श्रोता भेट्ने यात्रामा ‘रेडियो अन ह्विल्स’

१४ सहर घुमिसकेपछि ८ माघमा काठमाडौंमा कार्यक्रम गर्दै यात्राले विश्राम लिनेछ । पूर्वको बिर्तामोडदेखि फश्चिमको धनगढीसम्म आयोजना हुने यो कार्यक्रममा विशेष त मनोरञ्जनात्मक गतिविधि नै हुने गर्छ ।

पुस २०, २०८२

कान्तिपुर संवाददाता

'Radio on Wheels' on a journey to meet listeners

What you should know

काठमाडौँ — रेडियोका श्रोतासँग सम्बन्ध विस्तार गर्ने अनि उनीहरूको पहुँचमा पुग्ने उद्देश्यले रेडियो कान्तिपुरले १० वर्षअघि ‘रेडियो अन ह्विल्स’ शीर्षकमा रोड शो सुरु गर्‍यो ।

त्यति बेला विरलै हुन्थ्यो, सडकमा यस किसिमको कार्यक्रम । रेडियोको फ्रिक्वेन्सी नपुग्ने ठाउँका श्रोतालाई प्रत्यक्ष भेट्दै अन्तरक्रिया गर्ने लक्ष्य बोकेर संविधान जारी भएपछि रेडियोले यस्तो यात्रा थालेको हो ।

अहिले, सातौं संस्करणको यात्रा सुरु भएको छ । कोभिडले केही वर्ष यात्रा गर्न नदिए पनि अहिले थप जोस र उत्साह बोकेर कान्तिपुर रेडियो श्रोता भेट्न सहर–सहर पुग्दै छ । नेपालगन्जको बीपी चोकबाट गत शनिबार सुरु भएको यो यात्रा धनगढी पुगिसक्यो । सोमबार सुर्खेत पुग्दै छ ।

यसरी १४ सहर घुमिसकेपछि ८ माघमा काठमाडौंमा कार्यक्रम गर्दै यात्राले विश्राम लिनेछ । पूर्वको बिर्तामोडदेखि फश्चिमको धनगढीसम्म आयोजना हुने यो कार्यक्रममा विशेष त मनोरञ्जनात्मक गतिविधि नै हुने गर्छ ।

यस्तै रमाइलो कार्यत्रम बोकेर प्रस्तोताद्वय महिमा भट्टराई र प्रज्वल खड्का सहर–सहर घुम्दै छन् । यस वर्ष ‘रेडियो अन ह्विल्स’ लाई एक्स्ट्रिम इनर्जी ड्रिंकले प्रायोजन गरेको रेडियो कान्तिपुरका स्टेसन म्यानेजर पवन आचार्यले जनाए ।

प्रस्तोताहरू महिमा र प्रज्वलले हेटौंडासम्म यो कार्यक्रमलाई पुर्‍याउनेछन् । त्यसपछि महेश लिम्बू र इस्मिता राणा पुग्नेछन् अर्को सहर । उनीहरूलाई साथ दिन कमेडियन राजा राजेन्द्र पोख्रेल, गायक विश्व नेपाली हुनेछन् । गायक शिव परियारले यो समूहलाई पोखराबाट साथ दिने पवनले जनाए ।

उनीहरूसँगै विभिन्न सहरका गायक–गायिकाले पनि एउटै मञ्चमा प्रस्तुति दिने कार्यक्रम तालिका छ । वीरगन्जमा भोजपुरी गायक सुनील पण्डित नै आउँदै छन् । जनकपुर र लहानका लागि मैथली र्‍यापरको समूह ‘मनिया’ लाई बोलाउने प्रयास भइरहेको पवन सुनाउँछन् ।

पवनका अनुसार डेढ घण्टा लामो यो कार्यक्रममा सुरुमा स्वागत नृत्य गरिन्छ । प्रश्नहरू राखेर पुरस्कार बाँड्दै दर्शक/श्रोता आकर्षित गरिन्छ । त्यसपछि गोलाप्रथामार्फत विजेता हुने एक्स्ट्रिम इनर्जी ड्रिंक वा म्याक्स टाइगर इनर्जी ड्रिंक्सले टी–२० विश्वकपको टिकट बाँड्छन् । हरेक सहरमा एक जना विजेताले यो टिकट पाउँछन् ।

‘यो खासमा सडक महोत्सवजस्तै हो । रेडियो नसुन्ने ठाउँमा पनि हाम्रो उपस्थिति पुग्नुपर्छ भनेर हामीले सुरु गरेका थियौं,’ पवन कार्यक्रमको उद्देश्य सुनाउँछन्, ‘तर, अहिले कार्यक्रमको केही स्वरूप बदलिएको छ ।’ यसअघि चैततिर आयोजना गरिने कार्यक्रम यस पटक चाँडै गर्दा चिसोले सताएको छ । तर, यही चिसोबीच पनि माहोल गर्माउने कार्यक्रम बोकेर समूह सहर–सहर घुमिरहेको पवनले जनाए ।

यो कार्यक्रम लिएर हरेक वर्ष विभिन्न सहर पुगिरहँदा फरक अनुभव हुने गरेको प्रस्तोता महिमा सुनाउँछिन् । ‘अहिलेसम्म दुई सहरमा हामीले कार्यक्रम गर्‍यौं । एकदम राम्रो अनुभव भयो । नेपालगन्जको भीड असाध्यै राम्रो थियो । धनगढीमा पनि उस्तै उत्साह पायौं,’ महिमाले भनिन् ।

अहिले महिमा र प्रज्वलसहित समूहमा १७ जना छन् । विश्व नेपाली र राजा राजेन्द्रले दुई सहरमा प्रस्तुति दिँदै आएका छन् । डान्स च्याम्पियन नेपालका दुई जना विजेताले नृत्य प्रस्तुति दिँदै गर्दा महिमाको समूहले ‘लक्की ड्र’ छान्दै आएको छ । फ्रेब्रुअरी ८ तारिखमा मुम्बईमा हुने विश्वकप हेर्न दिइने टिकटकै कारण हरेक सहरमा कार्यक्रमले ध्यान तान्दै आएको महिमा सुनाउँछिन् ।

‘रेडियो अन ह्विल्स’ ले अब सुर्खेतपछि बुटवल, पोखरा, नारायणगढ, हेटौंडा, वीरगन्ज, जनकपुर, लहान, इटहरी, बिर्तामोड र धरानको यात्रा गर्ने रेडियो कान्तिपुरले बताएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully