फिल्म ‘इन अ विस्पर’ र डकुमेन्ट्री ‘द ब्यालेड अफ जुडास प्रिस्ट’ मा मुख्य पात्रले आफ्नो यौनिक पहिचानसहित खुल्न गरेको संघर्ष देखाइएको छ ।
What you should know
काठमाडौँ — जब लिलिया (इया बुतेरा) पेरिसबाट ट्युनिसियामा रहेको आफ्नो घरमा फर्कन्छिन्, उनीसँगै उनको बाल्यकालका सम्झना फर्कन्छन् । जसै उनी कारबाट निस्कन खोज्छिन्, पछाडि सिटमा बाल्यकालको त्यही लिलियालाई क्यामेराले देखाउँछ ।
झट्ट हेर्दा हामीलाई लाग्छ, पछाडि सिटमा कोही बसिरहेको छ । तर, त्यो तीनै सानी लिलिया हुन्छिन् । जब क्यामेरा लिलियाको वास्तविक संसारमा आइपुग्छ, तब सानी लिलिया विलीन हुन्छिन् । बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सव बर्लिनालेको मुख्य प्रतिस्पर्धातर्फ छनोट लेला बुजिदद्वारा निर्देशित फिल्म ‘इन अ विस्पर’को बलियो पक्ष नै यही हो कि फिल्ममा जब-जब लिलियाले आफ्नो बाल्यकाल सम्झन्छन्, सानी लिलिया फ्रेममा देखा पर्छिन् ।
उदाहरणका लागि, लिलियाको बाल्यकालले तबसम्म उनलाई पच्छ्याइरहन्छन्, जब उनी आफ्नो बाल्यकाल बिताएको ठाउँमा पुग्छिन् । फिल्मको पहिलो दृश्यतिरै जब, उनी घरको सिँढी चढेर माथिल्लो तल्लामा पुग्छिन् । उनीभन्दा अघि सानी लिलियाले त्यो सिँढी चढेको देखाइन्छ । अनि मात्रै त्यही सिँढी भएर लिलियामाथि उक्लन्छिन् ।
बर्लिनालेमा वर्ल्ड प्रिमियर गरिएको यो फिल्ममा लिलिया आफ्नो अंकलको दाहसंस्कारका लागि ट्युनिसिया आइपुगेकी हुन्छिन् । घरमा कतै प्रार्थनाका स्वर सुनिन्छ, त कतै बुढी हजुरआमा नेफिसालाई सान्त्वना दिँदै गरेको देखिन्छ । यही कोलाहलबीच एउटा मौनता त्यहाँ महसुस हुन्छ, जसले चर्को आवाज त निकाल्दैन । तर, यो कुरा एक कान, दुई कान हुँदै मैदान बनेको छ । 'कम्युनिकेसन'मा हामी भन्छौं नि 'स्पाइरल अफ साइलेन्स' ! फिल्मको शीर्षकमाझैं त्यो अन्तिम संस्कारसँगै त्यहाँ मौन रूपमा फैलिएको सत्य बिस्तारै उघारिँदै जान्छ । र, यो पक्ष नै फिल्ममा बाँधिरहने फिल्मको सशक्त पाटो हो ।
खासमा लिलियाका काका ड्याली (करिम) समलिंगी पुरुष हुन्छन् । यो सबैलाई थाहा भएको सत्य हो । उनकी पत्नीदेखि दिदी अनि लिलियासम्मलाई यसबारे थाहा हुन्छ । तर, जुन संकुचित समाजमा उनीहरू बस्छन्, त्यहाँ यो विषयलाई राम्रो नजरले हेरिन्न, यो पहिचानलाई स्वीकारिँदैन । त्यसैले होला, न लिलियाका काकाले आफ्नो यौनिक पहिचानबारे खुले न त परिवारका अन्य सदस्यले त्यसबारे पत्तो भएको छनक देखाए । त्यसैले उनीहरू ड्यालीको मृत्युपश्चात पनि उनको यौनिक पहिचानमाथि मौन बस्न रुचाउँछन् । तर, ड्यालीको मृत्यु यति रहस्यमयी तरिकाले भएको हुन्छ, जसमा कतै न कतै उनको उनको यो पहिचान जोडिएको हुन्छ ।
रोचक के छ भने आफ्नो काकाको मृत्युबारे बुझ्न यही यात्रामै लिलियाले आफ्नो यौनिक पहिचान परिवार सामु खुलाउँछिन् । खासमा यो फिल्म ड्यालीको मृत्यु भन्दा पनि लिलियाको यौनिक पहिचान वरपर घुमेको छ ।
उनको यही यात्रामार्फत ट्युनिसियन समाज लैंगिक तथा अल्पसंख्यक समुदायका लागि कति अप्ठ्यारो छ ? त्यो समाजले यो समुदायलाई कसरी हेर्छ ? भन्ने देखाइएको छ । यो समुदायका पात्रहरूलाई आफ्नै परिवारमै खुल्न कति साहस चाहिन्छ ? कस्तो संघर्ष र अवहेलना भोग्नुपर्छ ? यी विषयलाई लिलिया उनको आमा, प्रेमिकासँगको सम्बन्धमार्फत देखाइएको छ ।
आफ्नो भाइ (ड्याली)लाई परिवारमा खुलेर आउन साथ दिने दिदी अर्थात लिलियाकी आमा वहिदा (हियाम अब्बास)आफ्नी छोरीको यौनिक पहिचानबारे विश्वास गरिहाल्दिनन् । कानुनले नै अपराध ठान्ने यो विषयसँग लड्न लिलिया, आमा वहिदा अनि उनकी प्रेमिका एलिसले कस्ता आरोह अवरोह पार गर्छन् त ?
यो फिल्म ट्युनिसियन मात्रै होइन लैंगिक तथा अल्पसंख्यक परिवारका लागि खुला बन्न नसकेको समाज, पितृसत्तालाई पक्रिरहने संकुचित सोचलाई व्यंग्य गर्ने फिल्म हो । कानुनले नै वर्जित बनाएको ठाउँमै पनि यो समुदायका मानिसले खुलेर आफ्नो पहिचानसहित बाँच्न संघर्ष गरिरहेका छन् । जीवनको यही सुन्दर शैलीलाई मिठो लयमा यो फिल्ममा पस्किएको छ ।
बर्लिनालेमै हेरेको डकुमेन्ट्री 'द ब्यालेड अफ जुडास प्रिस्ट'मा त संगीतको सुन्दर लयभित्र आफ्नो यौनिक पहिचानको उकुसमुकुसबीच लिजेन्डरी गायक भोकलिस्ट रब ह्याल्फर्डका जीवन कसरी बिते ? यौनिक पहिचानसहित बाँच्न नपाउँदा रक एन्ड रोलभित्रको दुनियाँ उनका लागि कुन बेला कस्तो सुनिन्थ्यो ? उनीमाथि बनेको डकुमेन्ट्रीले त्यो पीडा, उकुसमुकुसलाई डकुमेन्ट्रीमार्फत दर्शकलाई सुनाएको छ ।
'द ब्यालेड अफ जुडास प्रिस्ट'को सुरु ठ्याक्कै रक मेटलको धुनसँगै हुन्छ । मेटल संगीतको लयमा कलाकार ज्याक ब्ल्याकले सुरुमै दर्शकको ध्यान यसरी डकुमेन्ट्रीमा तान्छ कि, त्यसपछि बज्ने जुडास प्रिस्टका गीतहरूमै दर्शक नतमस्तक बन्छन् ।
संगीतको नयाँ धारलाई स्वागत गरिरहँदा, त्यतिबेला दर्शक किन मेटल गायकलाई समलिंगी पुरुषका रूपमा हेर्न सक्दैन थिए त ? ब्यान्ड सदस्य आखिर किन रबबाट यौनिक पहिचान लुकाएकै हेर्न चाहन्थे त ? डकुमेन्ट्रीमा त्यतिबेलाको समाज, मेटल दर्शक अनि उनीहरूको सोचलाई व्यंग्य गरिएको छ । मेटलको दुनियाँका खुंखार आवाज रोबले मेटलका चर्को धुनहरुबीच कसरी एउटा सत्यलाई लुकाएर बाँच्ने ? त्यसले उनको जीवन र ब्यान्ड सदस्यमा कस्तो प्रभाव पार्यो ? त्यसको असर मेटल संगीतमै कसरी पर्यो ? अर्काइभ दृश्य, अन्तर्वार्ता प्रयोग गरी भनिएको रबको यो जीवन ती पात्रहरूको लागि प्रेरणादायी छ जो अझै त्यसरी नै उकुसमुकुसको जीवन बाँचिरहेका छन् ।
मेटलका लिजेन्डरी रबको जीवनी समेटिएको यो डकुमेन्ट्रीलाई रक एन्ड रोलका आरोह अवरोहका धुनहरूमा प्रस्तुत गरिएको छ । यसैले यो डकुमेन्ट्रीलाई सांगीतिक बनाइदिएको छ । खासमा यो डकुमेन्ट्री यो ब्यान्डप्रतिको 'ट्रिब्युट' नै हो । कारण यसले यसको स्थापना कालदेखि, संघर्ष र उपलब्धिहरू समेट्छ । डकुमेन्ट्री सकिसक्दा तपाईंलाई लाग्नेछ, एउटा लामो मेटल कन्सर्ट सुनियो ।
