केन्द्रीय चलचित्र जाँच समितिले बालबालिका र किशोरको मनोस्वास्थ्यलाई ध्यानमा राखी चलचित्र वर्गीकरण कार्यविधि लागू गरेको छ, जसलाई फिल्मकर्मीले समर्थन गरेका छन्।
What you should know
काठमाडौँ — फिल्म सेन्सर बोर्डले पुस २ देखि लागू गरेको 'चलचित्र जाँच सम्बन्धी कार्यविधि, २०८२'लाई संशोधन गर्दै नयाँ कार्यविधि ल्याएको छ । फिल्मकर्मीको चर्को विरोधपछि बोर्डले ‘चलचित्र जाँच तथा वर्गीकरणसम्बन्धी कार्यविधि २०८२’ शीर्षकमा नयाँ कार्यविधि ल्याइएको हो ।
फिल्ममाथि काँटछाँटभन्दा पनि वर्गीकरण गर्ने उद्देश्यसहित यो कार्यविधि ल्याइएको हो । ‘समितिले चलचित्रको विषयवस्तु, संवाद, दृश्य तथा बालबालिका एवं किशोर किशोरीको मनोस्वास्थ्यलाई चलचित्रमा प्रयोग भएका हिंसा, यौन, नग्नता, लागुपदार्थ, भाषा, कथाको सन्दर्भ, उद्देश्य र कथाको मूल थिम समेतलाई मध्यनजर गरी चलचित्र हेर्न दर्शकको उमेर समूह लक्षित वर्गीकरण गरी चलचित्रलाई सार्वजनिक प्रदर्शन गर्न देहाय बमोजिमको लोगो अङ्कित प्रमाण पत्र दिनुपर्नेछ,’ भनी कार्यविधिको बुँदा नम्बर ५ मा वर्गीकरणको विषय उल्लेख छ ।
यसअघि कार्यविधि संशोधनका लागि सुझाव दिएका फिल्मकर्मीले अहिले यो कार्यविधिलाई समर्थन रहेको जनाएका छन् । ‘संचार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको केन्द्रीय चलचित्र जाँच समितिले मिति २०८२ माघ १ गते जारी गरेको चलचित्र जाँच तथा वर्गीकरण कार्यविधि २०८२ प्रति हामी सम्पूर्ण सरोकारवाला चलचित्रकर्मीहरु सकारात्मक समर्थन व्यक्त गर्दछौं,’ सरोकारवाला समूहले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघिको कार्यविधिमा सुझाव दिने फिल्मकर्मीमा नवीन सुब्बा, खगेन्द्र लामिछाने, मनोज पण्डित, दीपेन्द्र के खनाल, निश्चल बस्नेत, रौनक विक्रम कँडेल, रवीन्द्रसिंह बानियाँ, जनकदीप पराजुली, सरेन्द्र थापा छन् ।
बोर्ड सदस्य कुवेर गिरीका अनुसार यो कार्यविधि पुस ३० बाट लागू हुने गरी ल्याइएको हो । बोर्डको वेबसाइटमा भने अझै यो कार्यविधि सार्वजनिक गरिसकेको छैन । गिरीका अनुसार माघ २ बाट बेवसाइटमा यो कार्यविधि राखिनेछ ।
