कोलकाता अन्तर्राष्ट्रिय बाल नाटक महोत्सवमा चार नेपाली नाटक

महोत्सवमा यसपालि नेपालसहित आठ देश सहभागी हुँदैछन् ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

Four Nepali plays at Kolkata International Children's Drama Festival

काठमाडौँ — बुधबारदेखि सुरु हुन लागेको चौथो कोलकाता अन्तर्राष्ट्रिय बाल नाटक महोत्सवमा चार वटा नेपाली नाटक देखाइने भएको छ ।

महोत्सवमा नेपालबाट पुष्पराज अवस्थीको लेखन तथा निर्देशनमा 'पार्वती', रामबाबु रेग्मीको लेखन तथा निर्देशनमा 'जीवन मरण', राजन भुजेलको लेखन तथा निर्देशनमा 'जुठो' र प्रभाकर न्यौपानेको लेखन तथा निर्देशनमा 'घाँसी को ?' शीर्षकका नाटक मञ्चन हुँदै छन् । 

रंगकर्मी पुष्पराज अवस्थीको लेखन तथा निर्देशन रहेको नाटक 'पार्वती'मा भक्तपुरको बालकोटस्थित मेरीगोल्ड इंग्लिस बोर्डिङ स्कुलका विद्यार्थीले अभिनय देखाउने छन् । नाटकमा सुदूरपश्चिम भेगमा कुनै समय प्रचलनमा रहेको देउकी प्रथामा आधारित छ ।

आफ्नो कर्ममार्फत देशको कला तथा संस्कृतिलाई अन्तराष्ट्रिय मञ्चमा पुर्‍याउन पाउँदा खुसी लागेको नाटकका निर्देशक अवस्थीले बताए । नेपाली नाट्य शिल्प अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने र अन्तर्राष्ट्रिय मञ्चको अनुभवको लागि पनि नेपालको प्रतिनिधित्व गर्दै प्रत्येक वर्ष नाटक र कलाकारहरुलाई लिएर भारतका विभिन्न स्थानमा आयोजना हुने नाटक महोत्सवमा सहभागी हुने गरेको उनले बताए ।

कोलकाता ईसो नाटक सिखीले आयोजना गर्न लागेको नाटक महोत्सव पुस ३० गतेदेखि सुरु भएर माघ २ गते समापन हुनेछ । महोत्सवमा यसपालि नेपाल, भारत, श्रीलंका, बंगलादेश, मेक्सिको, जापान, रसिया र चेक गणतन्त्रसहित ८ वटा देश सहभागी हुँदैछन् ।

 

कान्तिपुर संवाददाता

Link copied successfully