केयूले फिल्ममा स्नातकोत्तर पढाउँदै

फिल्म निर्माणदेखि समीक्षासम्मका विषय समेट्दै केयूले फिल्ममाथि स्नातकोत्तर पढाउने भएको हो।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

KU offers a master's degree in film

What you should know

काठमाडौँ — काठमाडौं विश्वविद्यालय(केयु)ले फिल्ममा स्नातकोत्तर पढाउने भएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै केयुले फिल्मकर्मी, विद्यार्थीको उपस्थितिमा 'एमएफएस' (मास्टर इन फिल्म स्टडिज) सुरु गरेको जानकारी गराएको हो । 

'काठमाडौं विश्वविद्यालय, स्कूल अफ आर्ट्स अन्तर्गत भाषा तथा आमसञ्चार विभागले नेपालमै पहिलो पटक मास्टर इन फिल्म स्टडिज सुरु गरेको छ,' केयूमा फिल्म पढाउँदै आएका ङिमा गेलु शेर्पाले भने।

केयूले फिल्ममाथिको स्नातकोत्तर कार्यक्रम फ्रेबुअरी २०२६ देखि सुरु गर्नेछ। हात्तीवनस्थित केयूको स्कूल अफ आर्ट्समा स्नातकोत्तरको पढाई हुनेछ। फिल्म निर्माणदेखि नाट्यशास्त्र, समीक्षालगायतका थुप्रै पाठ्यक्रमलाई यो कार्यक्रममा समावेश गरिएको शेर्पाले बताए। 'हामीले यो कोर्समा नाट्यशास्त्रदेखि फिल्मको समीक्षा कसरी गर्ने भन्ने विषयहरुलाई पनि समावेश गरेका छौं,' उनले भने।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, फिल्म समीक्षक समाजका अध्यक्ष सामिप्यराज तिमल्सिना, निर्देशक यादव खरेललगायत उपस्थित थिए। 

बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले यो वर्ष विधेयक, बक्स अफिसलगायत फिल्म स्टुडियोमा बोर्डले चालेको कदम सुनाउँदै फिल्ममाथि स्नातकोत्तर पढाई सुरु हुनु खुसीको विषय रहेको बताए। त्यस्तै फिल्म समीक्षक तिमल्सिनाले फिल्म र समीक्षाबीच सिर्जना भएको अन्तरलाई यो पढाईले चिर्नेमा विश्वास व्यक्त गरे । 'अहिलेसम्म हामीकहाँ फिल्म र समीक्षाबीच ठूलो ग्याप थियो। यहाँ फिल्म समीक्षाको विषय समावेश गरेको देख्दा खुसी लाग्यो। फिल्म र समीक्षामा भएको यो ग्याप अब यो पढाईले हटाउनेछ,' अध्यक्ष तिमल्सिनाले भने ।

निर्देशक खरेलले भने औपचारिक शिक्षामा फिल्म समावेश हुनु विश्वविद्यालयले यो क्षेत्रलाई दिएको आधिकारिता रहेको बताए। 'खासमा फिल्म मनोरञ्जन मात्रै होइन, सांस्कृतिक विषय हो। अब औपचारिक शिक्षामा फिल्म पढ्न पाइने भयो,' खरेलले भने,'फिल्ममा जीवन, जगतका विषय हुन्छन् । केयूजस्तो विश्वविद्यालयले फिल्म पढाउनु यो क्षेत्रलाई दिएको मान्यता नै हो ।' 

कान्तिपुर

Link copied successfully