भाइरल पनि भन्न नआउने, भाइरस–भाइरस भन्ने एक पात्र भाइरल हुँदासम्मको यात्रामा फिल्म केन्द्रित छ ।
What you should know
काठमाडौँ — माघ १ गते नेपालभर प्रदर्शन हुँदै छ फिल्म ‘भाइरल गोर्खे’ । यसको विषय सामाजिक सञ्जालसँग केन्द्रित छ ।
अभिनेता सौगात मल्लले सामाजिक सञ्जालको बढ्दो दबदबाबीच विश्वभर ‘भाइरल’ बन्ने ध्याउन्नमा रहेकालाई चलचित्रले मनोरञ्जनसँगै सन्देश पनि दिने बताएका छन् ।
'चलचित्रको विषयवस्तु केवल ‘टिकटक’सँग जोडिएको भए सायद म अभिनय गर्थिन होला, तर त्यहाँ समाज र परिवेश जोडिएको छ । एउटा सामान्य व्यक्तिको भाइरल हुने लालस र त्यसले निम्त्याउने आरोहअवरोह चलचित्रमा समेटिएको छ,' उनले भने, 'भाइरल हुन जति मेहनत गर्नुपर्छ, त्यति नै त्यहाँ टिकिरहन मेहनत गर्नुपर्छ । विद्यमान परिवेशमा दर्शकलाई आकर्षित गर्न चलचित्र सफल हुनेछ ।'
‘भाइरल गोर्खे’ को पटकथा पढेपछि मनोरञ्जन प्रदान गर्ने समयसान्दर्भिक विषयवस्तु समेटिएको पाएर नै प्रस्ताव स्वीकार गरी फिल्ममा जोडिएको उनले बताउनुभयो ।
'भाइरल पनि भन्न नआउने, भाइरस–भाइरस भन्ने एक पात्र भाइरल हुँदासम्मको उसको यात्रा हो । त्यसपछि पनि दर्शकलाई मजा आउँछ, मन छुने खालको छ । यसले अहिलेको केही प्रवृतिलाई व्यङ्ग्य पनि गरेको छ,' अभिनेता मल्लले भने ।
अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठले अभिनय गर्ने प्रस्ताव आएपछि पटकथा पढ्दा नै यो विषय किन सोचिएन भन्ने लागेको प्रतिक्रिया दिइन् । 'सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक प्रभाव, भाइरल हुन मानिसले के–के गर्छ भन्ने विषयवस्तु कथामा समेटिएका छन् । समय सान्दर्भिक छ, सबै कुरालाई व्याङ्ग्यात्मक रुपमा देखाइएको छ,' उनले भनिन् ।
निगम श्रेष्ठको निर्देशनमा तयार भएको फिल्ममा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, पत्रकार ऋषि धमलालगायतले अभिनय गरेका छन् ।
