शाहिद, तृप्ति र नाना पाटेकर जस्ता कलाकारको दमदार अभिनय भए पनि फिल्मले पहिलो सातामै १०० करोडको आँकडा पार गर्न सकेको छैन।
काठमाडौँ — बलिउड अभिनेता शाहिद कपूर अभिनित नयाँ फिल्म ‘ओ रोमियो’ ले प्रदर्शनको एक साता पूरा गरेको छ ।
विशाल भारद्वाजको निर्देशनमा बनेको यो फिल्ममा शाहिद एक्सन अवतारमा देखिए पनि बक्स अफिस कलेक्सन भने सुस्त देखिएको छ ।
फिल्ममा शाहिदसँगै अविनाश तिवारी, तृप्ति डिमरी, नाना पाटेकर, दिशा पाटनी, तमन्ना भाटिया र विक्रान्त मेसी लगायतका कलाकारहरूको अभिनय छ । स्टार कास्ट हुँदाहुँदै पनि फिल्मले अपेक्षित व्यापार गर्न सकेको छैन ।
भारतीय सञ्चारमाध्यममा प्रकाशित रिपोर्टका अनुसार ‘ओ रोमियो’ करिब १५० करोड भारुको ठूलो बजेटमा निर्माण गरिएको हो । तर, प्रदर्शनको पहिलो हप्तामा फिल्मले घरेलु बक्स अफिसमा मात्र ४७.१५ करोड भारु (नेट) संकलन गरेको छ ।
फिल्मले प्रदर्शनको दोस्रो दिन सबैभन्दा बढी १२.६५ करोड कमाएको थियो । फेब्रुअरी १३ (फागुन १) मा रिलिज भएको यस फिल्मले सात दिनसम्मको कुल कलेक्सनमा १०० करोडको आँकडा छुन पनि संघर्ष गरिरहेको देखिन्छ ।
फिल्ममा शाहिदको भूमिकालाई दर्शकले रुचाए पनि लगानी उठाउन फिल्मले अझै ठूलो फड्को मार्नुपर्ने देखिन्छ ।
शुक्रबार (फेब्रुअरी २०) देखि हलमा दुई नयाँ फिल्महरू थपिएपछि ‘ओ रोमियो’ को व्यापारमा थप चुनौती थपिएको छ ।
