झन्डै ६ दशकको इतिहासमा पञ्चायतदेखि गणतन्त्रात्मक व्यवस्था भोगिसकेको नेपाली फिल्म क्षेत्रमा तुलनात्मक रूपमा राजनीतिक विषयमा नगण्य फिल्म बनेका छन् । तुलसी घिमिरे निर्देशित ‘बलिदान’ जस्ता केही नगण्य फिल्म अपवादमा छन् । तर पछिल्लो एक दशकयता नेपाली फिल्मका कथामा राजनीति मात्र होइन, चुनाव पनि सशक्त ढंगले आउन थालेका छन्
What you should know
काठमाडौँ — हालै मात्र युट्युबमा तीन नेपाली फिल्म रिलिज भए– ‘सेन्टी भाइरस’, ‘दिमाग खराब’ र ‘झरीपछिको इन्द्रेणी’ । तीन वटै फिल्मका मूल कथा राजनीतिकेन्द्रित छन् । तर ‘झरीपछिको इन्द्रेणी’ लाई छाड्ने हो भने ‘सेन्टी भाइरस’ र ‘दिमाग खराब’ को समानता हो– चुनावकेन्द्रित विषयवस्तु । बलिउडमा ‘राजनीति’, ‘नायक’, ‘न्युटन’ ‘सरकार’ होस् वा हलिउडमा ‘दि इड्स अफ मार्च’, ‘अल द प्रेसिडेन्ट्स मेन’, ‘द क्यान्डिडेट’, ‘इलेक्सन’ जस्ता चुनावी विषयकेन्द्रित फिल्महरू चर्चित छन् ।
विदेशी भाषाका राजनीतिक फिल्महरू प्रशस्त मात्रामा बन्दै आइरहेका छन् । तर झन्डै ६ दशकको इतिहासमा पञ्चायतदेखि गणतन्त्रात्मक व्यवस्था भोगिसकेको नेपाली फिल्म क्षेत्रमा तुलनात्मक रूपमा राजनीतिक विषयमा नगण्य फिल्म बनेका छन् । तुलसी घिमिरे निर्देशित ‘बलिदान’ जस्ता केही नगण्य फिल्म अपवादमा छन् । तर पछिल्लो एक दशकयता नेपाली फिल्मका कथाहरूमा राजनीति मात्र होइन, चुनाव पनि सशक्त ढंगले आउन थालेका छन् । मुस्ताङ सेरोफेरोमा खिचिएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी’ ले प्रेमको कथा मात्र भनेन, त्यसमा चुनावी छक्कापञ्जालाई पनि गाँस्यो । अभिनेता दयाहाङ राईले नै अभिनय गरेका चुनावकेन्द्रित फिल्मको संख्या एकपछि अर्को गर्दै बढिरहेका छन् । उदाहरण हुन्– ‘कबड्डी कबड्डी’, ‘नांगो गाउँ’, ‘दिमाग खराब’ र ‘सेन्टी भाइरस’ ।
किन बनिरहेका छन् राजनीतिक फिल्म ?
अधिकांश फिल्मले दिएको साझा सन्देश हो– गलत प्रवृत्तिविरुद्धको लडाइँ । हरेक फिल्मले चुनावका बेलामा हुने गलत अभ्यासलाई उदांगो पार्ने प्रयास गरेका छन् । पछिल्लो समय यस्ता फिल्महरू बन्नु सुखद मान्छन् अभिनेता तथा लेखक दीपकराज गिरी । उनी नेपाली फिल्ममेकरले जहिले पनि ‘ट्रेन्ड फलो’ गर्ने भएकाले त्यसकै उपजस्वरूप यस्ता फिल्महरू बन्न थालेको दाबी गर्छन् । ‘हामीले छ माया छपक्कै बनाउँदा त्यति धेरै राजनीतिक सिनेमा नै बनेका थिएनन् । पछि ट्रेन्ड फलो पनि गर्न थालियो । समय सान्दर्भिक भएर पनि होला राजनीतिक सिनेमा बन्न थाले,’ उनी भन्छन् ।
‘ऐंचोपैंचो’ कि निर्देशक कृषा चौलागाईं पनि फिल्मको कथा दर्शकको मनस्थितिसँगै हुँदा व्यापार गर्छ भनेर चलचित्रकर्मीहरूले प्रक्षेपण गर्ने बताउँछिन् । ‘हाम्रो देशको परिस्थिति राजनीतिक परिदृश्यको हिसाबले जहिले पनि अस्तव्यस्त छ । राजनीतिमा सही निर्णय नहुँदा जनता जहिले पनि रुष्ट भइरहन्छन् । यसलाई सिनेमामा देखाउँदा समयसापेक्ष हुने भयो । यसकारण पनि राजनीतिकेन्द्रित सिनेमा बन्छन्,’ कृषा भन्छिन्, ‘सिनेमाबाट जनतालाई सचेत गराउन पनि चुनावी कथाकेन्द्रित फिल्म बनाइरहेका छन् ।’
‘सेन्टी भाइरस’ र ‘कबड्डी कबड्डी’ जस्ता फिल्ममा चुनावको कथा उनेका निर्देशक रामबाबु गुरुङ भने समाजभित्र हुने गतिविधिजस्तै राजनीतिले पनि जनतालाई प्रभाव पार्ने कुरालाई जोड दिन्छन् । ‘समाज र समाजको संस्कृतिलाई राजनीतिले प्रभाव पार्छ । फिल्म भनेको समाजकै कथा हुन् । त्यसकारण आउनु स्वाभाविक हो,’ उनी भन्छन् ।
‘हरिबहादुरको जुत्ता’ निर्देशन गरेका निर्देशक दीपेन्द्रकुमार खनाल पछिल्लो समय जनतामा राजनीतिक असन्तुष्टि बढेकै कारण पनि यस्ता फिल्महरू बढेको आकलन गर्छन् । ‘पछिल्लो समय राजनीतिलाई लिएर जनतामा ठूलो असन्तुष्टि छ । फिल्मले समाजको कुरा टिप्ने हुँदा त्यो असन्तुष्टि फिल्ममेकरमा पनि हुन सक्छन् । व्यक्तिगत जीवनमा भोगेका सामूहिक समस्या राजनीतिक प्रवृत्ति भएकाले त्यो फिल्ममा पनि आएको हो,’ उनी भन्छन् ।
फिल्म निर्देशक केपी पाठक राजनीतिक फिल्ममा राजनीतिक दलहरूप्रति जनताको असन्तुष्टि देखाउँदा र उनीहरूलाई अलिकति नकारात्मक रूपमा चित्रण गर्दा दर्शकको ‘सेन्टिमेन्ट’ जित्न सकिने भएकाले यस्ता फिल्म निर्माण हुन थालिएको तर्क गर्छन् । ‘यो एउटा बलियो ‘कमर्सियल एलिमेन्ट’ पनि बनेको छ । ‘पुराना नेताहरू बेठीक हुन्छन्’ भन्ने जुन एउटा भाष्य आज समाजमा निर्माण भएको छ, त्यसमा सिनेमाको ठूलो हात छ,’ पाठक भन्छन् । यी फिल्मले गणतान्त्रिक व्यवस्थालाई कसरी सुदृढ गर्ने वा कहाँ सुधार गर्ने भन्ने कुरामा खासै जोड नदिएको बताउँछन् उनी । ‘बरु, व्यवस्था र व्यवस्था चलाउने सबैलाई नकारात्मक रूपमा मात्र प्रस्तुत गरियो । ‘पुराना सबै खराब हुन्, त्यसैले नयाँ चाहिन्छ’ भन्ने सन्देश जाँदा यसले व्यवस्थाप्रति नै वितृष्णा जगाउने काम पनि गर्यो,’ पाठक आलोचनात्मक बन्दै भन्छन्, ‘अहिले देखिएका नयाँ शक्तिहरूको उदय र उभारमा कतै न कतै सिनेमाले निर्माण गरेको यो भाष्यको पनि ठूलो भूमिका छ ।’
‘पुराना सबै खराब हुन्’ भन्ने भाष्य बन्यो : केपी पाठक
अहिले नेपाली चलचित्र क्षेत्रमा विषयवस्तुमा विविधता नभएको र ‘लभ स्टोरी’ फिल्महरूमा पनि दर्शकको आकर्षण कम हुँदै गएको अवस्था छ । यसका साथै सेन्सर बोर्डले धेरै गम्भीर र संवेदनशील विषयहरूमा काम गर्न रोक्ने भएकाले मेकरहरूका लागि राजनीतिलाई एउटा ‘सजिलो’ र ‘प्रभावकारी’ विषयका रूपमा लिन सजिलो भएको छ । फिल्ममा राजनीतिक पार्टीहरूप्रतिको जनताको असन्तुष्टि देखाउँदा र उनीहरूलाई अलिकति नकारात्मक रूपमा चित्रण गर्दा दर्शकको ‘सेन्टिमेन्ट’ जित्न सकिन्छ जसले गर्दा यो एउटा बलियो ‘कमर्सियल एलिमेन्ट’ पनि बनेको छ । ‘पुराना नेताहरू बेठीक हुन्छन्’ भन्ने जुन एउटा भाष्य आज समाजमा निर्माण भएको छ, त्यसमा सिनेमाको ठूलो हात छ ।
मेरो विचारमा, सिनेमाले समाजको दर्पणका रूपमा मात्र होइन, एउटा खबरदारी गर्ने माध्यमका रूपमा पनि काम गर्नुपर्छ । सर्जक भनेको त समाजको एक किसिमको प्रतिपक्ष नै हो । देश र व्यवस्था चलाउनेहरूलाई खबरदारी गर्नु र उनीहरूको गल्ती औंल्याउनु एउटा सर्जकको दायित्व पनि हो । पछिल्लो केही वर्षयता फिल्म मेकरहरूले खुलेरै वर्तमान राजनीतिक अवस्थामाथि आफ्नो विचार र आलोचना राख्न थालेका छन् । सिनेमा एउटा यस्तो शक्तिशाली ‘भिजुअल’ माध्यम हो जसले ठूलो क्यानभासमा कथामार्फत मानिसहरूलाई प्रभावित र उत्प्रेरित गर्ने सामर्थ्य राख्छ ।
मैले केही वर्षअघि नै भनेको थिएँ कि यस्ता फिल्महरूले नयाँ राजनीतिक शक्तिहरूलाई नै सपोर्ट गर्ने वातावरण बनाइरहेका छन् । यद्यपि, एउटा पक्ष के छ भने यी फिल्महरूले गणतान्त्रिक व्यवस्थालाई कसरी सुदृढ गर्ने वा कहाँ सुधार गर्ने भन्ने कुरामा खासै जोड दिएनन् । बरु, व्यवस्था र व्यवस्था चलाउने सबैलाई नकारात्मक रूपमा मात्र प्रस्तुत गरियो । ‘पुराना सबै खराब हुन्, त्यसैले नयाँ चाहिन्छ’ भन्ने सन्देश जाँदा यसले व्यवस्थाप्रति नै वितृष्णा जगाउने काम पनि गर्यो । अहिले देखिएका नयाँ शक्तिहरूको उदय र उभारमा कतै न कतै सिनेमाले निर्माण गरेको यो भाष्यको पनि ठूलो भूमिका छ भन्ने मलाई लाग्छ ।
००
चुनावी कथामा ९ फिल्म
कबड्डी कबड्डी
फिल्म ‘कबड्डी कबड्डी’ सफल ‘सिक्वेल’ हो । ‘कबड्डी’ को यतिबेला पाँचौं शृंखला रिलिजको तयारीमा छ । दोस्रो शृंखला ‘कबड्डी कबड्डी’ भने प्रेम र राजनीतिमा केन्द्रित थियो । ११ मंसिर २०७२ मा रिलिज भएको यो फिल्मको कथा मुस्ताङको नौरीकोटमा आधारित छ । फिल्ममा दुई पात्रहरू वीरकाजी (दयाहाङ राई) र बमकाजी (सौगात मल्ल) बीचको टकराव देखाइएको छ ।
यो टकराव ‘मैया’ (रिश्मा गुरुङ) को प्रेम पाउनका लागि मात्र नभई, गाउँको राजनीतिक वर्चस्व र चुनाव जित्नका लागि पनि हुन्छ । फिल्ममा निर्वाचनमा हुने गुटबन्दी, दाउपेच र चुनावी प्रचारप्रसारलाई प्रस्तुत गरिएको छ । रामबाबुले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ, विजय बराल, बुद्धि तामाङलगायतको अभिनय छ ।
छ माया छपक्कै
फिल्म ‘छ माया छपक्कै’ राजनीति र प्रेम सम्बन्धको रोचक मिश्रित कथा हो । दीपेन्द्र लामाले निर्देशन गरेको यो फिल्म २४ असोज २०७६ मा रिलिज भएको थियो । फिल्ममा दीपकराज गिरी र केकी अधिकारी मुख्य भूमिकामा छन् । कथामा उनीहरू फरक–फरक राजनीतिक दलमा आस्था राख्ने परिवारका सदस्यका रूपमा छन् ।
फिल्मले गाउँको राजनीति, पानीको समस्या र दुई विपरीत राजनीतिक कित्ताका व्यक्तिहरूबीचको प्रेमले ल्याउने सामाजिक हलचललाई व्यंग्यात्मक शैलीमा देखाएको छ ।
सेन्टी भाइरस
९ फागुन २०७६ मा रिलिज भएको फिल्म ‘सेन्टी भाइरस’ हालै मात्र युट्युबमा रिलिज गरिएको छ । रामबाबुकै निर्देशन रहेको यस फिल्ममा सीताराम कट्टेल र कुञ्जना घिमिरेको मुख्य अभिनय छ । यो फिल्मको कथा पनि चुनावकेन्द्रित छ । फिल्ममा एउटै परिवारका सदस्यहरू (बुबा र छोरा) फरक–फरक राजनीतिक दलमा आबद्ध हुन्छन् । चुनावको समयमा उनीहरूबीच उत्पन्न हुने वैचारिक द्वन्द्वलाई फिल्मले रोचक ढंगले प्रस्तुत गरेको छ ।
छक्का पञ्जा ४
१९ फागुन २०७९ मा रिलिज भएको यो फिल्मलाई हेमराज बीसीले निर्देशन गरेका हुन् । यो फिल्मको कथा ‘राजा’ (दीपकराज गिरी) को वरिपरि घुम्छ । फिल्मका मुख्य पात्र राजा एक स्थानीय गुन्डा नाइके हुन्छन्, जसलाई राजनीतिक दलहरूले आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्छन् । चुनावका गलत प्रवृत्ति र तिकडम फिल्मको मुख्य कथा हो । फिल्मलाई दीपकराजले नै लेखेका हुन् । फिल्ममा दीपकराजसँगै दीपाश्री निरौला, केकी अधिकारी, बेनिशा हमाल, निर्मल शर्मा, केदार घिमिरे (माग्ने बुढा), बुद्धि तामाङ, राजाराम पौडेललगायतको मुख्य भूमिका छ । यो फिल्मले २० करोडभन्दा माथिको व्यापार गरेको थियो ।
प्रसाद २
१५ वैशाख २०८० मा रिलिज भएको सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’ पनि जातीय विभेदसँगै चुनावको कथा वरिपरि केन्द्रित छ । सुशील पौडेलको लेखनमा तयार भएको फिल्म अन्तरजातीय विवाह गरेका बाबुराम (विपिन कार्की) र नारायणी (केकी अधिकारी) को संघर्षपूर्ण कथा हो । सहरबाट १२ वर्षपछि गाउँ फर्किएको यो जोडीले गणतन्त्र र नयाँ संविधान आएपछि पनि समाजमा व्याप्त जातीय विभेद, कट्टरपन्थी सोच र शक्तिको आडमा हुने राजनीतिक दाउपेचको सामना गर्छ । फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा र महेश त्रिपाठी मुख्य भूमिकामा छन् ।
ऐंचोपैंचो
१४ भदौ २०८० मा रिलिज भएको यो फिल्मलाई कृषा चौलागाईंले निर्देशन गरेकी हुन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हो । एक सर्वसाधारणले पहुँचमा भएका शक्तिशाली राजनीतिज्ञमाथि चुनावी मैदानमा कसरी विजय हासिल गर्छ ? फिल्म यही सवालमा केन्द्रित छ । गलत प्रवृत्तिविरुद्ध लड्ने एउटा इमानदार व्यक्तिसँग जनमत बलियो हुने कुरालाई फिल्मले जोड दिएको छ । फिल्मलाई अभिमन्यु निरवीले लेखेका छन् । फिल्ममा मुकुन भुसाल, स्वस्तिमा खड्का र वर्षा राउतको मुख्य भूमिका छ ।
नांगो गाउँ
दीपेन्द्र लामाद्वारा निर्देशित फिल्म ‘नांगो गाउँ’ ले नेपाली समाजको चेतना र राजनीतिक विकृतिलाई केलाएको छ । २९ भदौ २०८० मा रिलिज भएको यो फिल्ममा दयाहाङ राई र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । फिल्ममा दयाहाङले एक इमानदार शिक्षक र शिशिरले वर्षौंदेखि सत्तामा टिकिरहेका चतुर राजनीतिक नेताको प्रतिनिधित्व गरेका छन् । फिल्मको कथा मुख्यतः एउटा गाउँको निर्वाचन वरिपरि घुम्छ, जहाँ निष्ठावान् व्यक्तिले राजनीतिक परिवर्तनका लागि गरेको संघर्ष र मतदाताहरूको क्षणिक प्रलोभनमा पर्ने प्रवृत्तिलाई देखाइएको छ । फिल्ममा मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह र बुद्धि तामाङको पनि सशक्त अभिनय छ ।
दिमाग खराब
निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ हालसालै युट्युबमा पनि सार्वजनिक भएको छ । २४ कात्तिक २०८० मा रिलिज भएको यो फिल्ममा एक सर्वसाधारण कसरी शक्तिमा रहेका राजनीतिज्ञसँग लड्छ र स्वतन्त्र उम्मेदवारको जित हुन्छ भन्ने विषयमा केन्द्रित छ । फिल्मको कथा एक सामान्य नागरिक इन्द्र (खगेन्द्र लामिछाने) को वरिपरि घुम्छ । फिल्ममा खगेन्द्रसहित दयाहाङ राई, स्वस्तिमा खड्का, विजय बराल, अर्पण थापालगायतको मुख्य भूमिका छ ।
हरिबहादुरको जुत्ता
दीपेन्द्रकुमार खनाल निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’ पनि चुनावको विषयकेन्द्रित फिल्म हो । यो फिल्म १९ माघ २०८१ मा रिलिज भएको थियो । फिल्म हरिबहादुर र उसको जुत्तामा केन्द्रित छ । यो फिल्ममा एउटा जुत्ताले कसरी राजनीति प्रभावित गर्छ र चुनावको माहोललाई उलटपुलट गर्छ भन्ने कुरा प्रस्तुत गरिएको छ । यो फिल्ममा पनि शक्तिसँग लडेको आम मान्छेकै कथा समावेश छ । फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्कालगायतको मुख्य भूमिका छ ।
