सन् २०२५–२०२७ कार्यकालका लागि अध्यक्षमा लामिछाने चयन भएपछि इनास शाखाले विश्वभर छरिएका नेपाली कलाकारको हकहितमा काम गर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ — निर्देशक ऋषि लामिछाने अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), नेपाल शाखाको अध्यक्षमा चलचित्र निर्वाचित भएका छन् ।
मंगलबार काठमाडौंमा सम्पन्न शाखाको दोस्रो अधिवेशनमा लामिछानेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चुनिएको हो ।
उपाध्यक्षमा अभिनेता रमेश उप्रेती, अभिनेत्री रेजिना उप्रेती र गायक युवराज चौलागाईं निर्वाचित हुँदा फिल्मका निर्माण नियन्त्रक शंकर पाण्डे महासचिव र राजिन पनेरु सचिव पदमा निर्वाचित भए । त्यस्तै, कोषाध्यक्षमा चलचित्र वितरक रत्न श्रेष्ठ चुनिए । सदस्यहरुमा खुमन अधिकारी, एलिना चौहान, पूर्णबहादुर लामा, दिनेश काफ्ले, प्रियङ्का प्रसाईँ, गौतम मानन्धर, सहारा पाण्डे, दीपा रेग्मी पन्त, ऋतु कँडेल र शिवम अधिकारी निर्वाचित भए ।
सन् २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित लामिछानेले आफू र आफ्नो कार्यसमितिले विधानको मर्मअनुसार कार्य गर्दै विश्वभर रहेका नेपाली कलाकारको भावनालाई कदर गर्ने गरी आगामी कार्ययोजना तय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
इनास विश्वभर छरिएका नेपाली कलाकारको हकहितका पक्षमा काम गर्ने र संसारभरि नेपाली संस्कृति, भाषा, साहित्य, कलाकारितालाई पुर्याउने गरी सन् २०१२ मा पोल्याण्डमा स्थापना भएको सामाजिक संस्था हो । यसको हालसम्म झण्डै ७३ देशमा शाखा स्थापना भइसक्यो ।
