रत्यौली गीत प्रतियोगितामा गोरखकाली महिला नौमती बाजा समूह पहिलो

गोरखा महोत्सवमा आयोजित रत्यौली गीत प्रतियोगितामा १२ समूह सहभागी हुँदा गोरखकाली महिला नौमती बाजा समूहले पहिलो स्थानसहित १५ हजार रुपैयाँ जितेको छ।

पुस २३, २०८२

हरिराम उप्रेती

Gorakhkali women's Naumati Baja group wins first place in Ratauli song competition

गोरखा — गोरखा उद्योग वाणिज्य संघको आयोजना हरमटारी खेलकुद मैदानमा भएको रत्यौली गीत प्रतियोगितामा गोरखा नगरपालिका–९ को गोरखकाली महिला नौमती बाजा समूह पहिलो बनेको छ।

पहिलो बनेको गोरखकाली महिला नौमती बाजा समूहलाई नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको महोत्सवका खेलकुद तथा प्रतियोगिता व्यवस्थापन समितिका संयोजक शरण श्रेष्ठले बताए।

त्यस्तै, गोरखा–६ को रमाइलो दिदी–बहिनी महिला समूह हरमटारी दोस्रो र गोरखा–३ को प्रगतिशील कृषि महिला समूह नारेश्वर तेस्रो बनेको छ। दोस्रो र तेस्रो बनेकाले क्रमशः १० हजार र ५ हजार नगद पुरस्कार पाएका छन्। प्रतियोगितामा १२ समूहको सहभागिता रहेको थियो। महोत्सवमा रत्यौली गीत प्रतियोगिता आकर्षणको केन्द्र बन्यो।

रत्यौली गीतलाई प्रतिस्पर्धात्मक तवरले सञ्चालन गर्दा यसको महत्त्व अझै बढेको लोक दोहोरीका सर्जक काजीबाबु अर्याल बताउँछन्।

‘पहिले–पहिले दुई दिने, तीन दिने विवाह हुन्थ्यो, दुलाहा अन्माएर गएपछि रातिको समयमा ठट्यौली पाराले गीत गाइने भएकाले रत्यौली भनिएको हो,’ उनले भने, ‘अहिले एक दिने विवाह भए पनि यो प्रचलन हटेको छैन, यो हाम्रो निकै पुरानो लोक संस्कृति हो।’

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully