चुनाव नजिकिँदै जाँदा सडक, घरदैलो र सामाजिक सञ्जाल चुनावी गीतले गुञ्जिन थालेका छन् ।
What you should know
काठमाडौँ — जबजब चुनाव आउँछ, प्रचारमा नारास्वरूप गुन्जिन थाल्छन्, पार्टी-गान । ती गीत पार्टी र उम्मेदवारको चुनावी अभियानलाई सघाउन बनाइन्छन् ।
२०७४ सालको चुनावमा एमालेको चुनावी प्रचार अभियानमा ‘सै पनि एमाले, मै पनि एमाले’ गीतले निकै महत्वपूर्ण भूमिका खेलेको थिए । उक्त पार्टीका मतदातामा मात्र होइन गैरमतदाताको पनि ओठओठमा झुन्डिएको थियो यो गीत । बद्री पंगेनीका चर्चित गीतको सूचीमा अहिले पनि यो गीत अटाउँछ । हरेक चुनावझैं आगामी फागुन २१ मा हुने निर्वाचनलक्षित यसपालि पनि फरकफरक पार्टी र उम्मेदवारको चुनावी प्रचारस्वरूप नयाँ गीत तयार भइरहेका छन् ।
चितवन-३ बाट नेकपाकी उम्मेदवार रेनु दाहालमाथि बनाइएको चुनावी गीत अहिले टिकटकमा चर्चित छ । 'रेनु दाहालको चुनावी गीत २०८२' भनेर कपुरबोट टीभी नामक युट्युब च्यानलबाट बजारमा आएको गीतको स्थायी छ–
बोल्नेभन्दा नि काम गर्ने बानी
सदनमा पठाऔं, रेनुलाई छानी…
रेनु दहाललाई जिताउन हजुर,
भोट हालौं सबैले तारामा
गीतका लेखकसमेत रहेका सन्तोष देउजाले बनाएको टिकटकमा प्राप्त लाखौं भ्युज यसको उदाहरण हो ।
खासमा यो गीतको लय 'जान्छ्यौ र लाहुरेको साथैमा' बोलको हो । सन्तोषले गोविन्द पंगेनीसँग गीतको लयमाथिको अधिकार किनेर रेनुको गीत बजारमा ल्याए । 'जान्छ्यौ र लाहुरेको साथैमा'मा आवाज दिएका गायक हरि सुनार र सरिता सुनारले रेनुको यो गीतमा स्वर दिएका छन् । अहिले रेनुको घरदैलो कार्यक्रममा अधिकांशले बनाउने टिकटकमा यही गीत प्रयोगमा छ । रेनु आफैंलाई भने गीतको 'चारकोसे झाडी'वाला अन्तरा खुबै म नपरेको छ । 'चारकोसे झाडी, चितवनको माडी, रेनुको कामले, बढ्छ अगाडि भन्ने अन्तरा मनपरेको छ । गीतले मेरो काम बोलेको छ । यसमा मेरो आफ्नोपन छ ।अरुले यसमा टिकटक बनाइरहेको देखिरहेको छु,'रेनुले कान्तिपुरसँग भनिन् ।
९ दिनअघि युट्युबमा सार्वजनिक भएको यो गीतले अहिले चुनावको माहोल नै परिवर्तन गरिदिएको सन्तोषले सुनाए । 'अहिले गीतलाई सबैले मनपराउनुभएको छ । अहिलेसम्मको चुनावी गीतहरुमा सबैभन्दा राम्रो भनेर फिडब्याक आइरहेको छ,'सन्तोषले भने, 'म अहिले रेनुजीसँगै घर दैलोमा हिँडिरहेको छु । जहाँ गयो यही गीतमाथि समर्थकले टिकटक बनाइरहनुभएको छ ।'
सन्तोषले भनेअनुसार यो गीत एक बसाइमै लेखिएको हो । एक निद्रा पुर्याएर रातको २ बजे आँखा खुल्दा सन्तोषलाई यो गीत फुरेको हो । रेनुले उम्मेदवारी दर्ता गराउनु अघिल्लो रात सन्तोषले यो गीत उनै रेनुलाई सम्झँदै लेखेका हुन् । 'उहाँले पनि गीतमा आफूलाई पाउनुभयो । यो गीत त अहिले चितवनभरी चर्चित छ,'चितवनमा रहेका सन्तोषले भने ।
