‘हिमालय: क्याराभान’ निर्देशक एरिक भ्यालीले सधैं कथालाई प्राथमिकता दिंदै दर्शक वा सफलताको पछि नलागेको बताएका छन्।
काठमाडौँ — पहिलो पटक नेपाली फिल्मलाई ओस्कार मनोनयनमा पुर्याउने एरिक भ्याली नेपालमा भनिन बाँकी थुप्रै कथा रहेको बताउँछन् । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा आयोजित एक कार्यक्रमबीच एरिकले अझै पनि नेपालमा अरुले नदेखेका थुप्रै कथा रहेको बताए ।
'नेपालमा यति धेरै जातजाति, धर्म अनि संस्कृति छ कि त्यहाँका कति कथा अझै अरुले देखेकै छैन,' एरिकले भने । एरिकले कहिल्यै ओस्कर जाने सोचसहित फिल्म बनाएनन् । आफू कहिल्यै सफलताको पछाडि दौडिन नचाहेको अनुभव एरिकले सुनाए । 'मैले कहिल्यै सफल हुन्छ, ओस्कर जान्छु भनेर फिल्म बनाइनँ । तर, कथाका लागि म जे गर्न पनि तयार हुन्छु,'एरिकले कार्यक्रममा उपस्थितलाई हेर्दै भने ।
एरिकले कहिल्यै दर्शक लक्षित गरेर फिल्म बनाउन खोजेनन् । 'फिल्म कमर्सियल हुनुपर्छ, दर्शकका लागि बनाउनुपर्छ भनेर सोचिनँ । मेरा लागि सधैँ कथा प्रधान रह्यो,'उनले भने ।
'हिमालय: क्याराभान' निर्देशक एरिक अहिले नयाँ फिल्मको काममा व्यस्त छन् । तर, नयाँ फिल्मबारे उनले खासै खुलाउन चाहेनन् । 'गरिरहेको कामको विषयमा चर्चा गरिहाल्न मनपर्दैन,' ठट्यौली शैलीमा एरिकले भने । एरिक चर्चित फोटोग्राफरसमेत हुन् ।
