जेन-जी आन्दोलन र सामाजिक सञ्जाल विवादपश्चात पटक–पटक मिति सारिँदै आएको ‘अभिमन्यु: च्याप्टर वान’ हलमा प्रदर्शनरत छ । फिल्म एक अर्थमा दाइजो प्रथाविरुद्ध उभिए पनि अन्तिममा भने कता-कता रुमल्लिएको छ ।
काठमाडौँ — 'महाभारत'मा अभिमन्यु जस्तो चक्रव्युहमा पर्छन्, त्यो भन्दा कम छैन फिल्म 'अभिमन्यु: च्याप्टर वान'ले सामना गरेको लडाइँ ! कुनै फिल्मलाई हलसम्म प्रदर्शनमा ल्याउनु नेपाली फिल्मकर्मीका लागि युद्ध मैदानमा होमिनु बराबर नै हो ।
वर्षौं लगाएर बनाएको फिल्मलाई हलसम्म पुर्याउनु, प्रदर्शनका विभिन्न झन्झटिला चरण पार गर्दै लक्षित दर्शकलाई हलसम्म डोर्याउनु, युद्ध मैदानमा होमिनु भन्दा फरक कहाँ हो र ? त्यसमाथि ‘अभिमन्यु’ प्रदर्शन हुनु ३ दिनअघि देशमा जेन-जी आन्दोलन भयो । त्यसअघि सामाजिक सञ्जालमाथिको प्रतिरोधले सिर्जना गरेको परिस्थिति यो फिल्मले सामना गर्नुपर्यो । जेन-जी आन्दोलन र त्यसपछाडिका घटनाक्रमले ‘अभिमन्यु’ तोकिएको मितिमा हलमा आएन । थुप्रै पटक प्रदर्शन मिति हेरफेर गरिएको यो फिल्मले बल्ल हलसम्मको यात्रा गरेको छ । गत शुक्रबारदेखि फिल्म हलमा लागिसक्यो ।
आउनुस्, अब फिल्मभित्रको अभिमन्युको चर्चा गरौं । दाइजो माग्नेलाई हतियार प्रहार गरेर जेलसम्म पुग्नसक्ने पात्र अभिमन्यु(कामेश्वर चौरसिया) बाट फिल्मको कथा अगाडि बढाइएको छ । यो फिल्मको कथा जेलबाट बाहिरिएर पैसा र नक्कली अपहरणको चक्रव्युहमा पर्ने उनै अभिमन्युको हो । जो, आफ्नो गरिबीबीच बाँच्ने संघर्ष गरिरहँदा ५ करोड कमाउने लोभमा नक्कली अपहरणको फन्दामा फस्छन् । तर, फिल्मको कथा अभिमन्युको मात्रै होइन । उनीसँग ठोक्किन आइपुग्ने तीन महिला पात्रको कथा पनि हो यो । यी तीन पात्र अभिमन्युसँग किन ठोक्किन आइपुग्छन् ? 'अभिमन्यु : च्याप्टर वान'ले खोल्दै जाने रहस्यको मज्जा लिन फिल्म नै हेर्नुपर्ने हुन्छ ।
सुशान्त गौतमको डेब्यू निर्देशनमा बनेको यो 'क्राइम'/'ड्रामा' विधाको फिल्मले दर्शक बाँध्ने कथा वाचन पक्रेको छ । संगीतकार हुँदै फिल्म निर्देशनमा होमिएका निर्देशक गौतमले इमान्दार भएर फिल्मको कथा पस्केका छन् । दाइजोजस्तो गम्भीर विषय उठाउँदै निर्देशक गौतमले फिल्ममार्फत बदलाको कथा भनेका छन् । जहाँ तीन सामान्य महिलाले फिल्मको कथालाई लिड गर्छन् । सामान्य महिलाका असामान्य कथा समेटिएको यो फिल्म यस मानेमा पनि नौलो छ कि, यसमा सशक्त, निडर, स्वाभिमानी महिला देखाइएका छन् । यस किसिमको महिला चरित्र लेखिनु पनि ‘अभिमन्यु: च्याप्टर वान’ले समाएको सशक्त पक्ष हो । महिलालाई बिचरी, असाहाय्य, दबिएको चित्रित गर्ने परम्परागत शैलीमाथि गौतमको यो अभ्यास बलियो बिम्ब हो । यसअर्थमा नेपाली फिल्म क्षेत्रमा निर्देशक गौतमले आफूलाई सानदार 'इन्ट्री' गराएका छन् ।