खासमा सन्तोष रेनुका समर्थक हुन् । यसअघि रेनुले मेयर लड्दा पनि 'मेयरमा भोट रेनु दहाललाई' भनेर उनैले गीत ल्याएका थिए । अहिले रेनुको 'मिडिया क्याम्पेनिङ'मा आबद्ध सन्तोष प्रेस सेन्टर केन्द्रीय सचिव पनि हुन् । सन्तोषकै लगानीमा तयार यो गीत अहिलेसम्म अडियोमा मात्रै सार्वजनिक भएको छ । गीतको अडियो नै यसरी चर्चामा आउँदा सन्तोष खुसी छन् ।
०००
बुधबार मात्र सुजन लम्सालको युट्युब च्यानलबाट ‘एमाले हुँ एमाले मन पर्छ’ बोलको सार्वजनिक भयो । गीतमा टिकटर स्मारिका ढकालले अभियन गरेकी थिइन् । उनीमाथि पार्टीको प्रचार गीतमा अभिनय गरेको भन्दै गाली आउन थालेपछि रिलिजअघि नै उनले माथि माग्नुपर्यो ।
'एमाले हुँ म'बोलको गीतको चर्चा त समारिकाकै कारण पनि चुलियो । यो गीतमा आबद्ध भएकै कारण चौतर्फी विरोध भएपछि स्मारिकाले सामाजिक सञ्जालमार्फत म्युजिक भिडियो गर्न पुगेपछि मात्रै आफूले गीतबारे थाहा पाएको बताउँदै दर्शकमाझ माफी मागेकी छन् । 'मैले एकदम ठूलो गल्ती गरेँ । मलाई तपाईंहरुले गाली गर्नुहुन्छ थाहा छ । अहिले मलाई रिग्रेट भयो । त्यो भिडियो गर्दा दिनभरि मेरो मुड अफ थियो,' सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा उनले भनेकी छन्, 'जुन टिमले मलाई म्युजिक भिडियो दिनुभयो, उहाँहरुसँग काम गरिरहेकै हो । उहाँहरुले भन्नुभएपछि म गएँ, गीतचाहिँ एमालेको रहेछ ।'
स्मारिका र कृष क्षेत्रीले अभिनय गरेको गीत ‘एमाले हुँ म एमाले मन पर्छ’ मा पनि संयुक्त स्वर गुन्जिएका छन् । कौशल बेलबासे, पूर्णकला बीसी, बैकुण्ठ महत, पवित्रा काफ्ले, सुजन लम्साल, प्रसाद लामिछानेको आवाज र संगीतमा सुजन लम्साललाई सुन्न सकिन्छ । गीतको स्थायी छ–
एमालेमै जनलहर छ पर्व लाग्छ मलाई
सूर्य अंकित झन्डा देख्दा गर्व लाग्छ मलाई
सूर्यकै भर छ
गीतको भिडियोलाई राजकुमार मगरले निर्देशन गरेका हुन् । यो गीत एक दिनअघि मात्रै युट्युबमा सार्वजनिक गरिए पनि एक वर्षअघि नै अडियो रेकर्ड भइसकेको गायिका पूर्णकला सुनाउँछिन् । गीतमाथि अनेकन् टीकाटिप्पणी आइरहे पनि पूर्णकलाको आफ्नै धारणा छ । 'यो गीत त एक वर्षअगाडि रेकर्ड भएको हो,' उनले भनिन् । २५ वर्षदेखि एमालेको गीत गाउँदै आएकाले आफूमा कुनै ग्लानि नभएको उनको भनाइ छ । आफूले एमालेको गीत गाएको नै २५ वर्ष भएकाले राम्रै लागेर यो गीत गाएको उनले बताइन् । ‘कुनै पनि पार्टीलाई गाली गरेर गीत गाएको होइन । मैले आफ्नो पारिश्रमिक लिएर यो गाएकी हुँ,' उनले प्रस्ट पारिन् ।
'एमाले हुँ म' बोलको यो गीतमा समृद्ध नेपाल, सुखी नेपालीदेखि, देशको अर्थतन्त्र लगायतका विषय समेटिएका छन् । रचनाकार लम्सालकहाँ 'प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी'ले यो गीत ल्याएको हो । खासमा गायिका पवित्रा काफ्ले यसबीच क्यानडा जानुपर्ने थियो । उनी त्यहाँ जानुअघि आफूहरुले तुरुन्तै यो गीत रेकर्ड गरेको सुजन सुनाउँछन् । 'म्युजिक भिडियो निकाल्न एक वर्ष लाग्यो । अहिले यो गीत जताततै चलेको छ, यो गीत समग्र एमालेको गीत हो। यो गीतमा एमालेको गुणगानभन्दा पनि प्रवासी नेपाली मञ्चलाई जोडेका छौं,' उनले भने, 'हामीले स्मारिकालाई झुक्काएर अभिनय गर्न लगाएको होइन । उहाँलाई यो गीत कसको हो, एमालेमा को-को नेता छन् भन्ने थाहा थियो ।'
०००
चुनावी प्रचारका गीतमा एउटै कलाकारले फरक फरक पार्टीका र उम्मेदवारका गीत गाएका पनि छन् । जस्तो कि सर्जक अमृतकुमार अनमोलकै देउडा स्वर फरकफरक पार्टीका उम्मेदवारका चुनावी अभियानमा सुन्न सकिन्छन् ।
क्या छ हल्लीचल्ची क्या छ हल्लीचल्ली
जुम्ला कल्ले जित्न्या भया क्या छ हल्लीचल्ली
नरेसुनकी अल्ली नरेसुनकी अल्ली
हरो राम्रा कोई देखिन्न नरेसुनकी अल्ली
हेर जुम्लाबाट जिताऊँ नरेश
जुल्लामा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका नरेश भण्डारीको चुनावी प्रचारको गीत हो यो । गीतमा विपना सिंह र अमृत कुमारको स्वर सुन्न सकिन्छ ।
उनै अमृतकुमार र विपना सिंहले अरू पार्टी र उम्मेदवारका लागि पनि गीत गाए ।
२०५५सालमा चुनाव आयो मुखैमा
द्वन्द्वपीडित भया भोट हाल्दिया रुखैमा
धौ धौ गरी बाँच्या का हुन् चुनाव आयो मुखैमा
कति कष्ट सह्याँ रुखाँ हाल्दिया मुखैमा
अमृत अनमोलकै संगीत र शब्द रहेको गीतमा अनमोलकै आवाज छ र सँगै कल्पना बोहोरको पनि ।
हुम्लाबाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दीपेन्द्र रोकाया चुनाव प्रचारप्रसारका लागि पनि अमृतकुमारले गाएका छन्–
देशैभरि रातो तारा आयो
महिला दलित जनजाति उठायो
छायो अब रातो तारा छायो
महिला मुस्लिम जनजाति उठायो
यता विपना सिंहको आवाज राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र शाही जिताऔं अभियानमा पनि गुञ्जन्छ–
ए दाजु र भाइकन मेरो बिन्ती चढाइया
ए ज्ञानेन्द्र शाहीकन जिताइदिया जुम्लुजन
गीतमा हिम्मत शाही क्षितिजको शब्द संगीत छ । स्वरमा विपनासँगै प्रकाश अधिकारी र हिक्मतलाई सुन्न सकिन्छ ।
