दर्शकले वर्षौंदेखि पर्खेको ‘जब वी मेट’को सिक्वेलमा निर्देशक इम्तियाज अलीले शरवरी र वेदान्तलाइ मुख्य भूमिकामा देखाउने संकेत गरेका छन् ।
What you should know
काठमाडौँ — फिल्म 'जब वी मेट'का रोचक संवादहरू सायद अहिलेसम्म पनि दर्शकहरूले बिर्सिएका छैनन् ।
सन् २००७ मा रिलिज भएको यो रोमान्टिक कमेडी ड्रामाले दर्शकको मन मात्र जितेन, बलिउडमा एउटा बेग्लै मानक पनि तय गर्यो ।
वर्षौंदेखि फिल्मको सिक्वेल दर्शकरहरूले चाहिरहेका थिए । यसपटक निर्देशक इम्तियाज अलीले नयाँ संकेत गरेका छन् । निर्देशक अलीले फिल्मको सिक्वेल बनेमा युवा स्टारहरू शरवरी र वेदान्त रैना उपयुक्त हुने संकेत गरेका छन् ।
हालैको एक अन्तर्वार्तामा इम्तियाजलाई 'जब वी मेट'को आधुनिक भर्सन बनेमा कसलाई कास्ट गर्न चाहनुहुन्छ भनेर सोधिएको थियो। जवाफमा उनले भने, ‘अहिलेको समयमा मलाई लाग्छ शरवरी र वेदान्त उपयुक्त हुन सक्छन् ।’
वेदान्त र शरवरी इम्तियाज अलीको आगामी प्रोजेक्टमा सँगै काम गर्दैछन् । त्यसैले पनि प्रशंसकहरूले फिल्मको सिक्वेल बन्नेमा आशा राखेका छन् ।
अलीले आफ्नो अर्को ठूलो प्रोजेक्टको घोषणा पनि गरिसकेका छन् । फिल्मको शीर्षक अझै तय नभए पनि यसमा चर्चित गायक तथा अभिनेता दिलजीत दोसांझ मुख्य भूमिकामा रहनेछन् ।
फिल्ममा दिग्गज अभिनेता नसीरुद्दीन शाहका साथै वेदान्त रैना र शरवरी वाघ पनि देखिनेछन् ।
सन् २००७ मा प्रदर्शनमा आएको 'जब वी मेट' मात्र १५ करोड भारु न्यून बजेटमा बनेको थियो । तर, आफ्नो सशक्त कथावस्तु र गीत-संगीतका कारण फिल्मले विश्वभर करिब ४८.६१ करोडको व्यापार गरेको थियो ।
शाहिद कपुर र करीना कपुरको करियरकै उत्कृष्ट मध्येको एक मानिने यस फिल्मको सिक्वेलले बलिउडमा कस्तो हलचल ल्याउने हो, त्यो भने हेर्न बाँकी छ ।
