हालै गठन भएको गतिशील लोकतान्त्रिक पार्टीमा आवद्ध भएकी अभिनेत्री निशा अधिकारीले आगामी निर्वाचनमा आफू प्रत्यक्षतर्फ उम्मेदवार बन्न पनि तयार रहेको बताएकी छन्।
What you should know
काठमाडौँ — अभिनेत्री निशा अधिकारीले अब सक्रिय राजनीतिमा आउने संकेत गरेकी छन्। हालै गठन भएको गतिशील लोकतान्त्रिक पार्टीमा आवद्ध भएकी अधिकारीले आगामी निर्वाचनमा आफू प्रत्यक्षतर्फ उम्मेदवार बन्न पनि तयार रहेको बताउँछिन्।
जनताले आफूलाई विश्वास गरेर संसद्मा पुर्याउनेमा आफू निर्धक्क रहेको उनले बताइन्। 'अहिले जनताले के चाहिएको छ भन्ने जनताले बुझिसक्नुभएको छ। नीतिगत तहमै बुझ्ने मान्छे पुग्यो भने के हुन्छ त भन्ने पनि बुझिसक्नु भएको छ । फलस्वरुप उहाँहरुलाई हाम्रो पार्टीको एजेन्डा के हो ? विचार के हो भन्ने भयो कुरामा सहमति छ भने उहाँहरुले मलाई जिताएर संसद्मा पुर्याउनुहुन्छ,' कान्तिपुर टेलिभिजनको कार्यक्रम 'सरोकार'मा निशाले भनेकी छन्।
उनले अघि भनिन्,'हाम्रो गतिशिल लोकतान्त्रिक पार्टी यो जेन-जी मुभमेन्टपछि आएको होइन । हामी २ वर्षदेखि नै होमवर्क गरिरहेका थियौँ। त्यतिखेर ०८४ को तयारी दिमागमा थियो । तर, चुनाव अलि अगाडि हुने भएपछि गति बढाउनु परेको हो । सबै नागरिकले विश्वास गर्नुहुन्छ भन्ने लागेको छ, आखिरमा सेवा दिनु नै हाम्रो उदेश्य हो ।'
उनले आफू पनि समानुपातिकतर्फ सांसद बन्ने गरी मात्रै राजनीतिमा आउन नचाहेको बताइन्। समानूपातिकको बाटो भन्दा पनि चुनाव लडेरै जनताको सेवा गर्ने विचार रहेको उनको भनाइ छ। 'म भन्दा राम्रो कोही उम्मेद्वार पार्टीगत रुपमा कोही आउनुहुन्छ, र महिला नेतृ आउनुहुन्छ भने म पार्टी बिल्डिङमा बस्न तयार हुन्छु। परेको खण्डमा उठ्न पनि तयार छु, जुन क्षेत्रबाट उठ्न पनि तयार छु,' उनले भनिन्, 'पहिला त म स्वतन्त्र नै उठ्छु भन्नेमा थिएँ । अब चाहिँ चुनाव लड्ने नै हो ।'
निशा पेसाले कला क्षेत्रसँग आबद्ध रहे पनि उनको पढाई सँधै राजनीतिसँग सम्बन्धिन नै थियो । त्यसैमा पनि उनको राजनीतितर्फको झुकाव देखिन्छ । उनले पोलिटिकल साइन्समा स्नातक र स्नातकोत्तर गरेकी छन्। अहिले 'द्वन्द्व शान्ति र विकास'मा एमफिल गरिरहेकी छन् । पीएचडी पनि त्यसमै गर्ने उनको योजना छ।
'मलाई राजनीति सँधै चासोको विषय रही नै रह्यो । दैनिक रुपमा भुक्तभोगी भएकाले यसलाई सुधारमा लानुपर्छ भनेर नागरिक समाजको ढंगले आवाज उठाइरहेकै हो । चाहिने विषयमा कुरा राखेकै छु,' उनले भनिन् ।
हालै उनी 'गतिशील लोकतान्त्रिक पार्टी'को केन्द्रीय सदस्य बनिन् । निष्ठाको राजनीति गर्छु भनेर उनी राजनीतिमा होमिएकी हुन् । उनलाई लाग्छ- राम्रो राजनीतिज्ञले जनतालाई राम्रो सेवा दिन सक्नुपर्छ ।
दलीय राजनीति सच्चिनुपर्छ भन्ने कुरा पहिल्यैदेखिको बहस भए पनि अहिले नयाँ दल खोल्नु बाध्यता नै बनेको निशा सुनाउँछिन् । 'दल खोल्नु नै बाध्यता हो भन्छु म । सबैजना आ-आफ्नो व्यवसाय गरेर । सुशासन होस्, समता होस्, समृद्धि भइदिएको भए हामी आउँदैन थियौं । हामी २ वर्षपछि अभ्यास गरेर आएका हौं,' निशाले भनिन् ।
