‘परान’ले थपिदिएको महेशको उचाइ

दीपक आचार्य निर्देशित 'परान' फिल्मको सफलताले महेश त्रिपाठीको लामो संघर्षपछिको अभिनय यात्रा नयाँ उचाइमा पुर्‍याएको छ ।

मंसिर ८, २०८२

समर्पण श्री

Mahesh's height increased by 'Paran'

What you should know

काठमाडौँ — अक्सर नेपाली फिल्म मेकरहरू अभिनेताको अनुहार दर्शकको ठूलो मासमा नपुगिन्जेल अभिनय कौशलमा मात्र विश्वस्त हुन्नन् । चर्चित अनुहारले नै फिल्मलाई पार लगाउँछ भन्ने ‘भ्रम’मा उनीहरू ‘स्टार’को पछि दगुर्छन् । 

फिल्म क्षेत्रमा लामो समयदेखि संघर्ष गरिरहेको एउटा अनुहार भने बल्ल आमदर्शकका निम्ति परिचित लाग्न थालेको छ । अब्बल अभिनय क्षमता भए पनि अभिनेता महेश त्रिपाठीले व्यापारिक सफलताको स्वाद फिल्ममा लिन पाएका थिएनन् ।

तर यसपालि दीपक आचार्य निर्देशित फिल्म ‘परान’ उनको करिअरको महत्त्वपूर्ण खुड्किलो बनिदियो । हेर्ने हो भने महेशको फिल्मी करिअरको ग्राफ पनि ‘परान’को व्यापारिक सफलताको रफ्तारजस्तै छ ।

गत कात्तिक १४ गते रिलिज भएको फिल्मको पहिलो हप्तामा हलमा दर्शक मुस्किलले भेटिन्थे । निर्देशक आचार्य फिल्म नचल्नुको पीडाले दुखिरहेका थिए तर दोस्रो हप्ताबाट बिस्तारै फिल्मले लय पकड्यो । बिहीबारको रिपोर्टअनुसार फिल्मले १२ करोडभन्दा बढी व्यापार गरिसकेको छ । हलबाट आँसु पुछ्दै निस्कने दर्शकको संख्या बाक्लो छ । 

फिल्मले झैं महेशको करिअरमा अवसरले पनि बिस्तारै ‘पिकअप’ लियो । डेढ दशकअघिसम्म इन्जिनियरिङ पढिरहेका महेश इनोभेसन र आविष्कारमा रमाउँथे । अचानक सपना मोडियो । उनी कलाकारितामा लागे । टेलिभिजन हुँदै फिल्म ‘नोभेम्बर रेन’मा काम गरे । अभिनयमाथिको भोक र सिकाइको चाहनाले उनलाई ओस्कार कलेजतर्फ डोहोर्‍यायो । 

कलेजमा अभिनय पढिरहँदा शिक्षक र विद्यार्थी साथीहरूको आँखामा पर्न उनलाई बेर लागेन । थुप्रै सर्ट फिल्महरूमा जबर्जस्त अभिनय गरे । कलेज ग्र्याजुएसनपछि त्यही कलेजमा अभिनय पढाउन थाले । लामो समयसम्म महेशका हातमा फिल्म परेनन् । ०७८ सालमा रिलिज भएको ‘चपली हाइट ३’बाट उनको अभिनयको प्रशंसा फिल्म वृत्तमा हुन थाल्यो । ०८० वैशाखमा रिलिज भएको फिल्म ‘हल्कारा’बाट त उनको अभिय कौशलका प्रशंसकहरू बिस्तारै बढ्न थाले । त्यो फिल्मबाट महेशले ‘वर्ल्ड फेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा’ उत्कृष्ट अभिनेताको अवार्डसमेत जिते ।

Mahesh's height increased by 'Paran'

‘हल्कारा’ फिल्मले समीक्षा राम्रो पायो । तर दर्शक पाएन । त्यसपछि महेशलाई फिल्मका अफर आउन त थाले । तर अफर गरिएका चरित्र चित्तबुझ्दो थिएनन् । ०८१ सालमा सँगै रिलिज भएका दुई फिल्म ‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली’मा भने उनको अभिनयको निकै प्रशंसा भयो ।

Mahesh's height increased by 'Paran'

फिल्म ‘लाज शरणम्’ले समीक्षा राम्रो नपाए पनि महेशको अभिनयले तारिफ बटुल्यो । उनले फिल्ममा कर्णालीको युवकको भूमिका निर्वाह गरेका थिए । यता ‘फेरि रेशम फिलिली’मा लैंगिक अल्पसंख्यकको भूमिकालाई धेरैले रुचाए ।

