वागडोग्रा विमानस्थलमा प्रशान्त तामाङको पार्थिव शरीर आइपुगेपछि सुरु भएको अन्त्येष्टि यात्रामा सहभागी हुन दार्जिलिङका लोकसभा सांसद राजु विष्ट लगायतका नेता तथा संगीतकर्मी दार्जिलिङ पुगेका छन् ।
विराटनगर — गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सोमबार जन्मस्थल दार्जिलिङ लगिएपछि उनलाई अन्तिम श्रद्धान्जलीका लागि राजनीतिकर्मीदेखि शुभेच्छुकहरूको भीड लागेको छ । उनको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धान्जलीका लागि दार्जिलिङको सूचना तथा संस्कृति विभागमा राखिएको छ ।
वागडोग्रा विमानस्थलमा प्रशान्त तामाङको पार्थिव शरीर आइपुगेपछि सुरु भएको अन्त्येष्टि यात्रामा सहभागी हुन दार्जिलिङका लोकसभा सांसद राजु विष्ट लगायतका नेता तथा संगीतकर्मी दार्जिलिङ पुगेका छन् ।
तामाङलाई ‘गोर्खा युवाको प्रतीक’का रूपमा स्मरण गर्दै सांसद विष्टले उनको सुमधुर स्वर, नम्रता र सरलताले विश्वभरका श्रोताको मन जितेको बताए । दार्जिलिङका पहाडबाट उदाएर प्रशान्तले गोर्खा समुदायका आशा र आकांक्षालाई विश्व मञ्चसम्म पुर्याएको र यस क्षेत्रका लागि अपार गौरवको विषय बनेको उनको भनाइ थियो ।
तस्बिरहरू : सिक्किम मेसेन्जर
यसैबीच, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल एक्समार्फत दिवंगत गायक तामाङप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘इन्डियन आइडलबाट चर्चित, राष्ट्रिय ख्यातिप्राप्त कलाकार प्रशान्त तामाङको अचानक र असामयिक निधनले दुःखी बनाएको छ । दार्जिलिङ पहाडसँग उनको गहिरो नाता र एक समय कोलकाता प्रहरीसँगको सम्बन्धका कारण उनी बंगालभर हामी सबैका प्रिय थिए । उनका परिवार, साथीभाइ र असंख्य प्रशंसकप्रति म हार्दिक समवेदना व्यक्त गर्दछु ।’
