अमेरिकी ब्लुग्रास र नेपाली लोक संगीत मिसिएको समूह हिमालयन हाइवेले नयाँ तथा पुराना गीतसहित तेस्रो वार्षिकोत्सव मोक्ष, ललितपुरमा मनायो।
काठमाडौँ — नेपाली–अमेरिकी फोक फ्युजन समूह हिमालयन हाइवेले तेस्रो वार्षिकोत्सवका अवसरमा शनिबार साँझ ललितपुरको मोक्षमा सांगीतिक प्रस्तुति सम्पन्न गरेको छ ।
अमेरिकी ब्लुग्रास र नेपाली लोक संगीतको सुन्दर फ्युजनका लागि चिनिने यस समूहले शनिबारमा कार्यक्रममा नयाँ तथा पुराना गीतहरू प्रस्तुत गर्यो ।
साँझ ७ देखि ९ बजेसम्म भएको कार्यक्रममा करिब एक वर्ष अमेरिकामा बसेर नेपाल फर्किएका म्यान्डोलिन वादक जोइ लेभिटसहित समूहका सदस्यहरूले पछिल्ला महिनाहरूमा तयार पारेको नयाँ सामग्रीले दर्शकलाई आकर्षित गरेको थियो ।
हिमालयन हाइवेको स्थापना २०२२ मा कीर्तिपुरमा भएको थियो ।
सारंगी, म्यान्डोलिन, एकाउस्टिक गिटार, मादल, तबलाहरूको संयोजनमा उनीहरूले मौलिकताका साथै नयाँ प्रयोग गर्दै आइरहेका छन् । समूहमा कीर्तिपुरका चौथो पुस्ताका सारंगीवादक प्रिन्स नेपाली, अमेरिकाकी म्यान्डोलिनिस्ट तथा गायिका जोइ लेभिट, हेटौडाका गिटारवादक अनिश तामाङ, र कीर्तिपुरका पर्कसनिस्ट युसोन महार्जन रहेका छन् ।
कार्यक्रम मोक्ष, ललितपुरमा भएको थियो। टिकट ८०० (पहिले बुकिङ) र १००० (ढोकाबाट) दरमा उपलब्ध थियो। समूहले आगामी २०२६ मा आफ्नो पहिलो ईपी सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
