प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएकी निशा भन्छिन्,'आफ्नो स्थान आफैं ओगट्ने हो' 

‘आफ्नो स्थान आफैंले ओगट्नुपर्छ भन्ने नै हो। कसैले दिने 'टोकन' वा 'फेभरेटिजम'मा महिलाको राजनीति आधारित हुनुहुँदैन,’ निशाले भनिन्, ‘यो एउटा संघर्ष हो, यसमा महिलाहरू सहभागी हुनैपर्छ।'

माघ ७, २०८२

रीना मोक्तान

Nisha, who has filed her candidacy for the direct election, says, 'I will occupy my own place'

काठमाडौँ — फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराउनेमा अभिनेत्री निशा अधिकारी पनि छन् । गतिशिल लोकतान्त्रिक पार्टीले अधिकारीलाई काठमाडौं क्षेत्र नम्बर ५ को उम्मेदवार बनाएको हो । 

खासमा निशाले यसअघिका निर्वाचनहरूमा महिला सहभागितामाथि आवाज उठाउँदै आएकी थिइन्। महिलालाई प्रतिस्पर्धा धेरै हुने ठाउँमै नपत्याइदिने, जित सुरक्षित हुने ठाउँमै मात्र विश्वास गरिदिने अभ्यासको उनले खुलेर विरोध गर्दै आइन्। तर, फागुनमै हुने निर्वाचनमा समेत अवस्था उस्तै देखिन्छ। बोलेरै मात्रै नहुने भएपछि अब निशा प्रत्यक्ष निर्वाचन नै लड्दैछिन्। महिलाले लड्नुपर्ने लडाइँहरूमा निर्वाचनमा उभिनु पनि एक हो भन्दै निशाले गतिशील लोकतान्त्रिक पार्टीबाट प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएकी हुन्। उनका लागि यो कदम एउटा जित बराबर नै हो।

‘आफ्नो स्थान आफैंले ओगट्नुपर्छ भन्ने नै हो। कसैले दिने 'टोकन' वा 'फेभरेटिजम'मा महिलाको राजनीति आधारित हुनुहुँदैन,’ निशाले भनिन्, ‘यो एउटा संघर्ष हो, यसमा महिलाहरू सहभागी हुनैपर्छ। जित–हार अर्को कुरा हो। मेरो नजरमा मैले आफूले आफूलाई जित्नुपरेको थियो। त्यसैले उम्मेदवारी दर्ता गर्नु नै मेरो लागि एउटा जित हो। म मैदानमा उत्रिएँ, मैले साहस गरेँ।’

२०७० जेठमा सगरमाथा आरोहण गरेकी निशाले दर्ता प्रक्रियामै पनि थुप्रै महिला अनुहारहरूको उपस्थिति हेर्न चाहेकी थिइन्। तर, काठमाडौंमै पनि महिला उपस्थिति कम थियो। त्यसपछि निशालाई लाग्यो, आफू हुर्केको ठाउँबाटै प्रत्यक्ष निर्वाचन लड्छु। निशाका अनुसार काठमाडौं क्षेत्र नं. ५ मा ५० प्रतिशत महिला जनसंख्या छ। भान्छादेखि मानसिक स्वास्थ्यसम्मका विषयलाई सदनसम्म पुर्‍याउँदै महिलाका विविध मुद्दाहरूमा काम गर्ने सोच छ, निशाको।

धेरैलाई लाग्न सक्छ, निशा जेन–जी आन्दोलनपछि राजनीतिमा देखिएका ‘सेलिब्रेटी’ अनुहारमध्ये एक हुन्। तर, त्यति मात्रै सत्य होइन। निशाको राजनीतिप्रतिको झुकाव पार्टी प्रवेशभन्दा पहिलेदेखिकै हो। स्नातकदेखि स्नातकोत्तर तहसम्म राजनीतिशास्त्र अध्ययन गरेकी निशाको राजनीतिप्रतिको रुचि पहिल्यैदेखि थियो। तर, अहिलेसम्म उनले आफ्नो राजनीतिक चेत सडकका सामाजिक अभियानहरूमा मात्रै केन्द्रित गराउँदै आइन्। ‘इनफ इज इनफ’ होस् वा अन्य सामाजिक मुद्दा, उनले सक्रिय सहभागिता जनाउँदै आवाज उठाइरहिन्। ‘द्वन्द्व, शान्ति र विकास’ विषयमा एमफिल गरिरहेकी उनका लागि महिला सहभागिता र राजनीति सधैं रुचिको विषय थियो र छ।

