । 

शनिबारसम्म आयोजना हुने यो महोत्सवमा २४ वटा फिल्म देखाइनेछन् । सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’देखि अंकित पौडेलको ‘सङ अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’लगायतका फिल्महरु महोत्सवमा देखाइँदैछन् । महोत्सवमा फिचरदेखि डकुमेन्ट्री अनि लघु फिल्म देखाइने भएको संयोजक स्मित गिरीले बताए । 

महोत्सवको पहिलो दिन ‘ढोरपाटन'का निर्देशकद्वय सुनीर पाण्डे र राजन कठेत उपस्थित थिए । फिल्म समीक्षक समाजका अध्यक्ष सामिप्यराज तिमिल्सेनादेखि निर्माता अनुप पौडेल, सिनिमेटोग्राफर बबिन दुलाललगायतको उपस्थिति कार्यक्रममा थियो । 

'एकादेशमा फिल्म महोत्सव' सुरु गरेका निर्माता पौडेलले युवा फिल्मकर्मीलाई यो महोत्सवलाई निरन्तरता दिन हौसला दिए । 'हामी भक्तपुरमा हुने फिल्मकर्मीबीच सधैँ भक्तपुरमा फिल्म कम्युनिटी छ कि छैन भनेर गफ हुन्थ्यो । यो महोत्सव भक्तपुरमै सुरु भयो- जुन खुसीको कुरा हो । सांस्कृतिक रुपले धनी सहरमा यो महोत्सव सुरु भएको छ,' पौडेलले भने, 'अब भक्तपरका फिल्मकर्मी पनि देखिनु पर्‍यो, उनीहरुको फिल्म हेर्न पाइयोस् ।' निर्देशक कठेतले युवा समूहको यो प्रयासलाई हौसला दिन पनि आफू महोत्सवमा सरिक भएको जनाए । 

भक्तपुर जन्मथलो भएकै कारण यसको आवश्यकता ठानेर भक्तपुरमा यो महोत्सव सुरु गरिएको संयोजक सफल वैद्यले बताए । 'भक्तपुर हाम्रो जन्मथलो । भक्तपुरमा केही गरौँ भन्ने थियो । त्यसैले हामीले यो महोत्सव सुरु गर्‍यौं,' वैद्यले भने । वैद्य फिल्मका विद्यार्थी हुन् । 

महोत्सवलाई युवा फिल्मकर्मीहरु किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले आयोजना गरेको हो । किलम्बु महोत्सवका निर्देशक हुन् ।

कान्तिपुर

Link copied successfully