सेफ सन्तोषमाथि बन्ने फिल्म बर्लिनाले ‘को–प्रोडक्सन’मा

निर्देशक दीपक रौनियारले आप्रवासन, पहिचान र संघर्षको कथामा आधारित ‘द टेस्ट अफ सल्ट’ बर्लिनालेको ७६औं संस्करणमा प्रस्तुत गर्न लागेका छन्।

माघ २, २०८२

कान्तिपुर संवाददाता

Berlina to co-produce film on Chef Santosh

What you should know

काठमाडौँ — सेफ सन्तोष शाहको जीवनमा आधारित फिल्म ‘द टेस्ट अफ सल्ट’ विश्व प्रतिष्ठित फिल्म महोत्सव बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल(बर्लिनाले)को ‘को–प्रोडक्सन’ मार्केटमा छनोट भएको छ । ४०० आवेदनबाट छानिएको उत्कृष्ट १९ फिल्मतर्फ ‘अफिसियल फिचर प्रोजेक्ट’मा यो फिल्म छानिएको हो । 

आगामी फेब्रुअरीमा आयोजना हुने बर्लिनालेको ७६औँ संस्करणमा सहभागी हुने ६०० भन्दा बढी प्रोजेक्ट, विभिन्न देशबाट आउने अन्तर्राष्ट्रिय निर्माता, वितरक, सेल्स एजेन्ट र लगानीकर्ता माझ निर्देशक दीपक रौनियारले यो फिल्मलाई प्रस्तुत गर्नेछन् । निर्माणाधीन यो फिल्ममा सन्तोषको सङ्घर्ष र सफलताको कथा समेटिने निर्देशक रौनियारले जनाए । 

‘अहिले विश्वभर आप्रवासन र पहिचानमाथि प्रहार भइरहेको तथा अमेरिका लगायतका देशहरूले भिसामा कडाइ गरिरहेको समयमा मलाई यो कथा भन्नु अत्यावश्यक लागेको हो। सन्तोष - जसले नेपालमा जन्मेर पनि भारत हुँदै बेलायत पुगेर आफ्नो नाम र करिअर मात्र बनाएनन्, नेपाली खाना र पहिचानलाई विश्वसामु चिनाए - उनको कथामा चलचित्र बनाउनु अहिले निकै सान्दर्भिक छ,’निर्देशक रौनियारले भने,’द टेस्ट अफ सल्ट एक साधारण व्यक्तिको सङ्घर्षले ल्याएको ठूलो सफलताको कथा हो ।‘ निर्देशक रौनियारले यसअघि ‘हाइवे’, ‘सेतो सूर्य’ र ‘पूजा, सर’जस्ता फिल्ममार्फत अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाललाई पुर्‍याउँदै आएका छन् । ‘द टेस्ट अफ सल्ट’ नेपाल–बेलायतको सहकार्यमा बन्ने फिल्म हो । 

फिल्ममा आप्रवासन, जातीय विभेद र निर्वासनका विषय समेटिनेछ । सेफ सन्तोषले आफ्नो व्यक्तिगत यात्राले यस किसिमको अन्तर्राष्ट्रिय उचाइ हासिल गर्ला भन्ने सोचेका थिएनन् । यो फिल्म आफ्नो जीवन मात्रै नभएर पाककला र त्यससँग जोडिएको संघर्ष उपर बन्ने सन्तोषले जनाए । ‘नेपालको विद्यालय पाठ्यक्रममा मेरो कथा पढाइँदा म जति गौरवान्वित थिएँ, विश्व प्रख्यात फिल्म फेस्टिभलमा यो छनौट अर्को ठूलो उपलब्धि हो,’उनले भने । 

बर्लिनालेको ‘को–प्रोडक्सन मार्केट’ फिल्म लगानी तथा बिक्रीका लागि विश्वकै प्रमुख थलो मानिन्छ।

कान्तिपुर

Link copied successfully