१८ वर्षपछि दर्शकको मनमा प्रीतिको फूल फुलाउन आएकी तृप्ति नाडकर

उनको पछिल्लो फिल्म थियो ‘देवर बाबु’ । त्यसपछि के भयो ? तृप्ति लामो श्वास लिँदै भन्छिन्, ‘मेरो व्यक्तिगत जीवनमा धेरै घटना घटे । जीवनमा जस्तोसुकै अवस्थालाई पनि स्वीकार गर्नुपर्ने रहेछ ।’

कार्तिक २८, २०८२

समर्पण श्री

Trupti Nadkar returns to bloom the flower of love in the hearts of the audience after 18 years

What you should know

काठमाडौँ — ‘कुसुमे रुमाल’बाट दर्शकको मनमा प्रीतिको फूल फुलाउने अभिनेत्री कहाँ होलिन् ? १८ वर्षदेखि फिल्म क्षेत्रबाट भूमिगतझैं भएकी तृप्ति नाडकर केही दिनयता अचानक नेपालमा देखिइन् ।

सुटिङस्थलबाट नेपाली कलाकारहरूले उनीसँग बनाएका टिकटकहरू लाखौंले हेरे । उही परिचित हाँसो, जादुमयी अभिनय ।

दुई दिनअघि काठमाडौंमा उनीसँग भेट भएपछि तृप्ति फेरि नेपाल आउनुको राज खुल्यो । ‘तपाईंलाई थाहा छ, म १८ वर्षपछि यहाँ आएँ नि,’ न्यानो आत्मीयता सहितको मुस्कान दिँदै तृप्तिले भनिन् ।

मराठी, हिन्दी पर्दा हुँदै उनले नेपाली फिल्ममा पनि नयाँनयाँ संसार सजाइरहिन् । हर फिल्ममा उनको अभिनय कौशलले तृप्त पारिरहेका परिचित दर्शकका आँखाहरू जहिले पनि खोजिरहन्थे– कहाँ हराइन् तृप्ति नाडकर हराइन् ?

फिल्ममा उनलाई देख्न भने दर्शकका अतृप्त आँखा पर्खिरहेका थिए । सन् १९८३ को वर्ष ‘सम्झना’बाट नेपाली फिल्ममा छाएकी उनलाई यहाँका दर्शकहरूले कहिल्यै बिर्सन सकेनन् ।

नेपाली फिल्महरूमा सुन्दर संसार सजाएकी तृप्तिलाई यतिका वर्ष नेपाल आउन के कुराले रोक्यो  ? फिल्म क्षेत्रसँगैको दुरी के कारणले बढ्यो ? बरु उनका छोरा धीरज नाडकरले ४ वर्षअघि ‘बाबरी’बाट नेपाली फिल्ममा डेब्यु गरे । तर तृप्तिको कमब्याक किन भएन ? यिनै कौतुहलका पत्र यसपटक तृप्तिले खोलिन् । त्यो भन्दाअघि हामी तृप्तिको खोजी कसरी भयो भन्ने कुरा सुनाउँछौं ।

कमेडी शो ‘कमेडी दरबार‘ निर्देशन गरिरहेका विक्की अग्रवाल र श्रद्धा प्रसाईंले पहिलो पटक फिल्म बनाउने भए । फिल्मको नाम सोचे– क, का, कि, की । फिल्मको कथा बुनिरहँदा उनीहरूको स्मृतिमा एउटा परिचित आकृति आइरह्यो । आकृति थिइन् तृप्ति । उनैका फिल्म हेरेर हुर्किएका विक्की-श्रद्धाले तृप्तिलाई थुप्रै वर्षदेखि पर्दामा देख्न पाएका थिएनन् । उनीहरूले सल्लाह गरे, ‘तृप्ति नाडकरलाई खोजौं ।’

Trupti Nadkar returns to bloom the flower of love in the hearts of the audience after 18 years

खोज्न कहाँ सजिलो थियो ! तृप्ति न फेसबुक चलाउँथिन्, न उनको नम्बर नै उपलब्ध थियो । ‘कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ केही थाहा थिएन । फेरि भेटिहालेमा प्रस्ताव अस्वीकार गर्नुहोला भन्ने डर,’ विक्की सुनाउँछन् । 

