प्रकाश सपुत भन्छन् - 'बहुमत नै आउने हो कि भन्ने छ'

सबेरै बाग्लुङ क्षेत्र नम्बर १ बाट मतदान गरेका प्रकाशले बालेनजीहरुको इमान्दार प्रयास देखिएकाले यसलाई स्थापित गर्नु आफ्नो उद्धेश्य भएको बताए ।

फाल्गुन २१, २०८२

रीना मोक्तान

Prakash Saput says - 'It remains to be seen whether the majority will come'

काठमाडौँ — गायक प्रकाश सपुतका लागि प्रतिनिधि सभाको यो निर्वाचन निकै नौलो बन्यो । निर्वाचनको मतपत्र उनका लागि गह्रुङ्गो भयो । अरुबेला निर्वाचनको समय उनका लागि रमाइलो हुन्थ्यो, मतदान नै ठूलो भूमिका भइदिन्थ्यो । तर, यो पटक उनले आफूलाई अलि बढी जिम्मेवार महसुस गरे । कारण हो, उनका लागि यो निर्वाचन केवल सामान्य मतदान मात्रै भइदिएन । रास्वपाको समानूपातिक उम्मेदवार रहेका प्रकाशले यही निर्वाचनबाट संगीतहुँदै सदनसम्मको यात्रा सोचेका छन् । 

'पहिला भोट हाल्ने त हो भन्ने हुन्थ्यो । तर, यो पाली अलि बढी जिम्मेवार महसुस भयो । मतपत्रमा पहिलो पटक घण्टी चिन्ह समावेश भएका कारण हाम्रो गाउँमा मतदातालाई पनि अलि बढी रमाइलो भएकोजस्तो भइदियो,'प्रकाशले भने,'गाउँकै भाइ/छोरा उम्मेदवार भएको हिसाबले मानिसहरुको एक किसिमको अपेक्षा, स्वागतसहितको अनुभवले अलि बढी जिम्मेवारी थपिएको आभास भयो ।' 

प्रकाशले आज बिहान  करिव ९ बजेतिर बाग्लुङ क्षेत्र नम्बर १ बाट मतदान पनि गरे । रास्वपासँग आबद्ध भएर विभिन्न क्षेत्र पुगिरहँदा यो पटक प्रकाशले नयाँ अनुहारका लागि जनताको छुट्टै विश्वास बढेको अनुभव गरेका छन् । कोशी, बाँके, बाग्लुङ र स्याङ्जाका उम्मेदवारका लागि भोट माग्दै उनी ती जिल्लाका निर्वाचन क्षेत्र पुग्दा त्यहाँका जनताका कुरालाई नजिकैबाट नियाले । 'विचार र एजेन्डाका कुरा त छँदैछ । तर, अहिले त नयाँलाई हेर्ने हो भन्ने खालको भाष्य भेटें,'प्रकाशले सुनाउँछन् । 

हुन त प्रकाश गायकका हिसाबले नेपालका विभिन्न जिल्लामा सांगेतिक प्रस्तुतिका लागि यसअघि नपुगेका होइनन् । तर, नेता बनेरै ती जिल्लाहरुमा पुगिरहँदा अनुभव निकै बेग्लै बनेको उनी सुनाउँछन् । 'नेता भएर प्रस्तुत हुँदा आफैलाई सहज भएन । कलाकारका रुपमा पुगिसकेको ठाउँमा निश्चित पार्टीको उम्मेदवारका रुपमा पुग्दा म मानसिक रुपले तयार भइसकेको रहेनछु भन्ने अनुभव भयो,'प्रकाशले आफ्नो अनुभव सुनाए,'तर, मैले नयाँ जिम्मेवारीलाई, नयाँ समयलाई, नयाँ सत्यलाई स्थापित गर्नुपर्ने भएकाले संगीतमार्फत आफ्नो तरिकाले डेलिभरी गरें ।' 

रास्वपाको दलित पुरुष क्लस्टरको दोस्रो नम्बरमा परेका प्रकाश पूराना शक्तिसँग समान्तर रुपले अघि बढ्ने, प्रश्न गर्ने,नेतृत्व गर्ने बालेन्द्र समूहको इमान्दार प्रयासलाई सघाउन रास्वपा प्रवेश गरेका हुन् । 'कम्तिमा पनि नयाँ आन्दोलन र नयाँ समयबाट स्थापित नयाँ पार्टी पूरानो पार्टीसँग समानन्तर अस्तित्वमा आउनु पर्‍यो । होइन भने व्यवस्था परिवर्तनको क्रेडिटमै राजनीतिलाई पटक पटक भजाइरहने कार्य हुन्छ । त्यसैले त्यसका लागि अर्को समानन्तर राजनीति चाहिन्छ जसले नयाँ समयको नयाँ मुद्दा लिएर आओस् भन्ने थियो,'प्रकाशले भने,'बालेन जीहरुको इमान्दार प्रयास देखिएकाले यसलाई स्थापित गर्नु मेरो उद्धेश्य हो । यो स्थापित भइरहँदा एउटा उत्पीडित समुदायको अनुहार, आवाज सँगसँगै जानुपर्छ भन्ने नै हो ।'

आफू र आफ्नो पार्टीका लागि 'ग्राउन्ड लेभल'मा बसेर गरिने राजनीति नयाँ भएको पनि प्रकाशले महसुस गरेका रहेछन् । 'ग्राउन्ड लेभलमा बसेर राजनीति गर्नु अप्ठ्यारो नै रहेछ । तर, कार्यकारी भएर एकचोटी सदनमा बसेर केही नीतिमा काम गर्न सकियो, राजनीतिलाई फरक अभ्यास गर्न सकियो भने राम्रो अनुभव हुन्छ होला,'प्रकाशले थपे ।

गायनसँगै अभिनयमा सक्रिय प्रकाशले यो निर्वाचनमा पूरानादेखि नयाँ मतदाताका फरक विचारसँग ठोक्किएसँगै आफ्नो पार्टीले बहुमत ल्याउला कि भन्ने अनुभवसमेत बटुलेका छन् । 'आजको दिनसम्म बहुमत नै आउने हो कि भन्ने छ,'प्रकाशले भने ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully