मद्रास उच्च अदालतको आदेशपछि चलचित्र प्रमाणीकरण बोर्डले ‘जना नायकन’ लाई ‘यूए’ प्रमाणपत्र दिने निर्णय गरेको छ, जसले फिल्मको प्रदर्शनमा देखिएको विवाद अन्त्य गरेको हो।
What you should know
काठमाडौँ — मद्रास उच्च अदालतको आदेशपछि अभिनेता थलपति विजय अभिनीत फिल्म ‘जना नायकन’ को प्रदर्शनमा देखिएको सेन्सर विवाद टुंगिएको छ ।
भारतको केन्द्रीय चलचित्र प्रमाणीकरण बोर्ड (सीबीएफसी)बाट समयमै प्रमाणपत्र नपाउँदा रोकिएको फिल्म अब बिना थप अवरोध रिलिज हुने बाटो खुलेको छ ।
फिल्म ९ जनवरीमा सिनेमाघरमा रिलिज हुने तयारीमा थियो । तर सीबीएफसीले प्रमाणपत्र दिन ढिलाइ गरेपछि निर्माताले मद्रास उच्च अदालतमा रिट दायर गरेका थिए । याचिकामा कुनै ठोस कारणबिना सर्टिफिकेसन रोकिँदा ठूलो आर्थिक क्षति हुन सक्ने उल्लेख गरिएको थियो ।
उक्त मुद्दामा सुनुवाइ गर्दै उच्च अदालतले फिल्म निर्माताको पक्षमा फैसला सुनाएको हो । अदालतले सीबीएफसी अध्यक्षलाई फिल्म पुनरावलोकन समितिमा पठाउने अधिकार नभएको ठहर गर्दै ६ जनवरीमा जारी गरिएको सर्टिफिकेट ढिलाइसम्बन्धी पत्र खारेज गरिदिएको छ । साथै, बोर्डलाई तत्काल फिल्मको प्रमाणपत्र जारी गर्न निर्देशन दिएको छ ।
अदालतको आदेशपछि ‘जना नायकन’ लाई ‘यूए’ प्रमाणपत्र दिने निर्णय गरिएको छ । सीबीएफसीको बैठकमा रिभ्यु कमिटी र सल्लाहकार प्यानलले उठाएका आपत्तिमाथि छलफलपछि यूए सर्टिफिकेट दिने सहमति बनेको हो ।
अदालतले फिल्मविरुद्ध दायर गरिएको उजुरी योजनाबद्ध देखिएको टिप्पणी गर्दै यस्ता उजुरीलाई महत्व दिनु खतरनाक प्रवृत्ति बन्न सक्ने चेतावनी दिएको छ । यससँगै ‘जना नायकन’ वरिपरि रहेको सेन्सर विवाद पूर्ण रूपमा समाप्त भएको छ ।
यस फैसलापछि फिल्मको रिलिजको बाटो पूर्ण रूपमा खुलेको छ । ‘जना नायकन’ फिल्म केभीएन प्रोडक्सन्सका तर्फबाट वेंकट के. नारायणले निर्माण गरेका हुन् ।