विभिन्न माध्यम हुँदै उनीहरूले तृप्तिको सम्पर्क नम्बर पाए । फोन गरे । भने, ‘हामीले हजुरलाई सोचेर स्क्रिप्ट लेखेका छौं । हजुरले कमब्याक गर्नुपर्‍यो ।’ तृप्तिले स्क्रिप्ट पठाउनुस् भनिन् । स्क्रिप्ट पढ्नासाथ राजी भइन् । ‘उहाँ फर्कनु हामीलाई त सपनाजस्तो लागिरहेको छ,’ विक्की भन्छन् ।

यता विक्की-श्रद्धाले ‘क, का, कि, की’ का लागि प्रस्ताव गर्दा उता मुम्बईमा तृप्ति साना विद्यार्थीहरूलाई ‘कखरा’ सिकाइरहेकी थिइन् । १५ वर्षदेखि तृप्ति किन्डरगार्टेनमा विद्यार्थीहरूलाई स्नेहसाथ पढाइरहेकी थिइन् । यतिका वर्षपछि प्रस्ताव आउँदा उनी भावनात्मक भइन् ।

विक्की र श्रद्धालगत्तै उनलाई ‘बाटुलो जुन’का लागि अभिनेता भुवन केसीले पनि फोन गरेका रहेछन् । तर दुवैको फिल्मको छायाँकन एकै समय हुने भयो । उनले पहिले कबुल गरेको फिल्म ‘क, का, कि, की’ रोजिन् । तर स्कुलमा बिदा कसरी मिलाउने ? १५ वर्षमा कहिल्यै एक दिन पनि बिदा नलिएकी तृप्तिले लामै छुट्टी लिनुपर्ने भयो । ‘स्कुलको बिदाको समय पर्‍यो । अनि बाँकी म्यामलाई भनेर मिलाएँ नि,’ तृप्ति मुस्कुराउँदै भन्छिन् ।Trupti Nadkar returns to bloom the flower of love in the hearts of the audience after 18 years

जहाज नेपाली आकाशमा आइपुग्दासम्म तृप्तिको मन पक्षीझैं उडेको थियो । नेपाल टेक्नासाथ न्यानो आत्मीयता र वर्षौंदेखिको साइनो सम्झेर मन निथ्रुक्क भयो । आफ्नो देशका मायालाग्दा मान्छेहरू देख्दा भावुक भइन् । तर नेपाल त कति धेरै परिवर्तन भएझैं लाग्यो तृप्तिलाई । ‘बाटोहरू सबै परिवतर्नन भएजस्तो । सबै अर्कै भइसकेछन्,’ उनी वर्णन गर्छिन् ।

गौरी मल्लसँग तृप्तिको पहिलो भेट यसपटक भयो । ‘तर भेट पहिलेजस्तो नै लाग्दैन थियो । अरुले त पहिल्यैदेखि चिनजान हो कि ठान्थे,’ तृप्ति भन्छिन् । रेखा थापासँग भने उनले यसअघि ‘देवर बाबु’ र ‘ट्याक्सी ड्राइभर’मा काम गरेकी थिइन् । भेटमा पुराना दिनका सम्झना भए ।

नेपाल आएपछि तृप्तिलाई थाहा भयो, यहाँ उनका दर्शकहरूले कति खोजी गरेका रहेछन् भनेर । ‘म हरेक मान्छेको मन मुटुमा रहेछु,’ उनी पुलकित हुँदै भन्छिन् । 

तृप्तिको मामाघर हो नेपाल । दोलखाकी राधा शर्माको बिहे मुम्बईका श्रीकृष्ण नाडकरसँग भयो । तृप्ति दार्जिलिङमा १९६८मा जन्मिइन् । मुम्बईमा हुर्किइन् । दुई वर्षको उमेरदेखि नै विज्ञापनमा खेल्न थालेकी तृप्तिको मन हुर्कँदै गर्दा फिल्ममा बसिरहेको थियो ।

Trupti Nadkar returns to bloom the flower of love in the hearts of the audience after 18 years

