विजय अभिनीत फिल्म ‘जन नायकन’ को ट्रेलरमा एआई लोगो देखिएपछि निर्माण टिमले सामाजिक सञ्जालमा आलोचना खेपिरहेको छ ।
काठमाडौँ — साउथ सुपरस्टार थलपति विजय अभिनीत आगामी तमिल फिल्म ‘जन नायकन’को ट्रेलर हालै सार्वजनिक भयो ।
अहिले ट्रेलरलाई लिएर फिल्मको व्यापक आलोचना भइरहेको छ ।
ट्रेलरको एक दृश्यमा बन्दुक लोड हुँदै गर्दा स्क्रिनमा गुगल जिमिनाई (एआई) को लोगो देखिएको थियो । यही कुराले सामाजिक सञ्जालमा फिल्मले आलोचना खेपिरहेको छ ।
९ जनवरीमा रिलिज हुँदै यो फिल्मलाई लिएर एक प्रयोगकर्ताले दर्शकको अपमान भएको टिप्पणी गरे । ‘रिमेक फिल्मका लागि पनि जिमिनाई प्रयोग?’ अर्को प्रयोगकर्ताले प्रश्न गरेका छन् । कसैले भने ‘४०० करोडको बजेट, तर यस्तो गल्ती?’ भन्दै आलोचना गरेका छन् ।
विवाद चर्किएपछि निर्माण टिमले गुगल जिमिनाईको लोगो हटाएर सम्पादन गरेको छ । अहिले आधिकारिक ट्रेलरमा उक्त लोगो देखिँदैन । यद्यपि, लोगो देखिएको पुरानो क्लिप अझै पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
यस विषयमा फिल्मका निर्माताहरूले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। ‘जन नायकन’ विजयको करियरकै प्रतीक्षित फिल्ममध्ये एक मानिएको छ ।
