गायिका रचना रिमाल र एलिना चौहान जस्ता कलाकारले विराटनगर किङ्सलाई खुलेर समर्थन दिँदै एनपीएलको माहोललाई झनै रौनक बनाएका छन् ।
What you should know
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेलकूदप्रेमीका लागि त उत्सव नै हुने भइगयो । यो रोचक प्रतिस्पर्धामा कैयन कलाकारहरु पनि आ-आफ्नो पक्षधरता देखाइरहेका छन् ।
गायिका रचना रिमाल भने एनपीएलको सुरुवातदेखि नै उत्साहित देखिएकी छिन् । झापा मुल घर भएकी उनी विराटनगर किङ्सको समर्थनमा खुलेरै लागेकी छिन् । कहिले विराटनगर किङ्सको जर्सी लगाएर समर्थन गरिरहेकी छन् त कहिले झन्डा फहराउँदै उनले खेलमा आफ्नाे रुची झल्काइरहेकी छिन् ।
गायिका एलिना चौहानको पनि समर्थन विराटनगर किङ्सलाई नै छ। झापा घर भएकाले पनि एलिनाको समर्थन आफ्नै प्रदेशको टिमलाइ नहुने कुरै भएन् । सामाजिक संजालमा उनी विराटनगर किङ्सको समर्थनमा खुलेकी छिन् ।
क्रिकेट रुचाउने कलाकार कुमार कट्टेल पनि सामाजिक सन्जाल फेसबुकमा पहेंलो रङको जर्सी लगाएको देखिएका थिए । उनले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सोधेका थिए, ‘एनपिएलमा यसपालि तपाईं कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ ?’
कमेन्टमा कोही सुदूरपश्चिम रोयल्स लेखिरहेका थिए त कोही कर्णाली याक्स त कोही विराटनगर किंग्स । पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीमध्ये सबैले आ आफ्नो पक्षको नाम लिइरहेका छन् । कुमार पनि विराटनगर किङ्सकै समर्थनमा छन् । ‘हुन त सिंगो देशकै खेलको पक्षमा हो । तर यसभित्र पनि अलि बढी समर्थनचाहिँ अहिले विराटनगर किङ्सलाई छ,’ उनी भन्छन् ।
१७ नोभेम्बरमा अभिनेता हरिवंश आचार्यले पनि दशरथ रंगशालामा खेल हेर्न गएको फोटो पोस्ट्याएका थिए ।
क्याप्सनमा उनले ‘नेपाली क्रिकेटको विकासको महत्वपूर्ण लीग’ भन्दै उनले लेखेका थिए । उनी कुनको पक्षमा छन् भन्नेचाहिँ खुलाएका छैनन् ।
२७ गतेसम्म सञ्चालन हुने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुन्छ ।
