लोम्जेलले लामो समयदेखि नेपाली गीत-संगीतमार्फत दार्जिलिङ र आसपासका क्षेत्रमा सांगीतिक योगदान पुर्याउँदै आएका छन् ।
सिलिगुडी — दार्जिलिङका लोकप्रिय संगीतकार–गीतकार तथा गायक चन्दन लोम्जेललाई प्रतिष्ठित 'बङ्गविभूषण' सम्मान प्रदान गरिएको छ।
पश्चिम बंगाल सरकारद्वारा प्रदान गरिने उक्त सम्मान शनिबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा कोलकातामा आयोजित विशेष समारोहमा पश्चिम बंगालका मुख्यमन्त्री ममता वेनर्जीले सर्जक लम्जेललाई उक्त सम्मान प्रदान गरेकी हुन् ।
लोम्जेलले लामो समयदेखि नेपाली गीत–संगीतमार्फत दार्जिलिङ र आसपासका क्षेत्रमा सांगीतिक योगदान पुर्याउँदै आएका छन्। सांस्कृतिक पहिचान र मातृभाषा संरक्षणमा उनको भूमिका उल्लेखनीय मानिँदै आएको छ। सोही योगदानको कदर गर्दै राज्य सरकारले उनलाई यस वर्षको बङ्गविभूषणबाट सम्मान गरेको हो।
यस वर्ष परमब्रत चटर्जी, गायक मोनोज्ञ महाचार्य, राघव चटर्जी, रूपंकर बागची लगायत अन्य कलाकार तथा सर्जकहरू पनि सम्मानित भएका छन्।
सम्मान ग्रहणपछि लोम्जेलले राज्य सरकारप्रति आभार व्यक्त गर्दै नेपाली भाषा, साहित्य र संगीतको प्रवर्द्धनमा निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन्। लम्जेलका परिवारै गीत, संगीत क्षेत्रमा सक्रिय छन्। श्रीमती डेजी बराइली चर्चित गायिका हुन्। छोरी बिमोचना र छोरा पनि गायनमै संघर्षरत छन्।
