संगीत, कला, साहित्य, स्वास्थ्य, पर्यटन, समाजसेवा र पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई सम्मान गरिएको थियो ।
कैलाली — सुदूरपश्चिमको कला–साहित्य र संस्कृति प्रवर्द्धनमा योगदान पुर्याउने व्यक्तिलाई सोमबार सुप इन्टरटेनमेन्ट म्युजिक अवार्डबाट सम्मान गरिएको छ । यहाँस्थित सुप इन्टरटेनमेन्ट तथा बाडुल्की मिडिया हाउसको आयोजनामा भएको चौथो राष्ट्रिय सुप इन्टरटेनमेन्ट म्युजिक अवार्ड कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा संगीत, कला, साहित्य, स्वास्थ्य, पर्यटन, समाजसेवा र पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई सम्मान गरिएको थियो । सुदूरपश्चिम प्रदेशका पूर्व वन मन्त्री रमेशसिंह धामीले कला–संस्कृति र संगीतले समाज रूपान्तरणमा भूमिका खेल्ने भएकाले यस्तो सम्मानबाट सर्जकको मनोवल उच्च हुने बताए ।
सुदूरपश्चिमको गीत–संगीत र देउडा गायनमा योगदान पुर्याएका विभिन्न कलाकारलाई सम्मानित गरिएको थियो । टेकबहादुर ऐरलाई लाइफटाइम एचिभमेन्ट अवार्ड, मायाप्रकाश भट्टलाई पर्यटन प्रवर्द्धन, प्रेमसिंह ओझालाइ शैक्षिक, हिमत रावललाई कला पत्रकारिता, हरिना साउदलाई गायिका सम्मान प्रदान गरिएको थियो ।
त्यस्तै हेमन्त बिवसलाई दर्शक साहित्य, कल्पना भट्टलाई समाजसेवा, डा. बिवेक जोशीलाई स्वास्थ्य सेवा, केपी कलौनीलाई कला सम्मान प्रदान गरिएको थियो । विभिन्न विधामा अवार्ड प्रदान गर्नका लागि बरिष्ठ गायक नरेन्द्रराज रेग्मी, पत्रकार खेमराज उपाध्याय र बरिष्ठ निर्देशक भीम थापा सदस्य रहेको छनोट समिति गठन गरिएको थियो ।