सुजन लम्सालकै शब्द संगीतमा रहेको एमालेको तीन वर्षअघिको प्रचार गीत लोकप्रिय थियो– मेरो देशै एमाले, म त यसै एमाले । यसमा अर्का गायक बद्री पंगेनीको पनि आवाज थियो । सुजनसहित रामजी खाँड, कुलेन्द्र विश्वकर्मा, राजु गुरुङ, गंगा पुन, पूर्णकला बीसी, सुनिता बुढा क्षेत्री, भीमु गुरुङ, लक्ष्मी खड्का, माया परदेशी, डोलराज बर्घरे मगर, प्रसाद लामिछानेले संयुक्त गाएका थिए गीत । तीन वर्षअघिकै एमाले गीत 'सूर्यमा भोट हालौं', 'माया बस्यो एमाले पार्टीमा', 'एमाले जिन्दावाद' होस् वा ८ वर्षअघि 'आयो एमाले, आयो एमाले' गीत ।
हुम्लाबाट उठेका कांग्रेस उम्मेदवार जयपति रोकायाको चुनावी प्रचारमा गाइएको गीत रोचक छ–
प्रजातन्त्र आयो बीपीको सिद्धान्त बोकी
देशमा शान्ति छायो गिरिजाबाउको मेहनतले
लोकतन्त्र बचाउन संविधानको रक्षा गर्न
रुखमा छाप लाउन हुम्लेलीलाई विन्ती गर्छु
यसमा पनि अमृतकुमार अनमोलकै आवाज छ ।
०००
रुपन्देही क्षेत्र नं ५ का उम्मेदवार भरतकुमार साह र कांग्रेस सभापति एवं सर्लाही-४ का उम्मेदवार गगन थापालाई जोडेर बनाइएको गीत छ– हिमालदेखि मधेशसम्म गगन सरकार । यो गीतमा सञ्जय यादवको शब्द संगीत र आवाज छ ।
नेपाली कांग्रेसकै अर्को गीत डोटीकेन्द्रित छ-
आयो आयो हरियो रुख आयो
डोटी जिल्ला कांग्रेसले छायो
नेपाली कांग्रेस जिन्दावाद, डोटी कांग्रेस जिन्दावाद
भरत खड्का जिन्दावाद ।
यो गीतमा शब्द, स्वर र संगीत शेर साउदको छ ।
युट्युबमा खोज्दै जाँदा भेटिएका गीतमध्येको अर्को छ, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालको महिमागान ।
अरुभन्दा हजारौँ गुणामा
प्रचण्ड छन् मुटुको कुनामा
भाछन् सबै दंग
राष्ट्रनायक प्रचण्ड सधैं जनतासँग
२६ जनवरीमा सीता बरालको युट्युब च्यानलबाट यो गीत रिलिज भएको थियो ।
०००
रास्वपाकै प्रचार गीत पनि अहिले सामाजिक सञ्जाल र चुनावी अभियानमा चर्चित छन् । ‘अब की बार बालेन सरकार’ नारालाई मधेशमा चर्चित बनाइएको छ । दुई दिनअघि मात्र युट्युबमा सार्वजनिक गीतको शब्द छ–
यो मौकालाई छोप आयो रास्वपा
घण्टी बज्नुपर्छ रास्वपाको नाममा
आउ साथी आऊ, जाऊ साथी जाऊ
देशैभरि सुन्नेगरी घण्टी बजाऊ
यो गीतलाई सूर्य खड्का, रुपा सिञ्जाली र ज्ञानु परियारले गाएका छन् । शिभा अखेलीले गीत लेखेका छन् ।
थुप्रै गीत र गायकीले चुनावको माहोललाई थप गर्माएका छन् । कतिपय उम्मेदवार र पार्टीका गीत भने बन्ने क्रममा नै छन् ।
चुनावी गीत अब मनोरञ्जन र प्रचार सामग्री मात्रै होइन मतदाताको मन जित्ने प्रभावकारी राजनीतिक रणनीतिसमेत बन्न थालेका छन् । सडकदेखि सामाजिक सञ्जालमार्फत गुञ्जिने यी गीतले उम्मेदवार र पार्टीको सन्देश घरघर पुर्याउँदै चुनावी माहोल तताइरहेका छन् ।
