निर्वाचन परिणामबारे कलाकार भन्छन् - 'स्थिर सरकार पाइने भयो'

मतगणनाको परिणामले कलाकारमा नयाँ बन्ने सरकारप्रति आशा जगाइदिएको छ ।

फाल्गुन २३, २०८२

रीना मोक्तान

Actor says about election results - 'A stable government has been achieved'

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतपरिणामले जनतामा भएको वितृष्णा देखाइदिएको कलाकारहरु बताउँछन् । नयाँ दलले पाएको मतले देश परिवर्तनको आशा बोकेर जनताले जनादेश दिइसकेको र अबको पालो चुनेर पठाइएको नेतृत्वको रहेको उनीहरुको धारणा छ । 

अभिनेत्री प्रियंका कार्कीले पनि परिवर्तनको आशा बोकेरै आफूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिएको र सुरुवातदेखि नै बालेन समूहलाई समर्थन गर्दै आएको बताइन् । 'मैले यसपटक जति पनि पुरानो अनुहार थियो, झुटा आश्वासनहरु थिए त्यसबाट बाहिर निस्कन जरुरी भन्ने सोचेरै मत दिएको हुँ । देश सही मार्गमा हिँडेको हेर्न त्यस्ता व्यक्तिले निर्वाचन जितोस्, जसको सोच्ने धारणा पहिलाको भन्दा फरक होस् भनेर बोल्दै आएको पनि थिएँ,' प्रियंकाले भनिन्, 'र अहिले यस्तो खालको परिणाम आइरहेको देखिन्छ । जनतालाई पनि यो परिवर्तन त्यत्तिकै चाहिएको रहेछ भन्ने कुरा मतले बोलिरहेको देखिन्छ ।' 

प्रियंकालाई लाग्छ, अहिलेको यो मतपरिणामले देशको राजनीतिक परिदृश्य नै परिवर्तन गरिदिएको छ । त्यसैले देश हाँक्न सक्ने क्षमता र संभावना बोकेको नेतृत्वलाई आफूहरुले नयाँ परिवर्तनकै आशमा मत दिएको प्रियंका सुनाउँछिन् । उनी भन्छिन्, 'गर्न सक्ने क्षमता, संभावना बोकेको नेतृत्वले जब देश हाँक्नुहुन्छ त्यसले परिवर्तन पनि ल्याउँछ भन्नेमा हामी विश्वस्त छौं । हेर्दैजाउँ के हुन्छ !' 

प्रियंका पार्टीभन्दा पनि बालेनको नेतृत्व र उनको कार्य गर्ने शैलीबाट पहिल्यैदेखि प्रभावित थिइन् । 'उहाँको नेतृत्व, भिजनमा देशमा पक्कै पनि परिवर्तन आउँछ, सकारात्मकतर्फ देश जान्छ भन्ने विश्वास ममा मात्रै होइन अधिकांश नेपालीमा छजस्तो लाग्छ । जसरी भए पनि त्यो परिवर्तन ल्याउनुपर्छ । त्यसका लागि सामाजिक सञ्जालतिर भन्दा पनि मत दिएरै त्यो परिवर्तन ल्याउनुपर्छ भनेर बोलिरहेकै थिएँ । त्यो देखियो,' प्रियंकाले सुनाइन् । 

देश 'इनफ इज इनफ'को अवस्थामा आइसकेकेको हुँदा पनि यो निर्वाचनले नयाँ अनुहारलाई विश्वास गरिदिएको हो भन्ने लाग्छ, प्रियंकालाई । एउटै अनुहारले धेरै वर्षदेखि 'म्यूजिकल चियर' खेलिदिएकै कारण सरकार अस्थिर बनेको महसुस प्रियंकाले पनि गरेकी थिइन् ।

पाँच वर्षसम्म कुन सरकारले देशलाई हाँक्यो, स्थिर सरकार कुन थियो ? प्रियंकालाई याद छैन । वर्षौंदेखि पुराना अनुहारले दिएको झुटा सपना पूरा हुने आशमै नेपाली जनतामा वितृष्णा जागेको प्रियंका सुनाउँछिन् । त्यही वितृष्णाले अहिले यो परिणाम ल्याएको उनको विचार छ ।

