मोनिका थापाको गीत 'कलिला छाती' जेन-जी विद्रोहको प्रतीक बन्दै सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ- आन्दोलनका सहिदलाई सम्झाउने काम गरिरहेको छ।
What you should know
काठमाडौँ — गायक सज्जनराज वैद्यले ३ वर्षअघि महँगो मायाको कुरा गर्दै प्रेमिकाको मुटु सस्तो भएको भावमा 'सस्तो मुटु' बोलको गीत निकाले। दिनदिनै कमाउनु पर्ने माया, शिरमाथि चढाउनु पर्ने प्रेमिकालाई आफूले नबुझेको, अनि महारानी ठान्ने उही प्रेमिकाबाट घुमाउरो कुराबाहेक चोखो प्रेम नपाएको भन्दै स्त्रीद्वेषी गीत गाएका थिए उनले।
युट्यूबमा राखेको छोटो समयमै लाखौं दर्शकले मन पराइदिएको यो गीतमाथि महिला स्वरमा रिप्लाइ भर्सन निस्कियो, गीत सार्वजनिक भएको ठ्याक्कै १७ औं दिनमा । भएको माया देखाउन शिरमा चढाउनै नपर्ने, मागेर माया नपाइने, बिक्ने मायाको मुल्य नहुने भन्दै 'सस्तो मुटु' भनेर गीत गाउने वैद्यलाई 'माया सस्तो नहुने तर महँगो नै हुने' भन्दै जवाफ दिइएको उक्त स्वर थियो- मोनिका थापाको ।
स्त्रीद्वेषी संगीतमाथि प्रहार गर्ने उही मोनिका अहिले जेन-जी विद्रोहको प्रतिनिधि आवाज बनेकी छन्। उनले गाएको 'कलिला छाती' बोलको गीत अहिले जेन-जी विद्रोहको सामूहिक आवाज बनेर सामाजिक सञ्जालमा घन्किरहेको छ। २ हप्ताअघि युट्यूबमा सार्वजनिक भएको यही गीतका अंशमा भिडियो बनाउँदै जेन-जीहरुले सत्ता र शक्तिमा हुनेलाई खबरदारी गरिरहेका छन् ।
आन्दोलनमा मारिने जेन-जीको बलिदान भुल्न नदिन, मोनिकाको गीतका शब्द सापटी लिँदै उनीहरुले प्रश्न गरिरहेका छन्।
छेडेर कलिला छाती
फेरि टेक्लास्, हामीमाथि
जेन-जी आन्दोलनमा छेडिएका छातीलाई बिर्सँदै शासन गर्ने होडबाजीमा होमिएकाहरुलाई मोनिकाले गीतको सुरुका शब्दबाटै प्रश्न गरेकी छन् । त्यसैले शासन गर्नुअघि ती कलिला छातीलाई सम्झनुपर्ने, त्यो बलिदान र आक्रोशलाई बिर्सनु नहुने भाव गीतका दुई पंक्तिमा भेटिन्छ । अहिले यही पंक्ति प्रयोग गर्दै जेन-जीले टिकटकदेखि इन्स्टाका रिल्सहरु आन्दोलनमा सहिद हुनेलाई सम्झँदै उही शासन शैली दोहोर्याउन नहुने खबरदारी गरेका छन् ।
तर, यो गीत जेन-जी 'एन्थम' नै बन्ला भनेर मोनिकाले सोचेकी थिइनन् । मोनिकाले चेनावनी स्वरुप 'कलिला छाती' ल्याएकी थिइन् । जेन-जी आन्दोलनपछि जब उही पूरानो अनुहार देखिन थाल्यो, सामान्य बन्दै गएको दैनिकीबीच फेरि उनीहरुले 'हेट स्पीच' फैलाउन थाले । एक अर्कालाई आरोप प्रत्यारोप लगाउन थाले । तर, उनीहरुमा त्यो जवाफदेहिता मोनिकाले देखिनन् जुन उनी आम नागरिकका हिसाबले पर्खिरहेकी थिइन् ।
त्यसैले मोनिकाले आफूभित्रको आक्रोशलाई शब्दहरुमा बुनेर गीत बनाइन् । 'लाज छैन, डर पनि छैन । उनीहरुमा त्यो जवाफदेहिता नै नभएपछि मलाई लाग्यो - यो मान्छेहरुमा त त्रास हुन जरुरी छ । हामीले यति चाँडै यो सब भुल्नुहुँदैन, यो मान्छेहरुलाई हामीले सम्झाउनुपर्छ । त्यो जिम्मेवारी हाम्रो हो भनेर गीत लेखें । त्यसैले यो मभित्रको रिस, आक्रोश हो,'मोनिकाले भनिन् ।
मोनिकालाई यो गीत चाँडै निकाल्नु थियो । त्यसैले अर्कस्टिक भर्सनमा चाँडै युट्यूबमा सार्वजनिक गरिन् । करिव एक घण्टामै मोनिकाले गीत आफ्नो युट्यूब च्यानलबाट बाहिर ल्याएकी हुन् । तर, रेकर्डिङ, मिक्सिङ, मास्टरिङमा केही दिन लाग्यो । तर, गीतलाई युट्यूब र टिकटकतिर राखेर मोनिकाले भ्यूजको बेवास्ता गरेकी थिइन् । तर, जसै नजिकका साथिभाइले गीतको क्लिपहरुलाई उनलाई सेयर गरे, तब उनलाई गीत चलेछ भन्ने लागेको हो । 'झोले ट्रेन्डमै पनि यो गीत प्रयोग भयो ।
जेन-जीले यसरी गीतलाई प्रयोग गरेर अरुका नकरात्मक पाटो उघारिदिनुभयो । गलत गर्नेहरुका नकरात्मक पक्ष खोतल्दै जनताको देशभक्तिका लागि गीतलाई प्रयोग गरेको देख्दा गीत सफल भयो भन्ने लाग्यो । मेरो लागि गीतको भ्यूज भन्दा पनि यो चाहिँ सफलता हो,'मोनिका सुनाउँछिन् । जबदेखि देशको अस्थिर राजनीतिलाई मोनिकाले बुझ्दै गइन्, उनमा त्यसप्रतिको वितृष्णा बढ्दै गएको थियो । तर, त्यसबारे गीत निकाल्नेतर्फ ध्यान गएकै थिएन । जेन-जी आन्दोलनपछिको समय उनलाई आफूभित्र गुम्सिएको भावना बाहिर निकाल्ने सही बेला लाग्यो ।
जेन-जीले गीतलाई यो हदसम्म मनपराउलान् भन्ने मोनिकाले सोचेकी थिइनन् । उनी त गीतमार्फत एउटा आवाज मात्रै बन्न चाहन्थिन्, विद्रोह बिर्सनेहरुका विरुद्ध । त्यही सोचेर थोरै शब्दहरु कोरिन्, तर शसक्त भावहरुसहित । सजिलै सबैले गाउन सक्ने गरी सरल शैलीमा गीतको लय बगाइन् ।
'छेडेर कलिला छाती टेक्लास्, हामीमाथि' भन्ने पंक्ति गुञ्जिरहोस् भन्ने चाहन्थिन्, मोनिका । ताकि यो गीतले सजिलै आन्दोलनलाई बिर्सन नदिओस्, जेन-जी सहिदको आहुतीप्रति जिम्मेवार हुनैपर्छ भन्ने सम्झनाका लागि पनि यो गीत प्रयोग होस भन्ने मोनिकाको चाह थियो । त्यो चाहना अहिले टिकटकका भिडियो, इन्स्टाका रिल्सहरुले सम्झाइरहेछ देखिन्छ । थुप्रैले गीतको 'भाषण', 'अनुशासन' वाला क्लिप प्रयोग गरेर जेन-जी विद्रोह सम्झाइदिएका छन् ।
भाषण, अनुशासन
यहाँ रासन मै, शासण
म बिना चाहिँ, कसले
पुजिदिन्छ तेरो, आसन
यो गीतका शब्द जति गह्रौं छन्, गायकी उस्तै बेजोड छ । त्यसमाथि मोनिकाको वजनदार आवाजले शब्दको त्यो गहिराईलाई नाप्छ । त्यो भावलाई उचाल्छ । गायन शैलीमै पनि शब्दभित्रका आक्रोश पोखिन्छन् । 'छेडेर कलिला छाती, फेरि टेक्लास्, हामीमाथि' बोलको गीत जति पटक मोनिका दोहोर्याउँछिन्, उति-उति गीतको नोट उच्च हुँदै जान्छ ।
उच्चम विन्दुमा मोनिका आवाज जति चर्को सुनिन्छ, त्यो खबरदारी उतिकै गह्रौं सुनिन्छ । मोनिकाले भने झैं 'चेतावनी'कै शैलीमा गीतका शब्दलाई उनले गाउँछिन् । 'त्यतिबेला त्यति विश्लेषणात्मक भएर लेखिन होला । सायद त्यो अनुभवसहित लेख्दा त्यसरी हाइ नोटमा गाउनु पर्यो,'मोनिकाले थपिन्,'भष्ट्राचारका गतिविधि सम्झाउन कतिले यो गीत प्रयोग गरेका छन् । जेन-जी सहिदको फोटो राखेर पनि भिडियो बनाएको देखें ।'
खासमा मोनिकाले कला क्षेत्र रोजेको धेरै भएको छैन । ३ वर्ष भयो मोनिकाले अभिनय, संगीत र कथा वाचन रोजेको । संगीत गर्नुअघि उनी अभिनय गर्थिन्, थिएटरमा अभिनय सिकिन् । अभिनेत्री बन्न दिएको अडिसनमा जब आफू अस्वीकृत भएको मोनिकाले थाहा पाइन्, त्यही दिनदेखि मोनिकाले आफूभित्रको क्षमता चिहाउन थालेकी हुन् ।
त्यही अस्वीकारले नै मोनिकालाई आफ्नो क्षमता, सामर्थ्य र 'ओरिजिनालिटी' खोज्न लगाएको हो । 'त्यतिबेला म किन अरुको ओरिजिनलमा काम गर्न खोजिरहेको छु, जब कि म आफैभित्र त्यो ओरिजिनल निकाल्ने सामर्थ्य छ भन्ने लाग्यो । त्यतिबेलै मलाई आफ्नो ओरिजिनालिटीमा काम गर्नुपर्छ भन्ने लाग्यो,'मोनिका सुनाउँछिन् । अहिलेसम्म मोनिकाले तीन वटा गीत निकालिसकिन् । मोनिकालाई गीत लेख्न, गाउनबाहेक अभिनय, फिल्ममेकिङ आफ्नो क्षेत्र हो भन्ने लागिरहन्छ । त्यसैले यही कर्ममा उनी छिन् ।
'जे होस् कथाहरु भन्छु म । कथा भन्न मैले रोजेको माध्यम संगीत र फिल्म हो । फिल्म र संगीत सिक्दै पनि छु,'मोनिका सुनाउँछिन्,'संगीतमार्फत मैले आफूलाई सत/प्रतिशत अभिव्यक्त गर्न पाएको छु । यसमा कसैको नियन्त्रण हुन्न । मेरो कथा भन्न, संगीत उत्तम माध्यम भेटेको छु ।'
स्काथी इन्टरटेन्टमेन्टसँगको सहकार्यमा सार्वजनिक गीतको यही भिडियोमै पनि मोनिकाको कला भेटिन्छ । गीतमा जसै उनी विद्रोहको शब्द गाउँदै जान्छिन्, तब गीतका शब्दहरु राता अक्षरमा परिणत हुन्छन् । अनि खतरा, डर, साहस र हिम्मतको प्रतिनिधित्त्व गर्ने रातो पृष्ठभूमीमा गीतार समाउँदै मोनिका गाउँछिन- छेडेर कलिला छाती…..!
