सातौं नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल सम्पन्न

राष्ट्रिय फिचर फिल्मतर्फ सुवर्ण थापाको निर्देशनमा बनेको ‘द सेक्रेट अफ राधा’ले सर्वोत्कृष्ट राष्ट्रिय फिल्मकोको अवार्ड जित्यो ।

माघ १९, २०८२

कान्तिपुर संवाददाता

7th Nepal Cultural International Film Festival concludes

What you should know

काठमाडौँ — नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौं 'नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल २०२६' सम्पन्न भएको छ ।  

माघ १६ देखि तीन दिनसम्म आयोजना भएको महोत्सवमा ३९ देशका ८५ फिल्म प्रदर्शनमा आएका थिए ।

भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजना गरिएको समापन कार्यक्रममा विभिन्न फिल्मलाई अवार्ड वितरण गरिएको थियो । राष्ट्रिय फिचर फिल्मतर्फ सुवर्ण थापाको निर्देशनमा बनेको ‘द सेक्रेट अफ राधा’ले सर्वोत्कृष्ट राष्ट्रिय फिल्मकोको अवार्ड जित्यो । ‘ज्वाइँ साब’ बाट जितु नेपालले सर्वोत्कृष्ट राष्ट्रिय अभिनेताको अवार्ड पाउँदा ‘कोसेढुंगा’बाट सुरक्षा पन्त सर्वोत्कृष्ट राष्ट्रिय अभिनेत्री घोषित भइन् । ‘कोसेढुंगा’कै निर्देशक सरोज पौडेलले भने सर्वोत्कृष्ट राष्ट्रिय निर्देशकको अवार्ड प्राप्त गरे ।

‘द सेक्रेट अफ राधा’बाट छायांकार नरेन्द्र मैनालीले सर्वोत्कृष्ट राष्ट्रिय छायांकनको अवार्ड पाए । डकुमेन्ट्री ‘इन्टु द मिस्ट’बाट सचिन घिमिरेले सर्वोत्कृष्ट राष्ट्रिय लेखक अवार्ड जिते । लघु फिल्म ‘दृश्य (द लाइट अफ आइज)’ले भने सर्वोत्कृष्ट राष्ट्रिय 'स्पेशल मेन्सन' पायो ।

जुरी विशेष 'स्पेशल मेन्सन' निर्देशक पत्रिका घिमिरेको ‘ह्वाट ग्रोज इन थारी मेलस् भेजिटेबल गार्डेन ?’ तथा निर्देशक डब्बु क्षेत्रीको ‘द चेन्ज’ले पायो । त्यस्तै, निर्देशक ड्यानियल गदालको ‘इनार’ले सर्वोत्कृष्ट राष्ट्रिय लघु चलचित्र अवार्ड पाउँदा निर्देशक लावा प्याकुरेलको ‘गर्ल्स रिराइटिङ डेस्टिनी’ले सर्वोत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री, निर्देशक गोविन्दप्रसाद ढकालको ‘साइलन्ट स्कार्स’ले सर्वोत्कृष्ट राष्ट्रिय बाल फिल्म, निर्देशक आस्था श्रेष्ठको ‘रङ सबै गुलाबी’ले सर्वोत्कृष्ट राष्ट्रिय महिला फिल्म तथा निर्देशक सुनिलबाबु पन्तको ‘अजिमा एण्ड सिक्स जेन्डर्स’ले सर्वोत्कृष्ट राष्ट्रिय सांस्कृतिक फिल्मको अवार्ड प्राप्त गरे । 

अन्तर्राष्ट्रियतर्फ भारतका निर्देशक जयन चेरियनको ‘रिदम अफ दमाम’ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म पाउँदा यी फिल्मका चिनमाया सिद्धिले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय अभिनेताको अवार्ड जिते । अस्ट्रेलियाका निर्देशक मौलिनाथ गंगुलीको ‘कुप्पा’ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघु फिल्म, लिथुआनियाका निर्देशक गिएड्रे जेनेभिसियुटेको ‘द हेड’ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर डकुमेन्ट्री तथा इजरायलका निर्देशक हावर्ड रिपको ‘गिम्पेलः द फूल रिटर्न्स टु पोल्याण्ड’ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघु डकुमेन्ट्री अवार्ड जिते ।

समापन कार्यक्रममा अन्य विधामा पनि थुप्रै अवार्ड वितरण गरिएको थियो ।

कान्तिपुर

Link copied successfully