विश्व प्रतिष्ठित बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सव(बर्लिनाले)को ७६ औं संस्करणमा मीन भाम नेपालबाट मुख्य प्रतिस्पर्धातर्फको जुरी छनोट भएका हुन् ।
काठमाडौँ — 'शाम्बाला' निर्देशक मीन भाम विश्व प्रतिष्ठित बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सव(बर्लिनाले)को अन्तर्राष्ट्रिय जुरी बनेका छन् ।
महोत्सवको ७६ औं संस्करणमा भाम नेपालबाट मुख्य प्रतिस्पर्धातर्फको जुरी छनोट भएका हुन् ।
यसअघि बर्लिनालेको मुख्य प्रतिस्पर्धामा मीन निर्देशित 'शाम्बाला'ले नेपालबाट पहिलोपटक छनोट हुने ईतिहास रचेको थियो । जर्मन निर्देशक वीम विन्डर्सले जुरी प्रेसिडेन्टका रुपमा नेतृत्व गर्ने निर्णायक समूहमा मीन अन्य भारत, जापान, दक्षीण कोरिया, अमेरिकाका जुरीमा नेपाललाई प्रतिनिधित्व गर्दै त्यहाँ पुगेका हुन्।
यो समूहले अब महोत्सवको सबैभन्दा ठूलो अवार्ड गोल्डेन र सिल्बर बियर वितरण गर्नेछन् । यसअघि सन् २०११ मा आमिर खानलेमात्रै साउथ एसियाबाट जुरी बन्ने मौका पाएका थिए ।
फिल्म बोकेर यस किसिमको महोत्सव पुग्ने सपना लिए पनि जुरी नै बन्ने नचिताएको मीन सुनाउँछन् ।
'फिल्म लिएर यस्तो महोत्सवमा पुग्ने त फिल्मकर्मीका हिसाबले मेरो सपना थियो । तर, मैले जुरी हुन्छु भनेरसोचेकै थिएन,'मीनले कान्तिपुरलाई भने,'मेन कम्पिटिसनकै जुरी बन्न पाउँदा खुसी लागेको छ । यो ठाउँमा बल्ल तल्ल फिल्म लिएर पुगिन्थ्यो, यसरी जान पाउँदा एकदम खुसी छु। तर, देशमा चुनाव हुँदा आफू बाहिर हुन्छु त्यसले चाहिँ निरास बनाएको छ ।'
