पोंगलमा रिलिज हुने भनिएको दक्षिण भारतीय फिल्म ‘थेरी’ अन्य निर्माताको अनुरोधमा रिलिज हुन केही घण्टा अघि स्थगित गरिएको छ ।
काठमाडौँ — दक्षिण भारतीय ‘सुपरस्टार’ थलपति विजय अभिनीत फिल्म ‘थेरी’को पुन:प्रदर्शन स्थगित भएको छ ।
विजयको आगामी फिल्म ‘जन नायगन’को चर्चा चलिरहेका बेला ‘थेरी’ लाई पोंगल पर्वको अवसरमा पुनः सिनेमाघरमा रिलिज गर्ने घोषणा गरिएको थियो । तर रिलिज हुन केही घण्टा अघि नै फिल्मको प्रदर्शन स्थगित गरिएको हो ।
‘थेरी’को पुनः रिलिजलाई औपचारिक रूपमा रिलिज हुनुअघि नै पोस्टपोन गरिएको जानकारी फिल्मका निर्माता वी क्रिएशन्सले दिएको छ । यही ब्यानरले विजयको फिल्म ‘जन नायगन’ पनि निर्माण गरिरहेको छ । ‘थेरी’ १५ जनवरी २०२६मा रिलिज हुने तय थियो । फिल्मले १० वर्ष पूरा गरेको अवसरमा पुनः प्रदर्शन गर्ने योजना बनाइएको थियो ।
सोसल मिडियामा जारी विज्ञप्तिमा वी क्रिएशन्सले अन्य आगामी फिल्मका निर्माताहरूको अनुरोधका कारण ‘थेरी’ को रिलिज स्थगित गरिएको जनाएको छ । रिलिज तालिकामा समस्या नआओस् भन्ने उद्देश्यले यो निर्णय लिइएको बताइएको छ । हालसम्म ‘थेरी’को नयाँ रिलिज मिति सार्वजनिक गरिएको छैन ।
‘जन नायगन’ ले केन्द्रीय फिल्म प्रमाणिकरण बोर्डसँग लगातार समस्या झेलिरहेको छ । बोर्डले फिल्मका केही दृश्यहरू धार्मिक भावनामा चोट पुर्याउन सक्ने भन्दै आपत्ति जनाएको छ ।
फिल्मका निर्माताले अन्तरिम राहतका लागि सर्वोच्च अदालतमा निवेदन दिएका छन् । सो निवेदनमाथि १९ जनवरीमा सुनुवाइ हुने बताइएको छ ।