‘अभिमन्यु: च्याप्टर वान’मा अन्य फिल्ममा झैं चलेको अनुहार दोहोरिएका छैनन् । आफूलाई अभियनमा सावित गरिसकेका कामेश्वर चौरसियादेखि, लक्ष्मी बर्देवा, सरिता गिरी अनि गौमाया गुरुङजस्ता अब्बल कलाकारलाई सशक्त चरित्रका रूपमा देखाइएको छ । फिल्मको कथालाई यी अनुहारले 'लिड' गरेको छ । त्यसैले सेभेन सिजले थालेको यो अभ्यास खास अर्थमा प्रयोगले भरिएको छ ।
लक्ष्मी बर्देवाले लीला चरित्रको निर्दोष स्वभाव, दृढता अनि आत्मविश्वासलाई पर्दामा दुरुस्तै प्रस्तुत गर्छिन् । त्यस्तै, कामेश्वर चौरसियाले अभिमन्युभित्रको साहस, डर र प्रेमजस्ता प्रेमिल चरित्रलाई सजीव बनाइदिएका छन् । घरबेटी र उनकी छोरीको भूमिकामा सरिता गिरी र गौमाया गुरुङको अभिनय पनि तारिफलायक छन् । गोपाल चरित्रमार्फत प्रकाश दाहालले दर्शकलाई कहिले हँसाउँछन् त कहिले गम्भीर बनाइदिन्छन् ।
यो फिल्ममा कमजोरी नभएका होइनन् । फिल्ममा केही दृश्य आवश्यकताभन्दा पनि बढी तन्काइएका छन् । जस्तै, फिल्ममा जब बदलाको रहस्य खुल्छ, तब कथालाई अलि बढी नै तन्काइएको छ । कसरी फिल्मका प्रमुख पात्रहरू बदलासम्मको निर्णयमा पुगे ? उनीहरूले त्यसपछि कुन-कुन कदम चाल्दै जान्छन् ? ती विषयलाई बुझाउन प्रयोग गरिएका लामा दृश्यलाई सम्पादनमा अझै कस्न सकिन्थ्यो । तन्काइएका यी दृश्यलाई कसिलो बनाउन सकिएको भए, फिल्मले दर्शकको ध्यान शतप्रतिशतले तानिरहन्थ्यो । 'अभिमन्यु'को 'च्याप्टर वान'ले त्यहाँ सामर्थ्य गुमाएको छ, जहाँ दर्शकको ध्यान अझ बढी समात्नु पर्ने देखिन्थ्यो । सिक्वेल बनाउनकै लागि पनि केही दृश्य थपिएका छन् ।
खासमा यो फिल्मको कथा त्यस्तो एउटा पात्रको हो, जो दाइजो प्रथाको विरुद्धमा उभिन्छन् । यो प्रथा अभ्यास गर्नेलाई सकेसम्म सखाप गर्ने ध्याउन्नमै हुन्छन् अभिमन्यु । तर, यो प्रथा किन गलत छ, यसको अभ्यासले पार्ने नकारात्मक असरतर्फ फिल्मको कथा घुम्दैन ।
तर, यही प्रथाको विरुद्धमा उभिने एक पात्रको एउटा 'एक्सन' ले कसरी अरुको जीवन प्रभावित हुन्छ ? उनीहरूको जीवनमा यही पात्रले ल्याइदिएको संकटतर्फ फिल्म केन्द्रित हुँदा दाइजोमाथि 'अभिमन्यु'ले प्रस्ट विचार राख्दैन । उल्टै, दाइजो प्रथालाई निरुत्साहित गर्न खोज्ने पात्रलाई नै खलपात्रका रूपमा उभ्याउँदै फिल्मले यस्तो गम्भीर विषयवस्तुमाथि सतही धारणा पस्किदिन्छ । फिल्म एक अर्थमा दाइजो प्रथाविरुद्ध उभिए पनि अन्तिममा भने कता-कता रुमल्लिएको छ ।
