त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका ग्यास्ट्रो सर्जन प्रा.डा रमेशसिंह भण्डारीले शनिबार साँझ काठमाडौंको एलओडीमा एकल कन्सर्ट गरेका हुन् ।
काठमाडौँ — त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका ग्यास्ट्रो सर्जन प्रा.डा रमेशसिंह भण्डारीले शनिबार साँझ काठमाडौंको ठमेलस्थित एलओडीमा एकल कन्सर्ट गरेका छन् ।
'ह्वेन प्रोफेसन मिट्स प्यासन म्याजिक ह्यापेन्स' नामक सांगीतिक साँझमा उनलाई गिटारिस्ट देव लामा र रोशन श्रेष्ठसहितको टिमले साथ दिएको थियो ।
'नीलो आकाश' गीतबाट कन्सर्ट सुरु गरेका कलेजो प्रत्यारोपण विशेषज्ञ भण्डारीले करिब दुई घण्टामा आफ्ना ७ गीतसहित १८ गीत गाएका थिए ।
'चिकित्सा पेसामा भएकोले कन्सर्ट गर्नु मेरा लागि बिलकुलै फरक अनुभव हो,' कन्सर्टपछि उनले भने,'पहिलो कन्सर्ट रमाइलो पनि भयो र आदर सम्मान पनि पाएँ । पेसा बाहेक पनि प्यासनलाई जीवन्त राख्नुपर्छ भनेर मैले यो कन्सर्ट गरेको हुँ ।'
करिब १८ वर्षदेखि चिकित्सा पेसामा आबद्ध भण्डारीका ओढेर पछ्यौरी, सकिएन, धन्यवाद, कसरी भनुँ, तिम्रो नै माया, एउटा जीवनलगायतका गीत सार्वजनिक भइसकेका छन् ।
![Doctor's concert in LOD [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/entertainment/doctor-bhandari-concert-1-15112025064322-1000x0.jpg&w=1001&h=0)