सुशान्त केसीको डेब्यु फिल्म–‘यस्तै रैछ’

अस्ट्रेलियन निर्देशक कलनी ग्याकनको निर्देशनमा बनेको, सुशान्त केसी र थिन्ले ल्हामो अभिनीत १२ मिनेटको लघु फिल्म युट्युबमा सार्वजनिक भएको छ ।

मंसिर ७, २०८२

कान्तिपुर संवाददाता

Sushant KC's debut film - 'Yastai Raichha'

What you should know

काठमाडौँ — बबिताको स्मरण शक्ति विस्तारै गुम्दैछ । त्यही स्मरण फिर्ता गराउन प्रेमी प्रवीण उनीहरूको पहिलो भेट बारम्बार दोहोर्‍याइरहन्छन् । प्रवीण बारम्बार बबिताको घरको ढोका ढकढकाउन पुग्छन्, बिग्रेको सामाग्री बनाउने बहानामा ! सधैझैं आमाले ढोका खोलिदिन्छिन् । हातमा कलम र कापी लिएर केही लेखिरहेकी बबिताको मौनता प्रवीणको आगमनले बिथोलिन्छ ! उनी प्रवीणलाई सोध्छिन्,'तिमीलाई बिटल्स मनपर्छ हो ?' 

यो लघु फिल्म 'यस्तै रैछ'मा समेटिएको दृश्य हो । अस्ट्रेलियन फिल्मकर्मी कलनी ग्याकनले निर्देशन गरेको यो नेपाली लघु फिल्ममा गायक सुशान्त केसीले प्रवीण चरित्रमा अभिनय गरेका छन् । र, महिला चरित्र चित्रणमा देखिएकी छिन्, अभिनेत्री थिन्ले ल्हामो । 'यस्तै रैछ' शीर्षकमा बनेको लघु फिल्म सुशान्तको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै सुशान्तको समूहले फिल्म प्रिमियर गरेको हो । 

युट्युबमा सार्वजनिक गरिएको १२ मिनेट लामो फिल्ममा बबिता र प्रवीणको वियोगान्त प्रेम देखाइएको छ । निर्माण टोलीले गीत सार्वजनिक गर्नुअघि लघु फिल्म सार्वजनिक गरेको हो । यही लघु कथामार्फत अभिनयमा सुशान्तले डेब्यू गरेका छन् । यो गीत त्यहीँबाट सुरु हुन्छ जहाँ फिल्मको कथा सकिन्छ । अथवा भनौं फिल्मभित्रका चरित्रका कथा, परिवेश र भावनालाई सुशान्तले यो गीतमा पस्केका छन् । तर, गीतलाई भने केही समयपछि मात्रै सार्वजनिक गर्ने तयारी रहेको सुशान्तले सुनाए । 'हामी गीतलाई केही दिनमा सार्वजनिक गर्नेछौं । अहिलेलाई फिल्म मात्रै तपाईंहरुले हेर्न सक्नुहुनेछ । हामीले केही नयाँ गर्ने प्रयास गरेका छौं,' सुशान्तले फिल्मको प्रिमियरमा भने । यसअघि 'सपनाको आवाज', 'फ्यामिली म्यान'लगायतका लघु फिल्म निर्देशन गरिसकेका निर्देशक ग्याकनले प्रतिष्ठित छायांकार चिन्तन राजभण्डारीसँग यो फिल्ममा सहकार्य गरेका छन् । यसअघि उनका दुई फिल्मलाई चिन्तनले नै खिचेका हुन् ।

'मसँग कुनै कथा ठोक्किन आइपुगेपछि त्यसले दिमागमा यसरी बास बस्छ कि त्यसलाई मैले फिल्ममार्फत भन्नै पर्ने हुन्छ । त्यसले मलाई निरन्तर पच्छ्याइरहेको हुन्छ । यस्तै रैछको कथा त्यही हो । स्मरण, अविस्मरणीय प्रेम र भक्तिलाई म दृश्यभाषामार्फत देखाउन चाहन्थें, यस्तै रैछ त्यसैको उदाहरण हो,'ग्याकनले भने । यो फिल्ममा सुशान्तसँग देखिएका अभिनेत्री थिन्ले भने 'शाम्बाला' बाट चर्चामा आएकी हुन् । त्यसअघि उनले 'हरि' र 'नाका'लगायतका फिल्मसमेत खेलेकी थिइन् ।

हुन त गीतसँगै कथा पस्कने प्रयास नौलो होइन । तर, 'बार्दली', 'सारङ्गी', 'पर्ख न', 'रिसाउने भए'लगायतका चर्चित गीत गाएका सुशान्तले फिल्मकर्मीसँगको सहकार्यमार्फत कथा वाचनमै पनि आफूलाई गम्भीर साबित गरेका छन् ।

कान्तिपुर

Link copied successfully