साधारण पृष्ठभूमिबाट अन्तर्राष्ट्रिय स्तरमा नेपाली पहिचान बनाएका प्रशान्त तामाङको निधनले नेपाली चलचित्र, संगीत र संस्कृतिमा अपूरणीय क्षति पुगेको छ।
काठमाडौँ — नेपाली गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षको उमेरमा भएको असामयिक निधनप्रति चलचित्र विकास बोर्डले शोक व्यक्त गरेको छ ।
बोर्डले सोमबार जारी गरेको शोक विज्ञप्तिमा तामाङको निधनले सम्पूर्ण नेपाली कला, संगीत तथा चलचित्र क्षेत्र स्तब्ध र मर्माहत भएको उल्लेख छ ।
अध्यक्ष दिनेश डिसीद्वारा जारी विज्ञप्तिमा साधारण पृष्ठभूमिबाट संघर्ष गर्दै अन्तर्राष्ट्रिय मञ्चसम्म नेपाली पहिचान स्थापित गर्न सफल तामाङ नेपाली भाषी समुदायका लागि प्रेरणाको प्रतीक रहेको उल्लेख छ ।
‘गोर्खा पल्टन’, ‘आँगालो यो मायाको’, ‘किन मायामा’, ‘निशानी’, ‘परदेशी’, ‘परदेशी–२’ लगायतका चलचित्रमार्फत अभिनय तथा प्लेब्याक गायनमा प्रशान्तको महत्वपूर्ण योगदान छ । प्रशान्त भारतीय आइडल सिजन ३ का विजेता समेत हुन् ।
‘नेपाली भाषा प्रवर्द्धन, नेपाली संस्कृतिको प्रसार तथा नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने अभियानमा प्रशान्त तामाङको योगदान अतुलनीय र अविस्मरणीय रहनेछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘उहाँको स्वर, अभिनय र संघर्षपूर्ण जीवनकथा भावी पुस्ताका कलाकारहरूका लागि सधैं प्रेरणाको स्रोत बनिरहनेछ ।’
दार्जिलिङमा जन्मेका तामाङ पछिल्लो समय दिल्लीमा बस्दै आएका थिए । आइतबार बिहान उनको हृदयघातका कारण निधन भएको थियो ।