गम्भीर र एजेन्डासहितको राजनीति कसरी गर्न सकिएला भन्ने कुराले निशाको मन बेचैन नै थियो। तर, जब गतिशील लोकतान्त्रिक पार्टी यही विचारधारासहित अगाडि बढिरहेको पाइन्, त्यसपछि राजनीतितर्फ निशाले डेब्यु गरिन्। ‘म पनि लामो समयसम्म यात्रा गर्ने पार्टी खोल्नुपर्छ भन्नेमा थिएँ। उद्यमशीलता र रोजगारी कसरी त भन्ने विषयको जवाफ खोज्ने “हाउ” पार्टी खोलौं भन्नेमा थिएँ,’ निशाले भनिन्, ‘त्यसैले हाम्रो पार्टीले उद्यमशीलता र वडा–वडामा दिगो रोजगारी भन्ने नारा बोकेको छ। यी मुद्दाहरूमा हामी दुई वर्षदेखि नै गृहकार्य गर्दै थियौं।’

निशाका अनुसार गतिशील लोकतान्त्रिक पार्टी जेन–जी आन्दोलनपछि खोलिएको पार्टी होइन। दुई वर्षअघिदेखि नै गृहकार्य गर्दै अगाडि बढिरहेको थियो। यही पार्टीबाट ०८४ को चुनाव लड्ने सोचेकी पनि थिइन्। तर, जेन–जी आन्दोलनले अलि बढी राजनीतिमा सक्रिय हुन निशालाई झस्काएकै हो।

‘बाहिर बसेर आवाज उठाउँदा सबै कुराको जवाफ नीतिसँगै ठोकिन पुग्यो। त्यसैले मलाई लाग्यो, यी समस्या समाधान गर्न त त्यहीँ पुग्नुपर्छ,’ निशा सुनाउँछिन्, ‘जेन–जी आन्दोलनमा जुन किसिमको नरसंहार भयो, त्यो निकै पीडादायी बन्यो। मेरो बुवाआमादेखि जेन–जी पुस्ताले त्यही भ्रष्टाचारको विषयमा आवाज उठाउनुपर्‍यो, अब मैले हुर्काइरहेको छोराले पनि त्यही कुरा भोग्नुपर्ने रहेछ। त्यसैले मेरा छोरा अनि उनको पुस्ताका लागि म राजनीतिमा आएको हुँ।’ जेन–जी आन्दोलनले आफूलाई ‘कम्फर्ट जोन’बाट बाहिर निकालेको बताउँदै निशा थप्छिन्, ‘त्यो आन्दोलनपछि मलाई अहिले नै हो गर्ने, अहिले नगरे कहिले भन्ने भयो।’

निशा पेशागत राजनीति भन्दा पनि राजनीति र कलाकारितालाई सँगै अगाडि बढाउन चाहन्छिन्। यसबीच उनी अभिनित ‘आँखा’ ले अन्तर्राष्ट्रिय प्लेटफर्ममा चर्चा कमायो। निशाले निर्माण गरेको पछिल्लो फिल्म भने ‘झ्यानाकुटी’ हो। हालै उनी ‘कस्तुरी’ नामक फिल्ममा पनि आबद्ध भएकी छन्। ‘पेशागत राजनीति नगर्ने भनेर नै आएको हो। त्यसैले भ्याउँदासम्म कलाकारिता र राजनीति सँगै गर्छु,’ निशाले भनिन्, ‘अहिले चुनावको माहोल छ। चुनावको नतिजा कस्तो होला? चुनाव सफल भए पूर्णरूपमा राजनीतिमा हुन्छु, नभए पार्टीसँगसँगै कलाकारिता गर्छु।’

प्रतिनिधिसभा निर्वाचनमा महिला संख्या निकै न्यून रहेकाले निर्वाचनमा होमिने आँट गर्ने महिलालाई उनी मनैदेखि समर्थन जनाउन चाहन्छिन्। ‘म त जुनसुकै पार्टीबाट उठ्ने महिलालाई पनि साथ र सहयोग गर्न चाहन्छु। कारण यो हाम्रो लडाइँ हो। जसले आँट्यो, उसलाई आँट त दिनुपर्छ,’ निशाले भनिन्, ‘जो प्रत्यक्ष उठ्दै हुनुहुन्छ, उहाँहरूको साहस र आँटका लागि धन्यवाद भन्न चाहन्छु।’

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully