‘द केरल स्टोरी’को सिक्वेल आउँदै

विवादित फिल्म ‘द केरल स्टोरी’ ले भारत र विश्वमै राम्रो व्यापार गरेपछि यसको सिक्वेल २०२६ मा रिलिज गर्ने तयारीमा निर्माण टिम जुटेको छ ।

पुस १६, २०८२

कान्तिपुर संवाददाता

Sequel to 'The Kerala Story' coming soon

काठमाडौँ — बलिउडमा विवादित विषयवस्तुमाथि बनेका फिल्महरू मध्ये एक मानिने विपुल अमृतलाल शाहको फिल्म ‘द केरल स्टोरी’ को  सिक्वेल आउने भएको छ । 

सन् २०२३ मा प्रदर्शन भएको उक्त फिल्म ‘लभ जिहाद’ विषयसँग जोडिएपछि निकै विवादमा परेको थियो । 

अब त्यसैको सिक्वेल ‘द केरल स्टोरी २’ सन् २०२६ मा प्रदर्शन हुने तयारीमा रहेको छ । बलिउड सन्चारमाध्यममा प्रकाशित समाचारअनुसार फिल्मको छायांकन केरलमै सम्पन्न भइसकेको छ ।

रिपोर्टका अनुसार दोस्रो भागको कथा अझै डार्क हुने बताइएको छ । फिल्मका निर्देशक र कलाकारबारे भने हालसम्म आधिकारिक रूपमा खुलासा गरिएको छैन ।

छायांकनस्थलमा कडा सुरक्षा व्यवस्था गरिएको थियो भने सामग्री चुहावट रोक्न ‘नो–फोन पोलिसी’ लागू गरिएको थियो ।

कलाकार र प्राविधिक टोलीका सदस्यहरूलाई छायांकन अवधिभर मोबाइल फोन प्रयोग गर्न नदिइएको जनाइएको छ।

फिल्म आगामी २७ फेब्रुअरी २०२६ मा प्रदर्शनमा ल्याइने तयारी गरिएको छ ।‘द केरल स्टोरी’ करिब २० करोड रुपैयाँ बजेटमा बनेको थियो ।

फिल्मले भारतमा मात्र २४२.२० करोड रुपैयाँको व्यापार गरेको थियो भने विश्वव्यापी रूपमा ३०३.९७ करोड रुपैयाँ व्यापार गरेको थियो । 

कान्तिपुर

Link copied successfully