टिकट काटेर सुन्दै आएका गायकलाई लेकसाइडको खुला कन्सर्टमा भेट्दा दर्शकसमेत आश्चर्यचकित देखिन्थे । गायक शिव परियारले रेडियो कान्तिपुर आफ्नो परिवारजस्तै भएको भन्दै ‘रेडियो अन ह्विल्स’ मा सहभागी हुन पाउँदा खुसी लागेको बताए ।
What you should know
पोखरा — फेवा किनारमा भ्यानको पछाडिपट्टि सजाइएको मञ्चमा जब गायक शिव परियार झुल्किए, तब दर्शकले ‘हुटिङ’ सुरु गरे । दुई दशकभन्दा बढी संगीत क्षेत्रमा बिताएका उनले शुक्रबार पोखराको हल्लनचोकमा आफ्नो संगीत जीवनको सुरुआती समय सम्झिए ।
एक्स्ट्रिम इनर्जी मुख्य प्रायोजक रहेको रेडियो कान्तिपुरको रोड शो ‘रेडियो अन ह्विल्स’मा उनले व्यावसायिक रूपमा सफल भएको पहिलो गीत गाए– ‘फेवातालमा साइँली डुंगा सलल...।’
फेवातालसँग जोडिएको गीत आफ्ना लागि वरदान साबित भएको उनले बताए । ‘२१ वर्ष भएछ यो गीत सार्वजनिक भएको,’ उनले भने, ‘यो गीत आएपछि मैले पछाडि फर्किएर हेर्नुपरेको छैन ।’
कार्यक्रममा उनले ‘धोकेबाज हौ तिमी...’ बाट आफ्नो प्रस्तुति सुरु गरे । त्यसपछि ‘सुन्छु तिमीले मलाई...’, ‘पाकेर खाको फल मीठो...’, ‘फेवातालमा साइँली...’ र अन्त्यमा ‘पिउँदिन भन्दाभन्दै...’ गाए । उनको गीतमा झुमेका दर्शकले ‘वान्स मोर’ भनेपछि उनले ‘पिउँदिन भन्दा भन्दै...’ दोहोर्याएर गाए ।
टिकट काटेर सुन्दै आएका गायकलाई लेकसाइडको खुला कन्सर्टमा भेट्दा दर्शकसमेत आश्चर्यचकित देखिन्थे । परियारले रेडियो कान्तिपुर आफ्नो परिवारजस्तै भएको भन्दै ‘रेडियो अन ह्विल्स’ मा सहभागी हुन पाउँदा खुसी लागेको बताए ।
अर्का गायक विश्व नेपालीले पनि दर्शकलाई उत्तिकै नचाए । उनले गाएको ‘मीठो साह्रै मीठो...’, ‘परान, परान...’, ‘कवि देवकोटा...’ र ‘भन के छ बन्दोबस्त...’ मा दर्शक रमाए । हास्य कलाकार राजा राजेन्द्र पोखरेल, डान्स च्याम्पियन नेपाली विजेता वर्षा फुयाल तथा सिजन–१ की विजेता रोशिका राउतको प्रस्तुतिले रोड शोलाई रोचक बनाएको थियो ।
यसअघि शुक्रबार नै ढुंगेपाटनमा रहेको पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा पनि मिनी रोड शो आयोजना गरिएको थियो । विश्वविद्यालयमा रोडियो कान्तिपुरका कार्यक्रम प्रस्तोता महिमा भट्टराई र प्रज्ज्वल खड्काले विद्यार्थीसँग अन्तरक्रिया गरेका थिए ।
पूर्णबहादुरले जिते विश्वकप प्याकेज
एक्सिट्रम इनजी तथा म्याक्स टाइगर इनर्जी ड्रिंक्सले रेडियो अन ह्विल्समा प्रदान गर्ने टी–२० विश्वकपको टिकटसहितको आकर्षक प्याकेज पोखरा आलुमाइला चोक बस्ने पूर्णबहादुर गुरुङले जितेका छन् ।
हल्लनचोकको रोड शोमा सहभागी भएका उनले लक्की ड्रमार्फत उक्त प्याकेज जितेका हुन् । उनले आगामी फेब्रुअरी–मार्चमा हुने टी–२० क्रिकेट विश्वकपको टिकटसहित ४ रात ५ दिनको विशेष प्याकेज र दुईतर्फी यातायात सुविधा पाउनेछन् । कार्यक्रम हुने १५ वटै स्थानामा एक्स्ट्रिम वा म्याक्स टाइगर इनर्जी ड्रिंक्स खरिद गर्ने सहभागीको नाम र नम्बर लक्की ड्रमा समावेश गरिने आयोजकले जनाएको छ ।
यसअघि धनगढी, सुर्खेत, नेपालगन्ज र बुटवलमा एक–एक जनाले उक्त प्याकेज जितिसकेका छन् । रोड शो पोखरापछि चितवनको नारायणगढ, हेटौंडा, बर्दिबास, गाईघाट हुँदै पूर्वतिर प्रस्थान गर्नेछ । कार्यक्रमको ‘टाइटल स्पोन्सर’ एक्स्ट्रिम इनर्जी ड्रिंक्स छ भने नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र टीभीएस रेडको पनि साथ छ ।
इन्टरनेट पार्टनरमा वाईफाई नेपाल, स्न्याक्स पार्टनरमा रिजाल्स नमकिन, लुब्रिकेन्ट पार्टनरमा सर्वो, फर्निचर पार्टनरमा सोफा हब काठमाडौं र बन्डिङ पार्टनरमा राठीकोल रहेका छन् । कार्यक्रम व्यवस्थापनको जिम्मा इभेन्ट नेपालले लिएको छ ।
