विप्सनका कलात्मक कामबाट युट्युबरदेखि कन्टेन्ट क्रिएटरसम्म प्रभावित छन् । गायकद्वय वाङदेन शेर्पा र सुशान्त घिमिरेको ‘जुन नहेरी’ भिडियोको थम्बनेल उनै विप्सनले कोरेका हुन् । दुई साताअघि रिलिज भएको र्यापर मिस्टर डिको ‘कलधारा’नै होस् वा कुशल पोखरेलको ‘पैसा’ । कुशल, मिस्टर डिहरू त विप्सनका नियमित ‘क्लाइन्ट’ हुन् । जो नयाँ कन्टेन्ट आउनासाथ विप्सनलाई सम्झिहाल्छन् ।
What you should know
काठमाडौँ — युट्युब कन्टेन्टभित्र पस्नुअघि प्रयोगकर्तालाई ‘क्लिक’ गर्न स्वस्फूर्त बाध्य पार्ने थम्बनेल कसरी आकर्षक बनाउने ? दाङका २० वर्षीय विप्सन नेपाली प्रत्येक दिन यही कुरा गम्छन् । मनमा सजाएका सुन्दर डिजाइन ल्यापटपमा उतार्छन् । अनि कन्टेन्टमा सौन्दर्य थपिदिन्छन् ।
उनका कलात्मक कामबाट युट्युबरदेखि कन्टेन्ट क्रिएटरसम्म प्रभावित छन् । गायकद्वय वाङदेन शेर्पा र सुशान्त घिमिरेको ‘जुन नहेरी’ भिडियोको थम्बनेल उनै विप्सनले कोरेका हुन् । दुई साताअघि रिलिज भएको र्यापर मिस्टर डिको ‘कलधारा’नै होस् वा कुशल पोखरेलको ‘पैसा’ । कुशल, मिस्टर डिहरू त विप्सनका नियमित ‘क्लाइन्ट’ हुन् । जो नयाँ कन्टेन्ट आउनासाथ विप्सनलाई सम्झिहाल्छन् ।
कुनै समय विप्सनलाई लाग्थ्यो, ‘काम र करिअरका लागि कि काठमाडौं जानुपर्छ कि विदेश ।’ तर इन्टरनेटले बदलेको दुनियाँमा उनी कतै जानु परेन । दाङमै बसेर उनी देशविदेशका काम गरिरहेका छन् । उनका प्रायः क्लाइन्ट कि काठमाडौंका छन्, कि नेपालबाहिरका । विदेशमा नेपाली गायकहरूको शो हुँदा उनी पोस्टर डिजाइन गर्छन् । उनीसँग बचेखुचेको समय भनेको बिहान कलेज र साँझ जिम जाँदामात्र हो । ‘त्यसबाहेक यति व्यस्त हुन्छु, बाहिर निस्कने फुर्सदै हुन्न,’ विप्सन भन्छन् ।
उनी कुशल र मिस्टर डीसँगै द नेपाली कमेन्ट, ह्वाइ सो अफेन्डेड, एल्लो बक्स, वान जिरो वान भाइनसलगायत ३० भन्दा बढी युट्युब च्यानलका लागि नियमित थम्बनेल डिजाइन गर्छन् । अहिलेसम्म विप्सनले ६० भन्दा बढी क्लाइन्टसँग काम गरिसकेका छन् । पार्ट टाइम उनी एउटा म्युजिक कम्पनीका लागि पनि काम गर्छन् । यी सबै गरेर विप्सनले जति पैसा कमाउँछन्, त्यो अनुभवले उनलाई भनिरहेको छ, ‘क्षमता छ भने कमाउनकै लागि बाहिर जानु नपर्ने रहेछ ।’ देउखुरीमा जन्मेका विप्सन अहिले घोराइमा डेरा लिएर बसेका छन् । अहिले सीएसआईटी पाँचौं सेमेस्टरमा अध्ययनरत छन् ।
