‘शिरजरा’मार्फत् फिल्म निर्देशनमा डेब्यू गर्दै विकास सुवेदी

‘शिरजरा’ फिल्म नेपाल, अमेरिका र पोल्याण्डको सहकार्यमा निर्माण हुँदैछ, जसको छायांकन २०२६ फेब्रुअरीदेखि सुरु हुने तयारी भइरहेको छ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

Bikash Subedi makes his film directorial debut with 'Shirjara'

काठमाडौँ — लेखक विकास सुवेदीले अब फिल्म निर्देशनमा डेब्यू गर्न लागेका छन् । उनले नयाँ फिल्म शिरजरा : सङ्ग अफ ग्र्यान्डमदर’ निर्माण घोषणा गर्दै फिल्म निर्देशनमा पदार्पण गर्ने जानकारी गराएका हुन् ।

विकास ‘प्रकाश’, ‘पुजार सार्की’, ‘महाभोज’ र रिलिजको छेकोमा रहेको दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’का लेखक हुन् ।

सुवेदीका अनुसार ‘शिरजरा’ नेपाल, अमेरिका र पोल्याण्डको संयुक्त निर्माणमा बन्नेछ । नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्म्सले फिल्म निर्माणमा सहकार्य गर्ने भएका हुन् ।

फिल्मलाई सुवास भुषाल (नेपाल)ले निर्माण गर्नेछन् । सुवास संगीतकार तथा ‘पुजार सार्की’का निर्माता समेत हुन् । फिल्मको कार्यकारी निर्मातामा क्रिस बेरुटी (अमेरिका) छन् भने पोल्याण्डमा पोष्ट–प्रोडक्सनको काम हुने जनाइएको छ । फिल्मको हाल प्रि–प्रोडक्सनको काम भइरहेको छ ।

फिल्म २०२६ फेब्रुअरीदेखि छायाँकनमा जानेछ । यसअघि विकासले ‘यानीमाया’ निर्देशन गर्ने चर्चा थियो । तर यो फिल्मबाट उनले हात झिकेका थिए । उक्त फिल्म स्थगित गर्नुको कारण भने अझै खुलाइएको छैन ।

विकास आफूले धेरै अगाडिदेखि नै निर्देशनमा आउन तयारी गरिरहेको बताए । ‘अगाडिदेखि नै मैले तयारी गरिरहेको थिएँ । यसपालि आँट गरेँ । केही नयाँ र फरक कथा भन्नेछु,’ सुवेदी भन्छन् । 

कान्तिपुर

Link copied successfully