सात वर्षपछि ‘सरकार ४’ को घोषणाले दर्शकमाझ उत्साह छाएको छ, राम गोपाल वर्माले छायांकन चाँडै सुरु हुने बताए।
काठमाडौँ — बलिउडमा अहिले सिक्वेल फिल्महरू एकपछि अर्को गर्दै थुप्रै बनिरहेका छन् । हरेक वर्ष फिल्मका दोस्रो, तेस्रो वा चौथो भागहरू प्रदर्शन भइरहेका छन् ।
यो ट्रेन्ड बलिउडमा मात्र नभई दक्षिण भारतीय फिल्म क्षेत्र (साउथ) मा पनि निकै फस्टाएको छ ।
बक्स अफिसमा फिल्मले राम्रो व्यापार गर्नेबित्तिकै दर्शकले त्यसको सिक्वेलको माग गर्न थाल्छन् । कतिपय फिल्मको त पहिलो भाग रिलिज हुनुअघि नै दोस्रो भागको घोषणा भइसक्छ ।
यसैबीच, चर्चित फिल्म निर्माता तथा निर्देशक राम गोपाल वर्माले आफ्नो कल्ट क्लासिक फिल्म 'सरकार' को चौथो संस्करण अर्थात् ‘सरकार ४’ निर्माण गर्ने घोषणा गरेका छन् ।
रेड लरी फिल्म फेस्टिभलको उद्घाटन सत्रमा बोल्दै निर्देशक वर्माले ‘सरकार ४’ को काम अर्को महिनादेखि सुरु गर्ने जानकारी दिएका हुन् । वर्माले भने, ‘म ‘सरकार ४’ बनाउँदै छु र अर्को महिनादेखि यसको सुटिङ सुरु गर्दै छु ।’
यसका साथै उनले आफ्नो अर्को प्रोजेक्ट ‘द सिन्डिकेट’ को बारेमा पनि चर्चा गरे ।राम गोपाल वर्माको निर्देशनमा बनेको यो पोलिटिकल क्राइम ड्रामा फ्रेन्चाइजिका हालसम्म तीनवटा भाग रिलिज भइसकेका छन् ।
‘सरकार’को पहिलो भाग सन् २००५ मा रिलिज भएको थियो, जसमा अमिताभ बच्चन मुख्य भूमिकामा थिए । यो फिल्म मराठी राजनीति र अपराधको संसारमा आधारित थियो ।
‘सरकार राज’ सन् २००८ मा रिलिज भएको थियो । दोस्रो भागमा अमिताभ बच्चनसँगै अभिषेक बच्चन र ऐश्वर्या राय पनि महत्वपूर्ण भूमिकामा देखिएका थिए ।‘सरकार ३’ लामो अन्तरालपछि सन् २०१७ मा ल्याइएको थियो ।
अघिल्ला तीनवटै भागले दर्शकलाई प्रभावित पारेका थिए । अब सात वर्षपछि चौथो संस्करणको घोषणाले फ्यानहरूमा उत्साह जगाएको छ ।
फेस्टिभलमा वर्माको चर्चित फिल्म ‘शिवा’को विशेष स्क्रिनिङ गरिएको थियो । उक्त अवसरमा उनले आफ्नो फिल्म निर्माणको प्रेरणाबारे पनि खुलेर कुरा गरे । उनले हलिउडका दिग्गज निर्देशक स्टिभन स्पिलबर्गको कामबाट आफू भिजुअल स्टाइलका लागि प्रेरित भएको र मार्शल आर्ट लेजेन्ड ब्रुस लीको फिल्म ‘द वे अफ द ड्र्यागन’ बाट कथाको सोच आएको खुलासा गरे ।
