कम बजेटमा बनेको सकुम्बासी बस्तीको कथा बोकेको फिल्मले मलेसियामा अवार्ड पाएको हो ।
काठमाडौँ — जोन योञ्जनको निर्देशनमा बनेको फिल्म 'आँखा' एसिया प्यासिफिक फिल्म महोत्सवमा उत्कृष्ट फिल्म घोषित भएको छ । मलेसियामा आयोजना भएको महोत्सवको ६२ औं संस्करणमा नेपाली फिल्म उत्कृष्ट घोषित भएको हो ।
नेपालबाट फिल्मकी प्रमुख अभिनेत्री स्मिता लामिछाने अवार्ड थाप्न मलेसिया पुगेकी थिइन् ।
'यो हाम्रो समूहका लागि निकै ठूलो उपलब्धि हो । सबै कलाकार, प्राविधिक टोली र दर्शकलाई धन्यवाद भन्न चाहन्छु, जसले यो कथा र यो यात्रालाई विश्वास गरिदिए,'स्मिताले खुसी हुँदै सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेकी छन् ।
कम बजेटमा बनेको यो फिल्मलाई नेपालमै पनि अधिकांश दर्शकले रुचाएका थिए । तर, फिल्म भने हलमा धेरै समय प्रदर्शनमा आएन । फिल्ममा स्मीतासँगै अभिनेत्री पशुपति राई, निशा अधिकारी, आरके मेहता, विजय बरला, बुद्धि तामाङको अभिनय छ । फिल्ममा सकुम्बासी बस्तीमा बस्तै आएका सामान्य पात्रहरुको कथा समेटिएको छ ।