Mahesh's height increased by 'Paran'त्यसयता महेशका हातमा फिल्मै फिल्म छन् । पछिल्लो समय उनले रेखा थापाको ‘छत्तिसको आँकडा’को छायाँकन सकाइसके । अहिले ‘क का कि की’को छायाँकनमा व्यस्त छन् । 

यही बेला ‘परान’ हिट हुँदा अभिनेता नीर शाह र महेशका लागि नयाँ उत्साह थपिन पुगे । शाहले त यो फिल्म हिट हुनुलाई अभिनय करिअरकै ‘क्लाइमेक्स’ मानेका छन् । महेशले भने नयाँ ‘टर्निङ प्वाइन्ट' । महेशले फिल्मको आदर्श बा पात्र धर्मनाथका कान्छा छोराको भूमिका निर्वाह गरेका छन् ।

धर्मनाथका तीन छोरा भए पनि उनको विशेष सम्बन्ध कान्छा छोरासँग छ । धर्मनाथको जेठा छोरा विदेशमा छन् भने माइला छोरा काठमाडौं । उनी चाहन्छन्– कान्छोचाहिँ आफैंसँग बसोस् । किसानी गरोस् । तर कान्छा छोरालाई डीभी परेपछि धर्मनाथमा के बित्छ ? बा-छोराको सम्बन्ध कसरी अगाडि बढ्छ ? फिल्म यही विषय वरिपरि घुमेको छ । 

कास्कीस्थित कास्कीकोटका महेश घरका जेठा छोरा हुन् । धर्मनाथका झैं महेशका बा ठाकुरप्रसादका पनि तीन छोरा । वास्तविक जीवनमा जेठा छोरा भए पनि महेशले फिल्ममा कान्छाको चरित्र बाँचे । ‘ छोरो कान्छो त्यतिबेलासम्म हुँदो रहेछ, जबसम्म उसलाई आफ्नो सपनाले डोहोर्‍याउँदैन,’ फिल्म गर्दैगर्दाको समयमा भएको अनुभूति महेश सुनाउँछन् ।

नेपाली समाजमा आर्थिक–सामाजिक कारणले पनि विदेश पलायन हुनेहरूको संख्या बढ्दो छ । यसले एउटा परिवारमा कस्तो असर पार्ला त ? ‘खासमा सन्तान बा आमालाई खुसी दिन्छु भनेर कमाउन हिँड्छन् । त्यही सुखको सपना देखेर हिँड्दै गर्दा बा आमालाई दुःख हुने रहेछ,’ उनी अनुभूत गर्छन् । फिल्ममा बा-छोरा छुट्टिँदा एउटा दृश्यले दर्शकलाई बिझाउँछ ।

गाउँ छाड्ने बेला बा छोरालाई विदाइ गर्न उभिरहेको हुन्छ । उता सडकमा अटोले छोरा-बुहारीलाई पर्खिरहेको हुन्छ । अटो चढ्ने बेलामा छोरा फेरि दगुरेर बालाई अँगालो हाल्न पुग्छ र भक्कानिँदै रुन्छ । ‘त्यसरी दौडिएर अँगालो मार्ने कुरा स्क्रिप्टमा थिएन । तर म भावनात्मक भएँछु । अँगालो मारेर अटोभित्र बस्दासम्म पनि म लगातार रोइरहेछु,’ महेश त्यो क्षण सम्झन्छन्, ‘त्यो देखेर निर्देशक पनि रुनुभएछ ।’ बुझेँ ठान्दाठान्दा पनि बालाई आफूले कति बुझिएछ त ? ‘परान’ गर्दै गर्दा उनले अनुभूत गरे । ‘बाले के सोच्दा रहेछन्, कसरी सोेच्दा रहेछन् भन्ने कुरा यही बेला रियलाइज भयो,’ उनी सुनाउँछन् ।

महेशलाई फिल्म हेरेर फर्किने बा-आमाहरूले भेट्दा आफ्नै छोरालाई झैं महसुस गरे । कतिले आफ्नै कान्छो भाइझैं । ‘यो मायाले पनि साह्रै भावुक बनाउँदो रहेछ,’ उनी अनुभूति साट्छन् । 

‘परान’ चलेपछि भने महेशका लागि फिल्मका प्रस्ताव गर्नेहरू बढेका छन् । हालै व्यापारिक हिसाबमा सफल मानिएको ज्ञानेन्द्र देउजा निर्देशित ‘झिंगे दाउ’को सिक्वेल पनि बन्दैछ । त्यसमा पनि महेश मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् ।

अब दर्शकको आँखामा परेपछि ‘चल्ती’का मेकरहरूमा पनि महेश छनोटमा परिरहेका छन् । ‘तर सबैका आँखामा पर्नका लागि त फिल्म पनि छनोट गरेरै खेल्नुपर्दो रहेछ,’ महेश भन्छन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully