गीतको शब्द रचना नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले गरेका हुन् । त्यस्तै मनराजा नकर्मीले संगीत संयोजन गरेका छन् ।
What you should know
काठमाडौँ — रक्तदान एवं रक्तदान जागरण गीतहरूको संग्रह 'सांगीतिक माहोलमा गरौं रक्तदान !' लोकार्पण गरिएको छ ।
प्रेमपूर्ण सानुमैञा असहाय सेवा कोषको सहयोग एवं इभेन्ट सोलुसनको व्यवस्थापनमा नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगर समितिद्वारा प्रस्तुत ६ वटा गीतहरुको भिक्षु कोण्डन्य महास्थविर, प्रेमपूर्ण सानुमैया असहाय सेवा कोषकी संरक्षक सानुमैञा कर्माचार्य, भिक्षु नागित, सुध्दिको, बुध्ददत्त र श्रद्धाचारी गुरूमाँले सामूहिक रुपमा सार्वजनिक गरेका हुन् ।
गीतको शब्द रचना नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले गरेका हुन् । त्यस्तै मनराजा नकर्मीले संगीत संयोजन गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि बौद्ध भिक्षु कौडिन्य महाअवहस्तवीरले १८ वर्षमा प्रवेश गरेकी निर्जला दुलाललाई रक्त संकलन थैली हस्तान्तरण गर्दै कार्यक्रम शुभारम्भ गरे । सो अवसरमा उनले बुद्धका शिक्षामा त्याग र दानको महत्व उल्लेख गर्दै भने, 'दान भन्नासाथ सम्पत्ति मात्र होइन, कसैलाई केही नभनी आफूसँग भएको रगत दान गरेर जीवनदान गर्नु सबैभन्दा महान् त्याग हो ।'
वरिष्ठ संगीतकार मनराजा नकर्मीले रक्तदान जस्तो पवित्र र मानवीय कार्यका लागि संगीत दिन पाउनु आफ्नो जीवनकै अहोभाग्य भएको बताए ।
गीतहरुका रचनाकार एवं नेपालका सर्वाधिक शतक रक्तदाता प्रेमसागर कर्माचार्यले गीतसंगीतमा रचनाकार, संगीतकार सँधै ओझेलमा परिरहेको उल्लेख गर्दै रचनाकार भनेको संगीतको मूल आधारको भाव झल्काउने पात्र भएको बताए । उनले पहिलो पटक रक्तदान जागरण गीत 'रक्तदान गरी गरौं जीवनदान…' बोलको रक्तदान जागरण गीत ल्याएका थिए । जसमा संगीत र स्वर वरिष्ठ संगीतकार रामेश श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा आफ्नो १८औं वर्षको जन्मदिनको उपलक्ष्यमा रक्तदान गर्ने स्वयंसेवी रक्तदाता निर्जलालाई प्रमुख अतिथि महास्थविरले शुभकामनापत्र हस्तान्तरण गरे । त्यस्तै रचनाकार कर्माचार्य तथा संगीतकार नकर्मीलगायत रक्तदान जागरण गीतमा योगदान पुर्याएका कलाकारहरूलाई प्रमुख अतिथि भिक्षु कौडिन्य महाअवहस्तवीरले कदरपत्रबाट सम्मान गरेका थिए ।
उक्त अवसरमा रक्तदान गर्ने सबैलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागरले प्रशंसापत्र वितरण गरेका थिए ।