उनको ‘वर्क स्टेसन’मा एउटा पुरानो ल्यापटप सधैं आँखाअगाडि हुन्छ । विप्सन देखाउँदै भन्छन्, ‘जति पुरानो भए पनि यो ल्यापटप सधैं आफ्नै अगाडि राख्छु ।’ त्यो विप्सनको बाको ल्यापटप हो । जुन ल्याटपबाट उनले आफ्नो कलायात्रा सुरु गरे । ६/७ कक्षामा पढ्थे विप्सन । उनी मोबाइलबाट फोटोहरू खिच्थे । फोनमै विभिन्न टुलहरूमार्फत् एडिट गर्थे । बाको ल्यापटपमा उनले फोटोसप देखे । ‘फिचरहरू त केही थिएन । तर पनि काम चलाउ रुपमा गर्थें,’ उनी सुनाउँछन् ।
युट्युबमा हेरेर उनले नयाँ कुराहरू सिक्थे । स्कुलबाट आएदेखि रातिसम्म उनको डिजाइन ल्यापटपभित्र चलिरहन्थ्यो । ती डिजाइन विप्सन फेसबुक र इन्स्टामा पोस्ट गर्थे । ‘अहिले पनि खोज्यो भने फेसबुक र इन्स्टामा ती डिजाइन भेटिन्छन्,’ विप्सन भन्छन् । कक्षाको अंक थपिएसँग समय बित्दै गए । उनी १२ कक्षामा पुगे । एक दिन उनको आँखा एउटा पोस्टमा पर्यो । त्यो पोस्टबारे सम्झना गर्दै विप्सन भन्छन्, ‘एक जना मान्छेले हातमा म्याकबुकको डब्बा छोपिरहेको थियो । त्यो पोस्ट एनईबीले हालेको थियो । त्यहाँ थम्बनेल बनाएर लाखौं कमाउने युवक भन्दै चर्चा गरिएको थियो । ती युवक निश्चल बन्नेत थिए । जो मैले पहिले नै चिनेका भाइ रहेछन् ।’
खासमा निश्चलले त्यसको तीन वर्षअघि विप्सनलाई डिजाइका टिप्स माग्ने रहेछन् । विप्सनले आफूले जानेका कुरा सिकाउँदा रहेछन् । ३ वर्षपछि त निश्चल यति व्यस्त भइसकेछन्, उनी देशबाहिरका पनि चर्चित युट्युबररूका थम्बनेल डिजाइन गर्न थालेका रहेछन् । फोटोमा देखिएको म्याकबुक निश्चललाई भारतका चर्चित युट्युबर ट्रिगड इन्सानले उपहार दिएका रहेछन् । ‘यसरी पनि त पैसा कमाउन सकिँदो रहेछ,’ त्यति बेला पहिलो पटक विप्सनले चाल पाए ।
विप्सनको छटपटी सुरु भयो । उनी पनि छुटेको रहरलाई निरन्तरता दिन चाहन्थे । सुरुमा उनले कुशल पोखरेलको पुरानो भिडियोको एउटा थम्बनेल बनाएर हेरे । त्यो थम्बनेल कुशललाई नै पठाए । निकै दिनसम्म कुशलले उनको मेसेज हेरेनन् । कुशलसँग राम्रो सम्बन्ध भएका जय खतिवडालाई मेसेजमार्फत् विप्सनले आग्रह गरे । जयले पनि कुशललाई अनुरोध गरे, ‘त्यो भाइलाई एकपल्ट चान्स दिऊँ ।’
त्यसपछि कुशल आफैंले विप्सनलाई मेसेज गरे । कुशलले ‘ट्य्रापपस्टार २’ ल्याउँदै थिए । त्यसमा थम्बनेल डिजाइनका लागि विप्सनलाई काम दिए । विप्सनको खुसीेले भुइँ छोड्यो । खुसी खुसीमै उनले पहिलो काम गरेर दिए । विप्सनको कुशल काम कुशललाई मनपर्यो । उनले पारिश्रमिकस्वरुप विप्सनलाई एक हजार दिए । त्यो एक हजार विप्सनको जीवनकै पहिलो कमाइ थियो । त्यसको दुई साताअघि उनले घरमा बाआमालाई कामको वर्णन गर्दै सुनाएका थिए, ‘यसरी पनि पैसा कमाउन सकिँदो रहेछ ।’ उनीहरूले पत्याएका थिएनन् । बरु उल्टै सम्झाएका थिए, ‘नचाहिने काम नगर । खुरुखुरु राम्रोसँग पढ ।’ त्यसकारण पहिलो कमाइको आधा हिस्सा उनले बाआमालाई छुट्याए । बाँकी पाँच सय साथीहरूलाई खाजा खुवाइदिए ।
स्नातक पढ्नुअघिसम्म विप्सनका सबै खर्च बा आमाले धान्थे । स्नातक भर्ना भएर पहिलो सेमेस्टरको पैसा बुझाएपछि बाले बाँकी शुल्क बुझाउन परेन । त्यसपछि त विप्सन आफैं राम्रो कमाउन थालिसकेका थिए । विप्सनले दोस्रो काम जेरी लिम्बुसँग गरे । तेस्रो साजन श्रेष्ठसँग । त्यसपछि त उनलाई कामको चाङ थपिन थाल्यो ।
दुई वर्षअघि वान एक्स बेटको प्रचार गरेको आरोपमा युट्युबर र कलाकार धमाधम पक्राउ पर्न थाले । त्यही डरले विप्सनका क्लाइन्ट पनि भूमिगत भए । त्यसपछि उनको काम ठप्पप्रायः भयो । उनी निराश भए । भौंतारिए । रफ्तारमा चलिरहेको काम अचानक रोकिँदाको दुःख उनी अहिले पनि सम्झिन्छन् । ‘त्यति बेला प्सल टु सकिएको थियो । सोचें, अब पढाइलाई नै ध्यान दिएर अगाडि बढाउँछु,’ विप्सन सुनाउँछन् । तर यो अवस्था धेरै दिन रहेन । दुई महिनापछि भूमिगत भएका उनका क्लाइन्ट क्रमशः फर्किन थाले । विप्सनको कामले पनि थप लय पकड्यो ।
विप्सनले स्कुल कलेजमा जे पढे, त्योभन्दा बढी त आफ्नो रहरले हिँडाएको बाटोबाट सिके । ‘कामको दौरान धेरै जानियो । जुन कुरा पढेर पनि कहिल्यै सिकिएन,’ विप्सन महसुस गर्छन्, ‘कुनै प्रोजक्टलाई नाइँ भनिनँ । जति अप्ठ्यारो हुँदा पनि सिक्दै गरेँ । राम्रो पनि भयो ।’
आफ्नो कामको मूल्य कति ? पहिला पहिला विप्सनलाई तोक्न गाह्रो लाग्थ्यो । अहिले उनले कामको मूल्य आफैंले तोकेका छन् । अरुभन्दा म्युजिक भिडियोको काममा उनको ‘रेट’ बढी हुन्छ । धेरै व्यस्त हुँदा, उनी फ्रिल्यान्सर साथीहरूलाई काम बाँड्छन् । प्रत्येक दिन नयाँ सिकाइ र आशाहरूकै कारण विप्सनले यही काममा आफ्नो भविष्य कल्पेका छन् । ‘म एक्लै नभई दुईचार जना डिजाइनर थपेर कम्पनीमार्फत जाने सोचेको छु । भविष्यमा फिल्महरूको प्रोजेक्ट पनि लिने योजनामा छु,’ विप्सन निर्धक्क सुनाउँछन् ।
