हेड अफ जुरी निर्देशक विम वेन्डर्सले फिल्मकर्मी राजनीतिभन्दा बाहिर बस्नुपर्छ भन्ने धारणा राखेसँगै यस वर्षको ७६ औं बर्लिनाले विवादित बन्न पुग्यो । 'अहिलेको राजनीतिक वातावरणमा फिल्मले कस्तो भूमिका खेल्न सक्छ ?' भन्ने प्रश्नको जवाफमा उनले दिएको धारणाले बर्लिनाले यसपालि अवार्ड भन्दा पनि राजनीतिक मुद्दामाथिको बहसमा केन्द्रित भयो ।
What you should know
बर्लिन — 'के भयो ? भनेर जब मानिसले सोध्नेछन् तब उनीहरूलाई भनिदिनु, प्यालेस्टाइनले सबै सम्झनेछ । हामी ती सबैलाई सम्झनेछौं जो हामीसँगै उभिए । हाम्रो विरुद्धमा उभिनेहरूलाई पनि हामी सम्झिरहनेछौं, जो हाम्रो अधिकार, प्रतिष्ठाको विरुद्धमा उभिए । जो मौन बस्न चाहे, उनीहरूलाई पनि सम्झनेछौं ।'
'क्रोनिकल्स फ्रम द सिज'बाट विश्व प्रतिष्ठित बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सव (बर्लिनाले)मा ‘उत्कृष्ट पहिलो फिचर अवार्ड’ जितेसँगै निर्देशक अब्दल्ला अलखतिबले दिएको अभिव्यक्ति हो यो ।
जर्मनीमा शरणार्थीका रुपमा बस्दै आएका उनी प्यालेस्टाइनी हुन् । इजरायलले गाजामा गरेको नरसंहारको साझेदार जर्मन सरकार रहेको बताउँदै अलखतिबले प्यालेस्टाइन स्वतन्त्र हुनुपर्ने अभिव्यक्ति दिए । साथै उनले प्यालेस्टाइन स्वतन्त्र हुने दिनको कल्पँदै एउटा यस्तो महोत्सवबारे हुनुपर्ने धारणा राखे जुन महोत्सव सौन्दर्यभन्दा स्वतन्त्रताको पक्षमा उभियोस् ।
‘एकदिन प्यालेस्टाइन स्वतन्त्र हुनेछ । अनि एउटा ठूलो फेस्टिभल हामी गाजामा आयोजना भएको देख्नेछौं वा प्यालेस्टाइनका अन्य सहरको महोत्सव भएको देख्नेछौं । अनि हाम्रो महोत्सव त्यस्ता मानिसको एकतालाई पक्षमा उभिनेछ जो सिजभित्र बाँचिरहेको छ, अधिनायकवादीकोबीच बाँचिरहेको छ,' अलखतिबले सुनाए, 'हामी सिनेमाभन्दा पहिला राजनीतिका कुरा गर्नेछौँ । कलाभन्दा अघि हामी प्रतिरोधको कुरा गर्नेछौं । सौन्दर्यभन्दा अघि स्वतन्त्रताको कुरा गर्नेछौं । संस्कृतिभन्दा पहिले मानिस जातिको कुरा गर्नेछौं ।'
महोत्सवमा अलखतिबले मात्रै होइन, अधिकांश विजेताले प्यालेस्टाइनको पक्षमा राजनीतिक विचार राखे । हेड अफ जुरी विम वेन्डर्सले फिल्मकर्मीहरु राजनीतिभन्दा बाहिर बस्नुपर्छ भन्ने धारणा राखेसँगै यो वर्षको ७६ औं बर्लिनाले विवादित बन्न पुग्यो । 'अहिलेको राजनीतिक वातावरणमा फिल्मले कस्तो भूमिका खेल्न सक्छ ?' भन्ने प्रश्नको जवाफमा विमले दिएको धारणाले यो वर्षको बर्लिनाले राजनीतिक भइदियो ।
महोत्सवकी आर्टिस्टिक निर्देशक ट्रिसा टटलले यो वर्ष बर्लिनालेमा मानिसहरू ठूलो शोक र आक्रोशसहित आए पनि ती आवाजहरूलाई आफूहरूले नजरअन्दाज नगरेको बताइन् । ‘धेरै मानिसहरू ठूलो शोक, आक्रोश र अहिले हामी बाँचिरहेको संसारप्रतिको गहिरो चिन्तासहित आएका थिए बर्लिनालेमा । यी सबै कुरा फिल्म हलका भित्ता बाहिर मात्र होइन, भित्र पनि अनुभव गरिए । यी भावनाहरू साँच्चै वास्तविक छन् र ती हाम्रो समुदायको हिस्सा हुन् । हामी तपाईंको आवाज सुन्छौं,’अवार्ड कार्यक्रम सुरु हुनु भन्दा अगाडि नै ट्रिसाले यस्तो भनेकी थिइन् । आवाज उठाउनु र आलोचना गर्नु लोकतन्त्रको हिस्सा रहेको बताउँदै ट्रिसा बोल्नेहरूलाई मञ्चबाटै सम्मान दिइन् ।
'यस वर्ष हामीले सार्वजनिक रूपमै चुनौती भोगिरहेका छौं जुन र राम्रो कुरा हो । सधैं राम्रो महसुस नहुन सक्छ, तर यो राम्रो नै हो, किनकि यसले बर्लिनाले मानिसहरूका लागि महत्त्व राख्छ भन्ने देखाउँछ,' ट्रिसाले भनिन्,'हामी ध्रुवीकृत समयमै बाँचिरहेका छौं र मलाई लाग्छ हामी सबैले यो यथार्थ स्वीकार गर्नुपर्छ र हामीले सँगै निर्माण गरेको समुदायलाई अँगाल्नुपर्छ । किनकि आलोचना गर्नु र आवाज उठाउनु लोकतन्त्रको हिस्सा हो । असहमति पनि त्यही हो । कहिलेकाहीँ बोल्नलाई पनि ठूलो साहस चाहिन्छ ।'
लघु फिल्मतर्फ उत्कृष्ट फिल्मका लागि गोल्डेन बियर जितेकी म्यारी रोजा ओस्ताले प्यालेस्टाइन र लेबनानका बच्चाहरूलाई इजरायली बमबाट जोगाउने कुनै सुपर पावर नरहेको धारणा राखिन् । ‘म अहिले दुई कुरामा विभाजित छु । मभित्रको फिल्मकर्मी यो सुन्दर बियर पाएर खुसी भएको छ जसले मेरो भविष्य परिवर्तन गर्नेछ । अर्को हो मभित्रको मानवता । मैले बच्चाको विषयमा फिल्म बनाएँ जोसँग सुपर पावर हुन्छ । तर त्यो त फिल्म भयो,’ 'समडे इज चाइल्ड' शीर्षकको फिल्मबाट अवार्ड जितेकी उनले भनिन्, 'वास्तविक जीवनमा गाजाका बच्चा, सबै प्यालेस्टाइन अनि मेरो देश लेबनानका बच्चासँग त्यस्तो सुपर पावर छैन जसले इजरायली बमबाट उनीहरूलाई जोगाउन सकियोस् ।'
क्लोजिङ गालामा समय-समयमा ‘फ्रि प्यालेस्टाइन’ भन्ने नारा पनि गुञ्जिरह्यो । होस्ट डेजिरी नोक्सबुसले त उनीहरूलाई सम्बोधन गर्दै भन्नै पर्यो, 'हामीले तपाईंहरुलाई सुन्यौं ।' मञ्चमा अन्तर्राष्ट्रिय जुरीमध्येको प्रमुख विम वेन्डर्सलाई व्यंग्य गर्दै डेजिरीले भनिन्, '१० दिन अगाडि तपाईंले बर्लिनाले बिदा मनाउन आएजस्तो भएको छ, १० दिन फिल्महरू हेर्छु भन्नुभएको थियो । तर, यो बिदा पक्कै तपाईंले सोचेजस्तो बितेन ?'
'सोचेजस्तो भएन । पहिलो त सबै कुरा फरक भइदियो । सुरुको दिन मौसम पनि कस्तो हुरी बतासले भरिएको थियो,' डेजिरीतर्फ हेर्दै विमले भने ।
विमको कुरा सक्न नपाउँदै डेजिरीले थपिन्, 'त्यही त कहिलेकाहीँ मौसम खराब भयो भने चिप्लने सम्भावना हुन्छ ।'
डेजिरीले चिप्लने शब्द यहाँ किन प्रयोग गरिन् ? पलास्टमा उपस्थित सबैले सजिलै बुझेका थिए ।
विमले सन् २०२५ मा गोल्डेन अनररी अवार्ड जितेकी टिल्डा स्विन्टनको शब्द सापटी लिँदै कसैको पक्ष हुनु भनेको अरूको विरुद्धमा हुनु होइन भन्दै आफ्नो विचार पलास्टमा उपस्थित हुनेहरू माझ राखे ।
'फिल्मले बिर्सिनुभन्दा बढी प्रतिरोध गर्न सक्छ, र पक्कै पनि इन्टरनेटले दिने छोटो ध्यान भन्दा लामो समय टिक्न सक्छ फिल्म,' विमले भने, 'टिल्डा स्विन्टनले गत वर्ष गोल्डेन बेयर प्राप्त गर्दा दिएको शानदार भाषणमा एउटा सुन्दर कुरा गरेकी थिइन्-कसैको पक्षमा हुनु भनेको अरूको विरुद्ध हुनु होइन।'
विमले बोल्दा होस् यहाँ अन्य कुनै विजेताले बोल्दा, त्यहाँ कोही बोलिरहँदा पलास्ट मौन बसिदिन्थ्यो । नीना रोजाले बोल्दा पनि पलास्ट त्यसरी नै मौन भइदियो । 'आफ्नो घरबाट धपाइएकाहरुको कथा फिल्मले भन्छ । हामी त्यस्तो जोखिममा रहेका मानिसहरूको पक्षमा उभिनुपर्छ । सबै आवाज महत्त्वपूर्ण छन् । एकअर्काको वास्ता गर्ने हाम्रो राजनैतिक कार्य पूरा गरौं,' नीनाले भनिन् ।
कार्यक्रममा केही विजेता अन्तर्राष्ट्रिय जुरी भेट्दै नभेटी अवार्ड थापेर मञ्चबाट निस्केका थिए । खासमा सान्ड्रा हिलरले पनि लगभग जुरीहरूलाई हेर्दै नहेरी हिँडिसकेकी थिइन् । तर, पछि उनी विमसँग भेट्न पुगिन् । तर, अवार्ड हातमा लिइसकेपछि सान्ड्राले भनेकी थिइन्, 'म अहिले सबै बोलेको सुनिरहेको थिएँ । र, मलाई लाग्छ तपाईंहरुले जे बोलिरहनु भएको छ त्यो सत्य छ । र म यस्तो कोठामा छु अहिले जहाँ सबै जना सत्य बोल्न सक्छन्, धन्यवाद ।'
कुर्तुलुस (स्यालभेसन)बाट सिल्बर बियर अवार्ड जितेका एमिन एल्परले पनि गाजाकै पक्षमा आफ्नो धारणा राख्यो । ‘जब तपाईं दिन प्रतिदिन आफ्नो अधिकार गुमाउँदै जानुहुन्छ । जब तपाईं आफैंले तिरेको करबाट किनिएको गोली खानुहुन्छ । तपाईं मानिस हो भन्ने कुरा हेक्का नराखी तपाईंमाथि बम प्रहार हुन्छ त्यतिबेला तपाईं एक्लै बन्नुहुन्छ । जब कसैले तपाईंको वास्ता गर्दैन भन्ने थाहा पाउनुहुन्छ, तपाईं संसारकै एक्लो मानिस बन्नुहुन्छ,' एमिनले भने, 'हामीले अहिले यहाँ केही गर्न सक्छौं भने त्यो हो मौनता तोड्ने अनि उनीहरूलाई भन्ने तिमी एक्लो छैनौं । गाजामा रहेको प्यालेस्टाइनहरु, जति कठिन परिस्थितिमा तपाईंहरु बाँचिरहनु भएको छ । तपाईंहरु एक्लो हुनुहुन्न ।'
एमिनले बोलिसकेपछि पलास्टमा लामो समय ताली बजिरह्यो । कार्यक्रममा कतिले हेड अफ द जुरी विमको पनि खुलेरै प्रशंसा गरे । ‘एल्लो लेटर्स’बाट उत्कृष्ट फिल्मका लागि गोल्डेन बियर जितेका निर्देशक इल्कार कटाकले विमको हातबाट अवार्ड पाउनु विशेष बनेको बताए । भने, 'विम तपाईं मेरो शिक्षकमध्येको एक हुनुहुन्छ । तपाईंको हातबाट यो अवार्ड पाउनु मेरो लागि विशेष विषय हो ।'
