समाजमा वर्जित गरिएका, दबाइएका र सामान्यीकरण गरिएका मुद्दाहरूमाथि बहस गर्नका लागि 'क्वेयर फिल्म फेस्टिभल' सशक्त भएर उभिएको छ ।
काठमाडौँ — काठमाडौंको कोलाहलबीच एउटा शान्त ठाउँ । ४० दर्शक अट्ने सानो हल । तर, ठूलो प्राङ्गण । यही प्राङ्गणमा उभिए देखिन्छ, ऐरावत पिक्चर हाउस । यहीँ झुन्ड्याइएको छ, रङ्गिचङ्गी झण्डा । छेउका भित्तामा छन्, फिल्मका पोस्टर । अनि ठूला ब्यानरमा लेखिएको छ, 'क्वेयर फिल्म फेस्टिभल काठमाडौं' ।
काठमाडौंको थापाथलीस्थित 'ऐरावत पिक्चर हाउस'मा माघ १ देखि एउटा बेग्लै महोत्सव चलिरहेको छ । सहरका अन्य महोत्सवको भीडमा यो निकै फरक स्वाद र शैलीको महोत्सव हो । न यसमा धेरै तामझाम देखिन्छ, न धेरै होहल्ला ! शान्त शैलीमा आयोजना भइरहेको यो महोत्सवले फिल्म र बहसहरूमार्फत आफूलाई भिन्न साबित गर्दै आइरहेको छ ।
महोत्सवका सह-निर्देशक क्षितिज अधिराजका अनुसार 'क्वेयर फिल्म फेस्टिभल' काठमाडौं सन् २०२४ बाट सुरु भएको हो । हुन त सन् २०२३ मै पनि यो महोत्सव सुरु गरिएको हो । तर, डकस्कुल अन्तर्गत आयोजना गर्दै आइरहेको 'समथिङ लाइक अ फिल्म फेस्टिभल'अन्तर्गत यो महोत्सव सञ्चालनमा आएको थियो । डकस्कुलले युवा फिल्मकर्मीका फिल्म र कन्टेन्टलाई प्रवर्द्धन गर्न र प्लेटफर्म दिने उद्देश्यले 'सम्थिङ लाइक अ फिल्म फेस्टिभल' सुरु गर्दै आएको छ ।
तर, यो २०२४ बाट भने क्षितिजको समूहले यो महोत्सवको आवश्यकता बुझेर यसलाई छुट्टै महोत्सवका रूपमा सुरु गरेको हो । यसको उद्देश्य डकस्कुलसँग पनि मिल्दो देखिन्छ । सन् २००८ तिर फिल्मकर्मीका लागि 'स्क्रिनिङ रुम' अर्थात् फिल्म हेर्ने/देखाउने ठाउँका रूपमा डकस्कुल स्थापना भएको हो ।
त्यतिबेलादेखि नै डकस्कुलले यौनिकता, महिला प्रतिनिधित्वका फिल्म देखाउँदै आएको छ । त्यस्तो मुद्दा उठाउने फिल्मलाई प्रवर्द्धन पनि गर्दै आएको छ । त्यसैको निरन्तरका रूपमा सन् २०११ मा 'समथिङ लाइक अ फिल्म फेस्टिभल' सुरु गरिएको थियो । तर त्यतिबेला डकस्कुलले 'छाडा फिल्म देखायो' भन्दै कतिले उनीहरूको विरोध गरे । फिल्म हेर्न आइपुगेका दर्शकबाटै त्यस्तो प्रतिक्रिया पाएपछि क्षितिजको समूहले महोत्सवलाई निरन्तरता दिएनन् । खासमा डकस्कुलले फिल्म प्रदर्शनका लागि मात्रै महोत्सव आयोजना गर्दैन । समाजसँग जोडिएका मुद्दाहरूमा छलफल र अन्तरक्रिया गर्ने ठाउँका रूपमा उनी महोत्सवलाई स्थापित गर्न चाहन्थे । 'कति फिल्म दर्शकलाई लागि अपाच्य बन्यो । उहाँहरूले नै नराम्रोसँग हामीलाई प्रतिक्रिया दिनुभएपछि हामीले त्यो महोत्सवलाई केही समयका लागि रोक्यौं,'क्षितिजले भने ।
२०२३ मा डकस्कुलले फिल्मकर्मी र क्वेयर अभियन्तालाई सँगै राखेर एउटा कार्यक्रम राखेको थियो । त्यतिबेला सहभागीहरुबीच फिल्म देखाइएको थियो । अनि त्यही कार्यक्रमको छलफलबाटै 'क्वेयर फिल्म फेस्टिभल' जन्मिएको हो । फिल्मका बहसहरूमा अझै पनि कति मुद्दाहरू समेटिँदैनन्, कतिका आवाज कहिल्यै समावेश नै गरिदिँदैन । 'क्वेयर फिल्म फेस्टिभल' त्यही नसमेटिएका आवाजको प्रतिनिधित्व पनि हो । धेरैलाई महोत्सवको शीर्षकले यो लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका फिल्म देखाउने कार्यक्रम लाग्न सक्ला । तर, क्षितिजका अनुसार महोत्सवले त्यो समुदाय मात्रै होइन फिल्म 'एकै किसिमको मात्रै हुनुहुँदैन' भन्ने आवाज पनि उठाउँछ । फिल्मले एउटै धार पक्रनु हुँदैन, फिल्म विविध हुनुपर्छ भन्ने प्रश्न पनि यो महोत्सवले उठाउँदै आएको छ । 'यो महोत्सवले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका पहिचानमाथि सेलिब्रेट गर्छ । उनीहरूका मुद्दाहरूमा बहस पनि गर्छ । साथै, फिल्म एकै प्रकार हुनुहुँदैन भन्ने कुरा पनि गर्छ,'क्षितिजले भने,'अरु महोत्सवले आफ्नै तरिकाले प्रभाव पार्नु होला । तर, हाम्रो महोत्सवले नसमेटिएका मुद्दालाई पनि समेट्छौं ।'
समाजमा वर्जित गरिएका, दबाइएका र सामान्यीकरण गरिएका मुद्दाहरूमाथि बहस गर्नका लागि 'क्वेयर फिल्म फेस्टिभल' सशक्त भएर उभिएको छ । ब्लु डायमन्ड सोसाइटी, क्वेयर युथ ग्रुप, ट्रान्स म्यान कलेक्टिभलगायतका क्वेयर समूहको सक्रिय सहभागिता यो महोत्सवमा देखिन्छ । यो महोत्सवमा यी समूहरुले अपनत्व पनि अनुभव गरेका छन् । र, यसैलाई पनि महोत्सवको एउटा सशक्त उपलब्धिका रूपमा हेर्छन्, क्षितिज । 'नेपालको क्वेयर पहिचान अभियानलाई सहयोग गर्न र नेपाली फिल्मको स्थापित भाष्यमा विविधता अटाओस् भन्न हाम्रो यो महोत्सवको उपस्थिति हामीले आवश्यक ठानेका छौं,'क्षितिजले भने ।
दोस्रो संस्करणसम्म आइपुग्दा यो वर्ष महोत्सवमा १७० भन्दा बढी फिल्म देखाइएका छन् । विश्वभरबाट प्राप्त ८ सय फिल्ममध्येमा १ सय ७० फिल्म छानेर प्रदर्शनमा राखिएको हो । महोत्सवमा चार नेपाली फिल्म पनि प्रदर्शनमा छन् । खासमा क्वेयरले पितृसत्तादेखि लैङ्गिक संरचनालाई विश्वास गर्दैन । यस्तो विश्वाससहितको फिल्म थोरै बन्छन् । तर, यो पटक अचम्म तरिकाले थुप्रो फिल्म 'क्वेयर फिल्म फेस्टिभल'मा सहभागी हुन आइपुगेको छ । नेपाली फिल्मतर्फ 'द साइलेन्ट स्लो' र 'सबनम' भन्ने फिल्म देखाइँदैछ । विदेशी फिल्मकर्मी जोडिएका नेपाली विषयवस्तुमाथिका अन्य २ सहित चार नेपाली फिल्म महोत्सवमा देखाइँदैछ । माघ १० सम्म आयोजना हुने यो महोत्सवमा २२ फिचर र लघु फिल्म छन् । अर्को वर्षदेखि महोत्सवमा ल्याबदेखि कार्यशाला सञ्चालनमा ल्याउने पनि योजना रहेको क्षितिज सुनाउँछन् । यो पटक महोत्सवले 'क्वेयर फिल्म एप्रिसियन कोर्स'देखि सेन्सर बोर्डले ल्याएको सेन्सरसम्बन्धी नयाँ कार्यविधिमाथि छलफल गराउँदैछ ।'क्वेयर फिल्म एप्रिसियन कोर्स' भने सम्पन्न भइसक्यो ।
महोत्सवका सह-निर्देशक ज्योत्सना मास्केका अनुसार यो महोत्सव सञ्चालन गर्न 'मुभी द्याट म्याटर'ले पनि सहयोग गरेको छ । तर, नेदरल्यान्डको यो महोत्सवको सहयोग मात्रै प्रयाप्त नभएको मास्के सुनाउँछिन् । 'यस्तो महोत्सवका लागि खर्च खोज्नै गाह्रो पर्छ । अर्को त हाम्रो क्वेयर फिल्म महोत्सव फरक छ, त्यसैले पनि पैसा ल्याउन गाह्रो छ,'ज्योत्सनाले भनिन्,'नेपालमा अन्य महोत्सव छन्, जसको दाँजोमा हामीले सरकारबाट सहयोग पाउँदैनौं । त्यसैले हामीले हाम्रो आफ्नै व्यक्तिगत लगानीमै पनि यो महोत्सव गरिरहेका छौं ।'
ज्योत्सनाका अनुसार महोत्सव अलि बेग्लै भएकै कारण नाम सुन्ने बित्तिकै कतिले सहयोगका हात बढाइदिँदैनन् । 'टिकट काटिदिन्छौँ तर हामी फिल्म हेर्न आउँदैनौं है भन्नेहरू पनि छन्,'उनले सुनाइन् । खर्चको अभाव भएको यही संघर्षबीच पनि समुदाय केन्द्रित रहेर आफूहरूले महोत्सव आयोजना गर्दै, समुदायमा रहेर काम गर्दै आइरहेको मास्के सुनाउँछिन् । यो महोत्सवले १० दिनमा २ हजार दर्शकबीच पुग्ने योजना बनाएको छ ।