'मलाई जहाँसम्म लाग्छ नेपालीहरु सहनशील हुनुहुन्छ । जति सपनाहरु देखाइयो, त्यो पूरा होला भनेर पर्खियौं तर कहिल्यै पूरा भएन । अनि अब चाहिँ हामी सहन्नौं है भन्ने लहर आयो, 'प्रियंका सुनाउँछिन्,' नयाँ पार्टी जसले जित्लाजस्तो छ, त्यसमा नयाँ अनुहार हुनुहुन्छ । राजनैतिक अभ्यास कम होला । तर, गर्छ है भनेर विश्वास गरेकोले त केही नगरेपछि नयाँलाई त चान्स दिऔं भनेर नै मत दिइएको छ । आ-आफ्नो क्षेत्रमा आफूलाई सावित गरिसक्नु भएकोहरुले देशलाई अगाडि लैजान्छ भन्ने आशा छ ।' 

अभिनेता एवं निर्देशक निश्चल बस्नेतलाई पनि मतगणनाको प्रारम्भिक मतपरिणामले नेपाली नागरिकले परिवर्तन खोजेको रहेछ भन्ने देखिएको अनुभव भएको छ । त्यही परिवर्तनका लागि जनताले मत दिएर आफ्नो कार्य पूरा गरिसकेको उनी सुनाउँछन् । जितेर जानेहरुको अबको जिम्मेवारी सेवा डेलिभरी गर्नु नै रहेको उनले सुनाए । जनताले अब प्रतिपक्षको भूमिका खेल्नुपर्ने आवश्यकता देख्छन् उनी । 'म त खुशी नै छु, एउटा स्थिर सरकारको काम अनुभव गर्न पाइन्छ भनेर,' निश्चलले सुनाए । 

बालेनलाई यो निर्वाचनमा सघाइरहँदा निश्चललाई कतिले स्वार्थी भन्दै आलोचना गरे । तर, आधारभूत आवश्यकतामै अल्झिएको देशले निकास पाओस् भनेर आफूले बालेनलाई सहयोग गरेको उनी सुनाउँछन् । निश्चललाई व्यक्तिगत रुपमा बालेनबाट न केही लिनु थियो न दिनु थियो । सबै नागरिकलाई सेवा गर्ने सेवामुखी सरकारको अपेक्षा गर्दै आफूले बालेनलाई सहयोग गरेको उनको तर्क छ ।

'सायद हामीले स्थिर सरकारले कसरी काम गर्छ भन्ने नै अनुभव गर्न पाएका छैनौं । हरेक क्षेत्रमा हामीले झुन झमेला सहँदै आएका छौं त्यो समाधान हुनुर्‍यो । जनतालाई सेवा दिने सेवामुखी सरकार कसरी बन्न सक्छ भनेर कुनै सरकारले देखाउन सकेको थिएन,' निश्चलले भने,'यो सरकाले त्यो गरिदिए म सबैभन्दा खुशी त्यसैमा हुने थिएँ ।'

हुन त चिनेकै अनुहार भएर कति सेवा लिने ठाउँ निश्चलका लागि सहज भइदियो । तर, उनी नयाँ बन्ने सरकारले सबै नागरिकलाई समान सेवा प्रदान गरुन् भन्ने चाह व्यक्त गर्छन् । उनी भन्छन्,'सरकारले हरेक नागरिकलाई एकै किसिमको सेवा दिनेछ भनेर आशा देखेरै सहयोग गरेको हुँ । व्यक्तिगत रुपमा न केही लिनुछ, न केही दिनुछ । सबै नागरिकले पाउनु नै मैले पाउनु हो । केही पाउँछु भनेर सहयोग गरेकै होइन ।' जनताको समस्या समाधान गर्ने सरकारको अपेक्षामै आफूले बालेनलाई समर्थन गरेको उनी निर्धक्क सुनाउँछन् । 'आउने ५ वर्षसम्म पनि समर्थन गर्ने हो । तर, काम बिगार्न थाल्यो भने खबरदारी पनि गर्नेछु,'निश्चलले भने,'मेरो काम त फिल्म हो फिल्म बनाइरहन्छु । आफ्नो क्षेत्रको नीतिगत क्षेत्रमा काम गर्दै जाने हो,'उनले भने । 

निश्चल पहिल्यैदेखि संगीतमार्फत बालेनसँग जोडिएका थिए । बालेन काठमाडौंको मेयरमा उठ्दा होस् या संसदीय निर्वाचनमा होमिँदा उनले समर्थन गर्दै आएका हुन् । बालेनले जसरी काठमाडौं महानगरपालिकामा काम गरे त्यही शैली, नेतृत्त्व पूरा देशमा हेर्न चाहेरै आफूले बालेनलाई समर्थन गरेको निश्चल सुनाउँछन् । 

अभिनेता एवं निर्माता रवीन्द्रसिंह बानियाँमा पनि स्थायी सरकार बन्ने आशा जागेको छ । नयाँ बन्ने सरकारले चलचित्र विधेयकलाई पनि पास गरिदेला भन्ने आशा रवीन्द्रले लिएका छन् । जनताको अपेक्षा र आकांक्षालाई सिमित स्रोत साधनबीच कसरी पूरा गरिदेलान् भन्ने चुनौती नयाँ बन्ने सरकारमा थपिएको रवीन्द्र सुनाउँछन् । 'स्थायी सरकार भएन भन्ने हुन्थ्यो पहिला । तर अब त स्थायी सरकार बनेर चलचित्र विधेयक पनि पास होला भन्ने भएको छ । अरु त उहाँहरुको काम हेर्न बाँकी छ । फिल्म त बनाइयो प्रदर्शन गर्नै बाँकी छ,'रवीन्द्रले भने,'जनताले अनुमोदन गरिदिएका छन्, उहाँहरुले सबै पेसाका लागि राम्रो वातावरण बनाइदिनु पर्‍यो ।' 

रास्वपाको समानूपातिक सूचीमा परेकी पूर्वमिस नेपाल एवं व्यवसायी अनुश्का श्रेष्ठ देशभरको मतपरिणाम आशाले भरिएको देख्छिन् । त्यही आशा अनुरुपको काम गर्न आफूहरुको तयारी हुनुपर्ने पनि उनले विचार छ । 'यो मत परिणाम भनेको जनताको कति फ्रस्टेसन अनि आशा कति राख्नुभएको छ भन्ने प्रतिबिम्ब पनि हो । र हामीले पनि यही अनुसारले तयारी साथ काम गर्नुपर्छ भन्ने पनि हो,'उनले भनिन् । 

अनुश्का रञ्जु दर्शनाको विजयोत्सवमा पनि पुगेकी थिइन् । रञ्जुको यो जीतले महिलाको सामर्थ्य र नेतृत्त्व क्षमता प्रकट गरिदिएको उनी सुनाउँछिन् । 'महिलाले कति गर्न सक्छन् भन्ने कुराले सायद आज पुरुषहरु पनि चकित पर्नु भएको छ । हामी बच्चासँगै नेतृत्त्व पनि सम्हाल्न सक्छौं भन्ने उदाहरण हो यो,'अनुश्काले भनिन्,'९ महिनाको गर्भ बोकेर उहाँले जसरी निर्वाचनमा होमिनु भयो त्यो निकै शसक्त थियो । समाजकै हिसाबले पनि हाम्रो समूदाय राम्रो काम गर्ने शसक्त महिलालाई साथ दिन तयार छ भनेर पनि यो जीतले देखाउँछ ।' अनुश्का आफ्नो नयाँ भूमिका र तयारीमा जुटिसकिन् । उनी भन्छिन्,'नेपालमा मेड इन नेपालको वस्तु उत्पादन गर्न खोज्दा पाउने चुनौति, र युवाहरुलाई देशमै गरिखान देउ भनिरहँदा उनीहरुमा जगाउनुपर्ने कन्फिडेन्टका लागि काम गर्ने तयारी गरिरहेका छौं ।' सुशासनसहितको सरकारमा विश्वास गर्छिन् उनी । 

रास्वपाको समानुपातिक उम्मेदवार एवं गायक प्रकाश सपुतमा अहिलेको माहोलले नयाँ उर्जा थपिदिएको छ । नयाँ आन्दोलन र नयाँ समयको आवश्कयताको एक हिस्सा बन्न पाउँदा उनी खुशी छन् । 'यो माहोल राम्रो छ । बहुमत नै आउने देखिन्छ । यसपाली त जनता नै धन्यवादको पात्र हुनुहुन्छ । उहाँहरुले नै नयाँ आवश्कयतालाई महसुस गरिदिएर अनुमोदन गरिदिनु भएको छ,'प्रकाशले भने,'लोकतन्त्रको सुन्दर पक्ष नै यही हो ।' आफू आबद्ध दलले पाएको जीतले एक किसिमको जिम्मेवारी बोध भएको पनि प्रकाशले अनुभव गरेका छन् । प्रकाशलाई उत्पीडनको आवाज र अनुहार बन्नुछ ।

'रास्वपाको घोषणा पत्रमै पनि उत्पीडकको आवाजलाई विभिन्न क्षेत्रको पहुँचमा पुर्‍याउने भन्ने कुरा छ,'उनले भने,'बालेन र रवीको आगमनले कार्य शैलीमा परिवर्तन मात्रै होइन उत्पीडित समुदायलाई राज्यको हरेक निकायको पहुँचमा कसरी पुर्‍याउन सकिन्छ भन्ने काम हुनेछ भन्नेमा योजनाबद्ध काम हुन्छ भन्नेमा मलाई अनुभव भएको छ ।' भोलि आफू आबद्ध दलले उत्पीडित समुदायको आवाज बिर्सिहाले खबरदारी गर्न आफू उभिने पनि प्रकाशको दाबी छ । 'वर्षौंदेखि उत्पीडनमा पारिएकाहरुको आवाजलाई राष्ट्रिय दलले बिर्सियो भने सम्झाउने काम भइहाल्छ,'प्रकाशले भने । 

जेन-जी आन्दोलनले सिर्जना गरेको परिस्थितिले अभिनेत्री निशा अधिकारीलाई राजनीतिमा होमिन मात्रै होइन प्रतिनिधि सभाको निर्वाचन लड्न लगायो । नयाँ पुस्ताका लागि केही गर्नुपर्छ भन्ने हुटहुटीले निशा गतिशिल लोकतान्त्रिक पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ५ को उम्मेदवार बनिन् । मतदानपछि निशाले लामो सास फेरेकी छन् । 'जेनजी आन्दोलनपछि जे जिम्मेवारी अनुभव भएको थियो, मैले आफ्नो सक्दो प्रयास गरें भन्ने आनन्दको आभास भएको छ,'निशाले सुनाइन्,'जेनजी आन्दोलनमा देशका लागि केही गर्नुपर्छ भन्ने जुन छटपटी थियो, त्यो गुम्सिएको उकुसमुकसले बाटो खोजिरहेको थियो । यो चुनावी क्याम्पियनबाट एउटा मार्ग निर्देशन पाएको छ । यसरी चुनावी मैदानमै लडेकाले म एकदमै खुशी छु ।' 

निर्वाचनमा पहिलोपटक होमिएकै कारण निशाले मतगणनाको आकलन गर्न सकिरहेकी छैनन् । आफूले पाउने यो मत पार्टी र आफ्नै चुनावी अभियानका लागि भविष्यका लागि आकलन गर्न सहयोग पुग्नेमा उनी ढुक्क छिन् । 'पहिलोचोटी उठेको भएर मेरो पकेट भोट कहाँ-कहाँ छ ? कहाँबाट आउँछ भन्ने यकिन छैन नि । मेरो आफ्नै चुनावी अभियान र पार्टीगत रुपले मैले पाउने जनमत अर्को निर्वाचनका लागि एनालाइसिस गर्न सहयोग हुन्छ,'निशाले भनिन् ।

निशाले यो पटक उम्मेदवार बनिरहँदा धेरै कुरा सिकेकी छिन् । आचार संहिता पालन गरेर चुनावी अभियानमा लागिरहँदा जिम्मेवारी पूरा गरेको अनुभव पनि गरेकी  रहिछन् । 'नेतृत्त्वको भूमिकामा त हामी उम्मेदवारी दिएपछि नै आउँछौं नि । हरेक दिन आचार संहिता पालन गर्दै चुनावी अभियान गरियो । यसरी निष्ठापूर्ण ढंगले क्याम्पियन हुनुपर्छ भन्ने आफ्नै लागि बेन्चमार्क भयो,'निशाले भनिन्,'हाम्रो पार्टी नयाँ पार्टी हो । पार्टीगत रुपले यसरी नै क्याम्पियन गर्न सकिन्छ भन्ने बेन्चमार्क भयो ।'

निशाले यही निर्वाचनबाट धेरै हिम्मत बटुलेकी छन् । देशका लागि तत्कालै गर्नुपर्ने विषयहरुलाई नजिकबाट नियालेकी छन् । तर, महिला नेतृत्त्वलाई पचाउन यो समाजलाई गाह्रो परेको अनुभव पनि उनले महसुस गरेकी छन् । 'अहिले धन्न प्रधानमन्त्रीले चुनाव गराएरै छाड्नु भयो । धेरै आलोचना खेपेर उहाँले निर्वाचन गराउनुभयो । बल्ल महिला नेतृत्त्वको त्यो दम स्वीकारिएको देखिन्छ,'निशाले भनिन्,'होइन भने महिला नेतृत्त्व र महिला उम्मेदवारलाई एकदमै हलुका रुपमा लिइँदो रहेछ । यो छिछोल्न कहाँबाट सुरु गर्ने भन्ने पनि भएको थियो मलाई ।'

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully