‘ऊनको स्वीटर’ भारतमा पनि रिलिज हुँदै

नेपालमा १२ करोडभन्दा बढी कमाइ गरेको ‘ऊनको स्वीटर’ दार्जिलिङ, गान्तोक, सिलिगुडी, कालिम्पोङ, कर्स्याङ, दिल्ली लगायतका हलमा प्रदर्शन हुनेछ ।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

'Wool Sweater' is also being released in India

What you should know

काठमाडौँ — फिल्म 'ऊनको स्वीटर' अब भारतमा पनि रिलिज हुने भएको छ । आर्टमान्डूले निर्माण गरेको फिल्मलाई भारतमा एसली प्रोडक्सनले वितरण गर्ने निर्णय गर्दै आधिकारिक वक्तव्य सार्वजनिक गरेको छ ।

नोभेम्बर २१ देखि दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ, कालिम्पोङ, आसाम र दिल्लीसहितका प्रमुख स्थानका सिनेमा हलहरूमा पहिलो चरणमा प्रदर्शन गरिने निर्देशक नवीन चौहानले बताए ।

फिल्मले नेपाली बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको थियो । हालै मात्र भारतको चलचित्र प्रमाणीकरण बोर्डबाट सेन्सर पास भएको 'ऊनको स्वीटर' भारत रिलिजका लागि दार्जिलिङस्थित एसभिएफ सिनेमा, कर्स्याङको कर्स्याङ फन्टाजी सिनेमा, नाम्चीको नाम्ची इम्पेरियल सिनेमा, सिक्किममा गान्तोकस्थित डेन्जोङ सिनेमा र वज्र सिनेमा साथै गान्तोककै आईएनओएक्स गान्तोक सिनेमा, वेस्ट बंगालको लागि सिलिगुडीको आईएनओएक्स सिनेमा सिटी सेन्टर, आईएनओएक्स वेगा सर्कल, आईएनओएक्स एग्रोपोलिस सिलिगुडी र साउथ सिटी सिलिगुडीलगायतका प्रतिष्ठित हलहरूले प्रदर्शनका लागि आफ्नो स्क्रिन प्रदान गरिसकेका छन् । 

फिल्मको प्रिमियर रिलिजको १ दिनअघि नोभेम्बर २० मा सिक्किममा हुने भएको छ । प्रिमियरमा नेपालबाट अभिनेताहरू विपिन कार्की र एलेक्स पारससहित कलाकारहरू, गायक सुजन चापागाईँ र निर्देशक नवीन चौहानलगायत सहभागी रहनेछन् ।

नवीन चौहानको लेखन तथा निर्देशन रहेको फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमु, प्रकाश बस्नेत, विल्सन विक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेललगायत कलाकारको अभिनय छ ।

फिल्मलाई गीत सुजन चापागाईँ र संगीत कोविद बज्रको संगीत निर्देशन छ । 

कान्तिपुर

Link copied successfully