गीतमा लोकगायक पंगेनी र गायिका ज्योति मगरको आवाज रहेको छ ।
What you should know
पाल्पा — लोक तथा दोहोरी गायक बद्री पंगेनीले बाहुन र मगर समुदायका युवकयुवतीबीचको माया पिरतीमा आधारित ‘झ्याप्पै’ बोलको गीत सार्वजनिक गरेका छन् ।
‘यो गीतमा ब्राह्मण समुदायका युवक र मगर समुदायकी युवतीबीचको माया–प्रेमलाई दर्शाइएको छ,’ लोकगायक पंगेनीले भने, ‘यससँगै गीतमा पाल्पाको रामपुर नगरपालिका र निस्दी गाउँपालिकाका पर्यटकीय स्थललाई समेटेका छौं ।’ पंगेनीको जन्मघर पाल्पाको रामपुर हो ।
गीतमा लोकगायक पंगेनी र गायिका ज्योति मगरको आवाज रहेको छ । पंगेनीले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन् । गीतको शब्द संकलन नारायण ज्ञवालीको छ । संगीत भने गायक पंगेनीले नै भरेका छन् । गीतको म्युजिक भिडियोमा सुरेश कोहली, आरुशी मगरसँगै मिन सोमै मगर, हरि खनाल लगायतको अभिनय छ ।
प्रिज्म स्टुडियोबाट रेकर्ड गरिएको गीतको म्युजिक भिडियो निर्देशन गायक पंगेनीले नै गरेका छन् । गीतको एरेन्ज श्यामश्वत रसाइली र कोरियोग्राफी अवि वाग्लेले गरेका छन् । गायक पंगेनीले गीत, संगीतको निरन्तरता स्वरुप नयाँ गीत सार्वजनिक गरेको बताए ।
निस्दी गाउँपालिका र रामपुर नगरपालिका क्षेत्रको पर्यटकीय स्थलहरूको प्रवर्द्धनका लागि नयाँ ठाउँमा पुगेर भिडियो छायांकन गरिएको उनले बताए । गीतको भिडियोले पाल्पाको निस्दी गाउँपालिकाको झिरुवासस्थित काउले डाँडा, खादरका साथै गल्धाको पिपलभन्ज्याङ र रामपुर नगरपालिकाको तातोपानी, नगर गौशाखाला, कठान, राम मन्दिर लगायतका स्थानलाई समेटेको छ ।
‘मौलिकपन र यथार्थता पस्कने प्रयास गरेको हुँ,’ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष समेत रहेका उनले भने, ‘गीत संगीतसँगै पर्यटकीय स्थलको पनि प्रचार गर्ने योजना बुनेर दुर्गम गाउँ पुगेको हो ।’
