नेपाली फिल्ममा चुनावी कथा

झन्डै ६ दशकको इतिहासमा पञ्चायतदेखि गणतन्त्रात्मक व्यवस्था भोगिसकेको नेपाली फिल्म क्षेत्रमा तुलनात्मक रूपमा राजनीतिक विषयमा नगण्य फिल्म बनेका छन् । तुलसी घिमिरे निर्देशित ‘बलिदान’ जस्ता केही नगण्य फिल्म अपवादमा छन् । तर पछिल्लो एक दशकयता नेपाली फिल्मका कथामा राजनीति मात्र होइन, चुनाव पनि सशक्त ढंगले आउन थालेका छन्

फाल्गुन १९, २०८२

समर्पण श्री

Election stories in Nepali films

What you should know

काठमाडौँ — हालै मात्र युट्युबमा तीन नेपाली फिल्म रिलिज भए– ‘सेन्टी भाइरस’, ‘दिमाग खराब’ र ‘झरीपछिको इन्द्रेणी’ । तीन वटै फिल्मका मूल कथा राजनीतिकेन्द्रित छन् । तर ‘झरीपछिको इन्द्रेणी’ लाई छाड्ने हो भने ‘सेन्टी भाइरस’ र ‘दिमाग खराब’ को समानता हो– चुनावकेन्द्रित विषयवस्तु । बलिउडमा ‘राजनीति’, ‘नायक’, ‘न्युटन’ ‘सरकार’ होस् वा हलिउडमा ‘दि इड्स अफ मार्च’, ‘अल द प्रेसिडेन्ट्स मेन’, ‘द क्यान्डिडेट’, ‘इलेक्सन’ जस्ता चुनावी विषयकेन्द्रित फिल्महरू चर्चित छन् । 

विदेशी भाषाका राजनीतिक फिल्महरू प्रशस्त मात्रामा बन्दै आइरहेका छन् । तर झन्डै ६ दशकको इतिहासमा पञ्चायतदेखि गणतन्त्रात्मक व्यवस्था भोगिसकेको नेपाली फिल्म क्षेत्रमा तुलनात्मक रूपमा राजनीतिक विषयमा नगण्य फिल्म बनेका छन् । तुलसी घिमिरे निर्देशित ‘बलिदान’ जस्ता केही नगण्य फिल्म अपवादमा छन् । तर पछिल्लो एक दशकयता नेपाली फिल्मका कथाहरूमा राजनीति मात्र होइन, चुनाव पनि सशक्त ढंगले आउन थालेका छन् । मुस्ताङ सेरोफेरोमा खिचिएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी’ ले प्रेमको कथा मात्र भनेन, त्यसमा चुनावी छक्कापञ्जालाई पनि गाँस्यो । अभिनेता दयाहाङ राईले नै अभिनय गरेका चुनावकेन्द्रित फिल्मको संख्या एकपछि अर्को गर्दै बढिरहेका छन् । उदाहरण हुन्– ‘कबड्डी कबड्डी’, ‘नांगो गाउँ’, ‘दिमाग खराब’ र ‘सेन्टी भाइरस’ । 

किन बनिरहेका छन् राजनीतिक फिल्म ?

अधिकांश फिल्मले दिएको साझा सन्देश हो– गलत प्रवृत्तिविरुद्धको लडाइँ । हरेक फिल्मले चुनावका बेलामा हुने गलत अभ्यासलाई उदांगो पार्ने प्रयास गरेका छन् । पछिल्लो समय यस्ता फिल्महरू बन्नु सुखद मान्छन् अभिनेता तथा लेखक दीपकराज गिरी । उनी नेपाली फिल्ममेकरले जहिले पनि ‘ट्रेन्ड फलो’ गर्ने भएकाले त्यसकै उपजस्वरूप यस्ता फिल्महरू बन्न थालेको दाबी गर्छन् । ‘हामीले छ माया छपक्कै बनाउँदा त्यति धेरै राजनीतिक सिनेमा नै बनेका थिएनन् । पछि ट्रेन्ड फलो पनि गर्न थालियो । समय सान्दर्भिक भएर पनि होला राजनीतिक सिनेमा बन्न थाले,’ उनी भन्छन् । 

‘ऐंचोपैंचो’ कि निर्देशक कृषा चौलागाईं पनि फिल्मको कथा दर्शकको मनस्थितिसँगै हुँदा व्यापार गर्छ भनेर चलचित्रकर्मीहरूले प्रक्षेपण गर्ने बताउँछिन् । ‘हाम्रो देशको परिस्थिति राजनीतिक परिदृश्यको हिसाबले जहिले पनि अस्तव्यस्त छ । राजनीतिमा सही निर्णय नहुँदा जनता जहिले पनि रुष्ट भइरहन्छन् । यसलाई सिनेमामा देखाउँदा समयसापेक्ष हुने भयो । यसकारण पनि राजनीतिकेन्द्रित सिनेमा बन्छन्,’ कृषा भन्छिन्, ‘सिनेमाबाट जनतालाई सचेत गराउन पनि चुनावी कथाकेन्द्रित फिल्म बनाइरहेका छन् ।’

‘सेन्टी भाइरस’ र ‘कबड्डी कबड्डी’ जस्ता फिल्ममा चुनावको कथा उनेका निर्देशक रामबाबु गुरुङ भने समाजभित्र हुने गतिविधिजस्तै राजनीतिले पनि जनतालाई प्रभाव पार्ने कुरालाई जोड दिन्छन् । ‘समाज र समाजको संस्कृतिलाई राजनीतिले प्रभाव पार्छ । फिल्म भनेको समाजकै कथा हुन् । त्यसकारण आउनु स्वाभाविक हो,’ उनी भन्छन् ।

‘हरिबहादुरको जुत्ता’ निर्देशन गरेका निर्देशक दीपेन्द्रकुमार खनाल पछिल्लो समय जनतामा राजनीतिक असन्तुष्टि बढेकै कारण पनि यस्ता फिल्महरू बढेको आकलन गर्छन् । ‘पछिल्लो समय राजनीतिलाई लिएर जनतामा ठूलो असन्तुष्टि छ । फिल्मले समाजको कुरा टिप्ने हुँदा त्यो असन्तुष्टि फिल्ममेकरमा पनि हुन सक्छन् । व्यक्तिगत जीवनमा भोगेका सामूहिक समस्या राजनीतिक प्रवृत्ति भएकाले त्यो फिल्ममा पनि आएको हो,’ उनी भन्छन् ।

फिल्म निर्देशक केपी पाठक राजनीतिक फिल्ममा राजनीतिक दलहरूप्रति जनताको असन्तुष्टि देखाउँदा र उनीहरूलाई अलिकति नकारात्मक रूपमा चित्रण गर्दा दर्शकको ‘सेन्टिमेन्ट’ जित्न सकिने भएकाले यस्ता फिल्म निर्माण हुन थालिएको तर्क गर्छन् । ‘यो एउटा बलियो ‘कमर्सियल एलिमेन्ट’ पनि बनेको छ । ‘पुराना नेताहरू बेठीक हुन्छन्’ भन्ने जुन एउटा भाष्य आज समाजमा निर्माण भएको छ, त्यसमा सिनेमाको ठूलो हात छ,’ पाठक भन्छन् । यी फिल्मले गणतान्त्रिक व्यवस्थालाई कसरी सुदृढ गर्ने वा कहाँ सुधार गर्ने भन्ने कुरामा खासै जोड नदिएको बताउँछन् उनी । ‘बरु, व्यवस्था र व्यवस्था चलाउने सबैलाई नकारात्मक रूपमा मात्र प्रस्तुत गरियो । ‘पुराना सबै खराब हुन्, त्यसैले नयाँ चाहिन्छ’ भन्ने सन्देश जाँदा यसले व्यवस्थाप्रति नै वितृष्णा जगाउने काम पनि गर्‍यो,’ पाठक आलोचनात्मक बन्दै भन्छन्, ‘अहिले देखिएका नयाँ शक्तिहरूको उदय र उभारमा कतै न कतै सिनेमाले निर्माण गरेको यो भाष्यको पनि ठूलो भूमिका छ ।’ 

