विधायन व्यवस्थापन समितिमा उठ्यो सेन्सरदेखि विकास बोर्ड लचिलो बनाउने मुद्दा

चलचित्र क्षेत्रको विकास, समावेशीकरण र स्वतन्त्रता सुनिश्चित गर्न सांसदहरूले विधेयकमा गहिरो छलफल, व्यापक संशोधन र सुधारको आवश्यकता औंल्याएका छन्।

मंसिर ३, २०८२

कान्तिपुर संवाददाता

The issue of making the development board more flexible from censorship to legislation management committee was raised.

What you should know

काठमाडौँ — 'चलचित्र विधेयक २०८१'माथि संशोधन गर्नुपर्ने विषय विधायन व्यवस्थापन समितिमा उठेको छ । बुधबार सरकार र सांसदबीच बसेको सैद्धान्तिक छलफलमा सेन्सर, विकास बोर्डदेखि फिल्मसँग सम्बन्धित थुप्रै विषयमा संशोधन आवश्यक भएको विषय उठेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विधेयक १० प्रतिशतले पनि समय सापेक्ष नभएको बताएसँगै बैठकमा उपस्थित अधिकांशले सांसदले विधेयक संशोधनको विषय उठाएका हुन् ।

बेदुराम भूसालले जुन उद्देश्यले विधेयक ल्याइएको हो त्यो पूरा नहुने हुँदा संशोधन आवश्यक रहेको बताए । 'सैद्धान्तिक रुपले हेर्दा यो विधेयक जुन उदेश्यले ल्याइएको हो त्यो उदेश्य पूरा गर्नका निम्ति पर्याप्त छैन,'उनले भने,'त्यसैले यसलाई कसरी परिमार्जन गर्न सकिन्छ भन्ने हो । ५३ दफाको विधेयकमा १ सय ९९ वटा संशोधन छ ।' राजेन्द्रलक्ष्मी गैरेले संशोधनका लागि गहिरो छलफल र सम्बन्धित विषयमा विज्ञता नै हासिल गरेको हुनुपर्ने धारणा राखिन् । 'जति संशोधन हामीले यहाँ ल्याएका छौं । त्यही शब्दहरु पनि मिलेको छ कि छैन भनेर संशोधनमा केन्द्रित हुनुपर्छ,' उनले भनिन् ।

मदनकुमारी शाहले फिल्म क्षेत्रलाई उद्योगका रुपमा विकास गर्न आवश्यक नीति नै आफूहरुले बनाउनुपर्ने विचार राखिन् । 'चाहे त्यो फिल्म होस्, पर्यटन होस्, हामी हरेक क्षेत्रलाई उद्योगका रुपमा विकास गर्न चाहन्छौं । त्यसैले नीति बनाउँदा कसरी उद्योगको रुपमा विकास गर्न सक्छौं भन्ने कुरा ध्यानमा राखेर विधेयकलाई अगाडि बढाउनुपर्छ,' उनले भनिन् । अहिलेको विधेयकले प्रविधि, विकास र उद्योगका सवाल नसमेटिएकै कारण दफावार छलफल गरेर त्यसलाई समृद्ध बनाउनुपर्ने शाहको विचार छ । कृष्णबहादुर रोकायाले विसं २०२६ मा बनेको चलचित्र ऐनलाई समय सापेक्ष बनाउन यो विधेयक ल्याइएको बताए । अहिलेको विधेयकमा आदिवासी, जनजाति र विभिन्न मातृभाषी फिल्मका सवाल नजोडिएको रोकायाले तर्क प्रस्तुत गरे । कानुन यथास्थितिवादी भए पनि फिल्म क्षेत्र उद्योगको रुपमा विकास भइसकेको अर्का सांसद सुरेशकुमार आलेमगरले जनाए । उनले नेपाललाई छायांकन स्थलका रुपमा विकास गर्नुपर्ने तर्क पेस गरे । 'हाम्रो देशको भूभागलाई विदेशी फिल्म छायांकन गर्ने स्थलका रुपमा विकास गर्नुपर्छ । नेपालको फिल्म उद्योग ४ करोडको होला । तर, नेपालको सौन्दर्यलाई छायांकनका लागि प्रयोग गर्न सक्छौं । यो विधेयकले त्य

विधेयकले संघीयताको मोडल पालन नगरेको हुँदा परिमार्जनको आवश्यकता देख्छन्, तारामान स्वार । फिल्मलाई सञ्चार मन्त्रालय नभई संस्कृतितर्फ लैजाउनुपर्ने फिल्मकर्मीको मागलाई पनि छलफलमा उनले उठाए । 'मन्त्रीज्यूले विधेयक १० प्रतिशतले पनि अग्रगामी नरहेको बताउनुभयो । यसलाई परिवर्तन गर्न, प्रगतिशील बनाउनका निम्ति एउटा ढोका खुलेको छ,' स्वारले भने, 'सैद्धान्तिक रुपले नै उठाउनुपर्ने अर्को विषय हो- यो फिल्म क्षेत्रलाई कुन मन्त्रालय अन्तर्गत राख्ने ? विश्वको अभ्यास हेर्दा सञ्चार मन्त्रालयअन्तर्गत राखेको देखिन्छ, पर्यटन संस्कृतितर्फ राखेको पनि छ । हाम्रो देशमा बहसचाहिँ के छ भने यसलाई पर्यटन तथा संस्कृति मन्त्रालयअन्तर्गत राख्नुपर्ने भन्ने छ । हामी यसमै प्रस्ट हुनुपर्छ । चलचित्र विधेयक नियमनकारी हुने कि नियन्त्रणकारी हुने यसमा प्रष्ट हुन जरुरी छ । यहाँ त चेकजाँच गर्ने, पास/फेल गर्ने कुरा पनि आइरहेको छ । मन्त्रालयको पूरै नियन्त्रण आएको छ । त्यसैले यो बारेमा पनि छलफल गरेर अगाडि जानुपर्छ,'उनले भने ।

मन्त्री खरेल फिल्मलाई सञ्चार मन्त्रालय अन्तर्गत नै राख्नुपर्ने बताए । फिल्ममा श्रव्यदृश्य, प्रविधिदेखि प्रोडक्सनका विषय जोडिने हुँदा यसलाई संस्कृति नभई सञ्चारमै राखिनुपर्ने खरेलको तर्क छ ।

अर्को सांसद मायाप्रसाद शर्माले १० प्रतिशत मात्र नभई ९० प्रतिशत संशोधन गरेर अगाडि बढे विधेयक प्रगतिशील हुने बताए । सामाजिक, सांस्कृतिक र मनोरञ्जनको क्षेत्र रहेकाले यो विधेयकलाई समावेशीको सवालमा पनि बलियो बनाउनुपर्ने बताए । श्रीकृष्णप्रसाद अधिकारीले अभिव्यक्ति स्वतन्त्रता र राज्यको नियमनबीचको असन्तुलनलाई सन्तुलन मिलाउन सैद्धान्तिक ढंगले निकास खोज्नुपर्ने बताए । फिल्म, संस्कृति र पर्यटनसँग सम्बन्धित हुने भएकाले यसलाई आधुनिकीकरण गर्दै उद्योगतर्फ बढाउनुपर्ने हुँदा विधेयकलाई परिमार्जित गरिनुपर्ने अधिकारीको मत छ । 'यो विधेयकमा धेरै नै परिमार्जन गर्नुपर्ने विषय हामीले पनि संशोधनमा राखेका छौं । यसलाई कसरी आजको समय सापेक्ष र आधुनिक बनाउने ? आजको आवश्यकता परिपूर्ति गर्दै कानुन निर्माण गर्ने भन्ने सम्बन्धित छ,'उनले भने ।

सांसद नरबहादुर विष्टले फिल्म क्षेत्र स्वतन्त्र हुनुपर्ने तर विधेयकले त्यो स्वतन्त्रता नदिएको तर्क पेस गरे । 'फिल्ममा त विवेक प्रयोग गर्नुपर्छ तर त्यो प्रयोग गर्न नपाउने विधेयकमा प्रस्तुत छ,'नरबहादुरले भने । नेपालमा विदेशी फिल्मको छायांकन गर्न झन्झटिलो रहेको हुँदा यसलाई सहज गर्ने किसिमको विषय विधेयकमा उल्लेखित गरिनुपर्ने कानुन ल्याउन कसरत गर्नुपर्ने आवश्यकता देख्छन् उनी । 'फिल्म त पर्यटकीय हिसाबले फाइदाजनक छ । त्यसैले यो कानुनलाई हामीले संशोधन गर्न जरुरी छ,'नरबहादुरले भने ।

झक्कुप्रसाद सुवेदीले चलचित्र विकास बोर्डलाई स्वतन्त्र बनाउँदै फिल्म क्षेत्रलाई उद्योगको रुपमा विकास गराउनुपर्ने बताए । 'यो विधेयकमा २०२६ सालको बुँदा धेरै सारिएको छ । तर आज लोकतन्त्र छ, गणतन्त्र छ । प्रस्तावनामा छ, चलचित्र क्षेत्रलाई नियमन गर्ने भन्ने तर परिच्छेद ४ मा चलचित्र जाँच समितिको कुरा छ । त्यहाँ सबै पञ्चायतको कुरा छ,'सुवेदीले भने,'स्वेदशी, विदेशी फिल्म प्रदर्शन गर्नुअघि फिल्मलाई त्यो समितिले ड्राफ्ट गर्ने कुरा छ । पञ्चायतमा प्रत्येक कुरा सरकारसँग अनुमति लिएर गर्न पाइन्थ्यो । त्यो ०२६ सालको कानुन र अहिलेको कानुनमा के फरक छ । अहिलेको कानुनलाई हामीले सय प्रतिशतले प्रगतिशील बनाऔं ।' फिल्म क्षेत्रलाई उद्योगका रुपमा विकास गर्न चलचित्र विकास बोर्डलाई स्वतन्त्र राख्नुपर्ने धारणा रेनु चन्दले पनि राखिन् । त्यस्तै, पदमबहादुर परियारले चलचित्र जाँचपास समिति(सेन्सर बोर्ड)ले फिल्ममाथि धेरै कैंची चलाउने हुँदा त्यता प्रमाणीकरण गरिदिने व्यवस्थासहितको कानुन निर्माण गरिनुपर्ने बताए ।

विधेयकले फिल्म क्षेत्रलाई नियम, नियन्त्रणभन्दा पनि सहजीकरण गरिनुपर्ने मन्त्री खरेल बताउँछन् । 'कदापि नियन्त्रण होइन, नियमन हो । त्योभन्दा पनि धेरै त सहजीकरण हो । राज्य सधैं सहजकर्ता हो,'मन्त्री खरेलले भने,'फिल्म क्षेत्र निकै सिर्जनशील क्षेत्र हो त्यसमा सुरुदेखि कैंची चलाउनु हुँदैन । त्यसैले यसमा संशोधन जरुरी छ,'उनले भने ।

कान्तिपुर

Link copied successfully