पुर्ख्यौली अंशका विषयमा दाइभाइबीच बढेको मनमुटाव अदालतसम्म पुग्छ । मुद्दा हारेका दाइले यस्ता पारिवारिक बेमेलका विषयलाई बिर्सेर परिआउँदा आफ्नो कर्तव्य कसरी पूरा गर्दछन् भन्ने कथासार गुरुप्रसाद मैनालीको कथामा छ ।
What you should know
चितवन — प्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीको कथा ‘कर्तव्यमा’मा आधारित रहेर तयार भएको नाटकको आइतबार साँझ नारायणगढको नारायणी कलामन्दिरमा विशेष प्रदर्शन भयो ।
सोमबारदेखि तीन दिनसम्म यो नाटक त्यहाँ दर्शकहरुले टिकट काटेर हेर्न पाउने छन् । मावि तहको पाठ्यक्रममा नै समावेश ‘कर्तव्य’ विद्यार्थीलाई धेरैभन्दा धेरै देखाउने योजना आयोजकहरुको छ ।
पुर्ख्यौली अंशका विषयमा दाइभाइबीच बढेको मनमुटाव अदालतसम्म पुग्छ । मुद्दा हारेका दाइले यस्ता पारिवारिक बेमेलका विषयलाई बिर्सेर परिआउँदा आफ्नो कर्तव्य कसरी पूरा गर्दछन् भन्ने कथासार गुरुप्रसाद मैनालीको कथामा छ ।
त्यसलाई नाट्य रुपान्तरण गर्दा निर्देशकले सुदूरपश्चिमको संस्कृति र भाषालाई पनि मिसाएका छन् । त्यसैले कथाभन्दा नाटकमा फरक सामाजिक परिवेश समावेश छ । काठमाडौंको ओजस थिएटरले प्रस्तुत गरेको ‘कर्तव्य’ को निर्देशक पुष्पराज अवस्थी हुन् । नारायणगढमा नारायणी कलामन्दिरसँग सहकार्य गरेर चितवनको तरङ्ग नाट्य समूहले नाटक प्रदर्शनी आयोजना गरेको हो ।
‘कर्तव्य’का कलाकारहरुमा रुबिन सुनार, प्रदीप विश्वकर्मा, अञ्जना दुलाल, उज्जवल साइपोम राई, आयुश्मा जोशी, सन्तोष ढकाल, अर्जुन हाङ राई र तुलसी राई रहेका छन् । त्यसैगरी मुकेश विश्वकर्मा, उत्सव कार्की, धिरेन कार्की, सन्ध्या नेपाल र ममताले पनि ‘कर्तव्यमा’मा अभिनय गरेका छन् । नाटकको पृष्ठभूमिमा संगीतको धुन र बेलाबेलामा सुदूरपश्चिमका भाका पनि बज्छ ।
भुवन दाहाल र जनक ताम्राकारको यसमा स्वर छ । संगीत, संस्कृति र भेषभुषाले सुदूरपश्चिमेली समाजको चित्र उतारेको छ । तर अभिनयमा कलाकारहरुले अझै मिहेनत गर्न आवश्यक देखियो । तरङ्ग नाट्य समूह चितवनमा रंगमञ्चलाई जीवन्त बनाउने अभियानमा क्रियाशील छ ।
‘नाटकमा खास गरेर विद्यार्थीलाई जोड्ने प्रयासमा हामी छौं । पाठ्यक्रममा समावेश विषयहरु विद्यार्थीले नाटकमा हेर्न पाए रंगमञ्चलाई मात्रै हैन विद्यार्थीको पठन अभिरुचिलाई पनि बढाउने र ज्ञानवर्द्धक बनाउने छ भन्ने हाम्रो मान्यता छ,’ तरङ्ग नाट्य समूहका अध्यक्ष देव श्रेष्ठले भने ।