‘पुराना सबै खराब हुन्’ भन्ने भाष्य बन्यो : केपी पाठक

अहिले नेपाली चलचित्र क्षेत्रमा विषयवस्तुमा विविधता नभएको र ‘लभ स्टोरी’ फिल्महरूमा पनि दर्शकको आकर्षण कम हुँदै गएको अवस्था छ । यसका साथै सेन्सर बोर्डले धेरै गम्भीर र संवेदनशील विषयहरूमा काम गर्न रोक्ने भएकाले मेकरहरूका लागि राजनीतिलाई एउटा ‘सजिलो’ र ‘प्रभावकारी’ विषयका रूपमा लिन सजिलो भएको छ । फिल्ममा राजनीतिक पार्टीहरूप्रतिको जनताको असन्तुष्टि देखाउँदा र उनीहरूलाई अलिकति नकारात्मक रूपमा चित्रण गर्दा दर्शकको ‘सेन्टिमेन्ट’ जित्न सकिन्छ जसले गर्दा यो एउटा बलियो ‘कमर्सियल एलिमेन्ट’ पनि बनेको छ । ‘पुराना नेताहरू बेठीक हुन्छन्’ भन्ने जुन एउटा भाष्य आज समाजमा निर्माण भएको छ, त्यसमा सिनेमाको ठूलो हात छ ।

मेरो विचारमा, सिनेमाले समाजको दर्पणका रूपमा मात्र होइन, एउटा खबरदारी गर्ने माध्यमका रूपमा पनि काम गर्नुपर्छ । सर्जक भनेको त समाजको एक किसिमको प्रतिपक्ष नै हो । देश र व्यवस्था चलाउनेहरूलाई खबरदारी गर्नु र उनीहरूको गल्ती औंल्याउनु एउटा सर्जकको दायित्व पनि हो । पछिल्लो केही वर्षयता फिल्म मेकरहरूले खुलेरै वर्तमान राजनीतिक अवस्थामाथि आफ्नो विचार र आलोचना राख्न थालेका छन् । सिनेमा एउटा यस्तो शक्तिशाली ‘भिजुअल’ माध्यम हो जसले ठूलो क्यानभासमा कथामार्फत मानिसहरूलाई प्रभावित र उत्प्रेरित गर्ने सामर्थ्य राख्छ ।

मैले केही वर्षअघि नै भनेको थिएँ कि यस्ता फिल्महरूले नयाँ राजनीतिक शक्तिहरूलाई नै सपोर्ट गर्ने वातावरण बनाइरहेका छन् । यद्यपि, एउटा पक्ष के छ भने यी फिल्महरूले गणतान्त्रिक व्यवस्थालाई कसरी सुदृढ गर्ने वा कहाँ सुधार गर्ने भन्ने कुरामा खासै जोड दिएनन् । बरु, व्यवस्था र व्यवस्था चलाउने सबैलाई नकारात्मक रूपमा मात्र प्रस्तुत गरियो । ‘पुराना सबै खराब हुन्, त्यसैले नयाँ चाहिन्छ’ भन्ने सन्देश जाँदा यसले व्यवस्थाप्रति नै वितृष्णा जगाउने काम पनि गर्‍यो । अहिले देखिएका नयाँ शक्तिहरूको उदय र उभारमा कतै न कतै सिनेमाले निर्माण गरेको यो भाष्यको पनि ठूलो भूमिका छ भन्ने मलाई लाग्छ ।

००

चुनावी कथामा ९ फिल्म

कबड्डी कबड्डी

फिल्म ‘कबड्डी कबड्डी’ सफल ‘सिक्वेल’ हो । ‘कबड्डी’ को यतिबेला पाँचौं शृंखला रिलिजको तयारीमा छ । दोस्रो शृंखला ‘कबड्डी कबड्डी’ भने प्रेम र राजनीतिमा केन्द्रित थियो । ११ मंसिर २०७२ मा रिलिज भएको यो फिल्मको कथा मुस्ताङको नौरीकोटमा आधारित छ । फिल्ममा दुई पात्रहरू वीरकाजी (दयाहाङ राई) र बमकाजी (सौगात मल्ल) बीचको टकराव देखाइएको छ ।

यो टकराव ‘मैया’ (रिश्मा गुरुङ) को प्रेम पाउनका लागि मात्र नभई, गाउँको राजनीतिक वर्चस्व र चुनाव जित्नका लागि पनि हुन्छ । फिल्ममा निर्वाचनमा हुने गुटबन्दी, दाउपेच र चुनावी प्रचारप्रसारलाई प्रस्तुत गरिएको छ । रामबाबुले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ, विजय बराल, बुद्धि तामाङलगायतको अभिनय छ ।

छ माया छपक्कै

फिल्म ‘छ माया छपक्कै’ राजनीति र प्रेम सम्बन्धको रोचक मिश्रित कथा हो । दीपेन्द्र लामाले निर्देशन गरेको यो फिल्म २४ असोज २०७६ मा रिलिज भएको थियो । फिल्ममा दीपकराज गिरी र केकी अधिकारी मुख्य भूमिकामा छन् । कथामा उनीहरू फरक–फरक राजनीतिक दलमा आस्था राख्ने परिवारका सदस्यका रूपमा छन् ।

फिल्मले गाउँको राजनीति, पानीको समस्या र दुई विपरीत राजनीतिक कित्ताका व्यक्तिहरूबीचको प्रेमले ल्याउने सामाजिक हलचललाई व्यंग्यात्मक शैलीमा देखाएको छ ।

सेन्टी भाइरस

९ फागुन २०७६ मा रिलिज भएको फिल्म ‘सेन्टी भाइरस’ हालै मात्र युट्युबमा रिलिज गरिएको छ । रामबाबुकै निर्देशन रहेको यस फिल्ममा सीताराम कट्टेल र कुञ्जना घिमिरेको मुख्य अभिनय छ । यो फिल्मको कथा पनि चुनावकेन्द्रित छ । फिल्ममा एउटै परिवारका सदस्यहरू (बुबा र छोरा) फरक–फरक राजनीतिक दलमा आबद्ध हुन्छन् । चुनावको समयमा उनीहरूबीच उत्पन्न हुने वैचारिक द्वन्द्वलाई फिल्मले रोचक ढंगले प्रस्तुत गरेको छ ।

छक्का पञ्जा ४

१९ फागुन २०७९ मा रिलिज भएको यो फिल्मलाई हेमराज बीसीले निर्देशन गरेका हुन् । यो फिल्मको कथा ‘राजा’ (दीपकराज गिरी) को वरिपरि घुम्छ । फिल्मका मुख्य पात्र राजा एक स्थानीय गुन्डा नाइके हुन्छन्, जसलाई राजनीतिक दलहरूले आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्छन् । चुनावका गलत प्रवृत्ति र तिकडम फिल्मको मुख्य कथा हो । फिल्मलाई दीपकराजले नै लेखेका हुन् । फिल्ममा दीपकराजसँगै दीपाश्री निरौला, केकी अधिकारी, बेनिशा हमाल, निर्मल शर्मा, केदार घिमिरे (माग्ने बुढा), बुद्धि तामाङ, राजाराम पौडेललगायतको मुख्य भूमिका छ । यो फिल्मले २० करोडभन्दा माथिको व्यापार गरेको थियो ।

प्रसाद २

१५ वैशाख २०८० मा रिलिज भएको सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’ पनि जातीय विभेदसँगै चुनावको कथा वरिपरि केन्द्रित छ । सुशील पौडेलको लेखनमा तयार भएको फिल्म अन्तरजातीय विवाह गरेका बाबुराम (विपिन कार्की) र नारायणी (केकी अधिकारी) को संघर्षपूर्ण कथा हो । सहरबाट १२ वर्षपछि गाउँ फर्किएको यो जोडीले गणतन्त्र र नयाँ संविधान आएपछि पनि समाजमा व्याप्त जातीय विभेद, कट्टरपन्थी सोच र शक्तिको आडमा हुने राजनीतिक दाउपेचको सामना गर्छ । फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा र महेश त्रिपाठी मुख्य भूमिकामा छन् ।

ऐंचोपैंचो

१४ भदौ २०८० मा रिलिज भएको यो फिल्मलाई कृषा चौलागाईंले निर्देशन गरेकी हुन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हो । एक सर्वसाधारणले पहुँचमा भएका शक्तिशाली राजनीतिज्ञमाथि चुनावी मैदानमा कसरी विजय हासिल गर्छ ? फिल्म यही सवालमा केन्द्रित छ । गलत प्रवृत्तिविरुद्ध लड्ने एउटा इमानदार व्यक्तिसँग जनमत बलियो हुने कुरालाई फिल्मले जोड दिएको छ । फिल्मलाई अभिमन्यु निरवीले लेखेका छन् । फिल्ममा मुकुन भुसाल, स्वस्तिमा खड्का र वर्षा राउतको मुख्य भूमिका छ ।

नांगो गाउँ

दीपेन्द्र लामाद्वारा निर्देशित फिल्म ‘नांगो गाउँ’ ले नेपाली समाजको चेतना र राजनीतिक विकृतिलाई केलाएको छ । २९ भदौ २०८० मा रिलिज भएको यो फिल्ममा दयाहाङ राई र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । फिल्ममा दयाहाङले एक इमानदार शिक्षक र शिशिरले वर्षौंदेखि सत्तामा टिकिरहेका चतुर राजनीतिक नेताको प्रतिनिधित्व गरेका छन् । फिल्मको कथा मुख्यतः एउटा गाउँको निर्वाचन वरिपरि घुम्छ, जहाँ निष्ठावान् व्यक्तिले राजनीतिक परिवर्तनका लागि गरेको संघर्ष र मतदाताहरूको क्षणिक प्रलोभनमा पर्ने प्रवृत्तिलाई देखाइएको छ । फिल्ममा मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह र बुद्धि तामाङको पनि सशक्त अभिनय छ । 

दिमाग खराब

निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ हालसालै युट्युबमा पनि सार्वजनिक भएको छ । २४ कात्तिक २०८० मा रिलिज भएको यो फिल्ममा एक सर्वसाधारण कसरी शक्तिमा रहेका राजनीतिज्ञसँग लड्छ र स्वतन्त्र उम्मेदवारको जित हुन्छ भन्ने विषयमा केन्द्रित छ । फिल्मको कथा एक सामान्य नागरिक इन्द्र (खगेन्द्र लामिछाने) को वरिपरि घुम्छ । फिल्ममा खगेन्द्रसहित दयाहाङ राई, स्वस्तिमा खड्का, विजय बराल, अर्पण थापालगायतको मुख्य भूमिका छ ।

हरिबहादुरको जुत्ता

दीपेन्द्रकुमार खनाल निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’ पनि चुनावको विषयकेन्द्रित फिल्म हो । यो फिल्म १९ माघ २०८१ मा रिलिज भएको थियो । फिल्म हरिबहादुर र उसको जुत्तामा केन्द्रित छ । यो फिल्ममा एउटा जुत्ताले कसरी राजनीति प्रभावित गर्छ र चुनावको माहोललाई उलटपुलट गर्छ भन्ने कुरा प्रस्तुत गरिएको छ । यो फिल्ममा पनि शक्तिसँग लडेको आम मान्छेकै कथा समावेश छ । फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्कालगायतको मुख्य भूमिका छ ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully