जादुमय स्वर र सांगीतिक सीपको कदर गर्दै उनलाई स्वरसम्राटको उपाधि दिइएको थियो ।
काठमाडौँ — स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस मनाइँदै छ । मूर्धन्य कलाकार नारायणगोपलको निधनपछि उनकै निवास महाराजगन्जमा स्थापना गरिएको नारायणगोपाल सङ्गीत कोषले आज विविध कार्यक्रम गरेर उनको स्मरण गर्दै छ ।
प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीतिक फाँटमा बेग्लै परिचय बनाएका नारायणगोपालको २०४७ मंसिर १९ मा निधन भएको थियो ।
जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै उनलाई स्वरसम्राटको उपाधि दिइएको थियो ।
२०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वरपरीक्षा पास गरेका नारायण गोपालले थुप्रै कालजयी गीत गाएका छन् ।
‘लौ सुन म भन्छु, मेरो रामकहानी’, ‘पर्खी बसेँ आउला भनीँ’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘ए ! कान्छा ठट्टैमा', 'स्वर्गकी रानी', 'बिछोडको पीडा', ‘अल्झेछ क्यारे पछ्यौरी’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’, ‘एउटा मान्छेको मायाले’, ‘केही मीठो बात गर’ जस्ता उनका चर्चित गीत हुन् ।