१० वर्षको उमेरमा उनले पहिलो पटक मराठी फिल्म खेलिन् । त्यसपछि त लगातार मराठी फिल्ममा लिड अभिनेत्रीको रुपमा काम गरिन् । एक दिन उनले मुम्बईमा सुटिङ गरिरहेको बेला हेर्नका लागि शम्भु प्रधान, तुलसी घिमिरे र भुवन केसी पुगे । उनको अभिनय देखेपछि शम्भुले ‘सम्झना’ र भुवनले ‘कुसुमे रुमाल’का लागि उनलाई प्रस्ताव गर्ने सोचे । तर तृप्तिले नेपाली बोल्लिन् त ? राजी होलिन् त ?  तुलसी र शम्भुले खोज्दै जाँदा त साइनो केलाउन थाले । तुलसी तृप्तिको मामा पर्ने रहेछन् भने शम्भुको ससुरा उनका बाको साथी । 

तृप्ति राजी भइन्  । तर उनलाई नेपाली बोल्न कठिन थियो । उनलाई भाषाको समस्या भयो । ‘मलाई फिल्म गरिरहँदा लाग्यो कि म कक्षा १२को परीक्षा दिइरहेछु । कहिल्यै सुन्दै नसुनेको शब्द भन्नुपर्ने । थाहा छैन मैले दुई फिल्म कसरी गरेँ,’ तृप्ति भन्छिन् ।

Trupti Nadkar returns to bloom the flower of love in the hearts of the audience after 18 yearsघरमा बाआमाले तृप्तिलाई केही कुरा लुकाउनुपर्‍यो भने कोड भाषाका रुपमा नेपाली बोल्थे । ‘तर काम गर्दागर्दै नेपाली भाषामा प्रेम बस्यो । भाषालाई गीतहरूले मिठास भरे,’ उनी भन्छिन् । तृप्तिलाई झट्ट सम्झना गर्नेहरूले सुरुमा ‘कुसुमे रुमाल’ गीत सम्झिन्छन् । त्यो गीतसँग तृप्तिको पनि विछट्टै प्रेम छ । ‘कुसुमे रुमाल गीत रञ्जित गजमेर अंकलले कुसुम आन्टीाक लागि लेख्नुभएको थियो । कुसुमबाट कुसुमे रुमाल बनेको थियो,’ उनी ती दिनतर्फ फर्किन्छिन् । 

दुई वटा नेपाली फिल्म गरिसक्दा पनि तृप्ति नेपाल आउन पाएकी थिइनन् । उनी ‘साइनो’ फिल्मको गीत सुटिङका लागि मात्र नेपाल आएकी थिइन् । त्यसपछि नेपाल आउजाउ त बाक्लै हुन थाल्यो । लाहुरे, साइनो, कोसेली, आमाको काँख, दुनियाँ हुँदै तृप्तिले दर्जन बढी फिल्ममा काम गरिन् । उनको पछिल्लो फिल्म थियो ‘देवर बाबु’ (२०६४) ।

त्यसपछि के भयो ? तृप्ति लामो श्वास लिँदै भन्छिन्, ‘मेरो व्यक्तिगत जीवनमा धेरै घटना घटे । बाको बोन क्यान्सर भयो । आमाले आमा गुमाउनुभयो, खुट्टा पनि भाँचियो ।’ त्यसपछि सायद जुरेन । विभिन्न समस्यासँग जुधिरहँदा पनि उनी पर्खिरहेकी थिइन् नेपाली फिल्म । प्रस्ताव पनि आएन । ‘जीवनमा जस्तोसुकै अवस्थालाई पनि स्वीकार गर्नुपर्ने रहेछ,’ उनी भन्छिन् । Trupti Nadkar returns to bloom the flower of love in the hearts of the audience after 18 years

यता फिल्म नआउनु, उता विभिन्न समस्याहरूसँग जुधिरहनु । आर्थिक समस्या पनि देखिन थाल्नु । तृप्तिले काम गर्नुपर्ने अवस्था आयो । त्यसपछि उनले स्कुलको जागिर सुरु गरिन् । एउटा संसारमा रमाइरहेकी उनले त्यो संसारलाई चटक्कै छाडेर अर्को बाटो रोज्नुपर्दा सहज त थिएन । ‘स्कुल ज्वाइन गर्दाको पहिलो दिन म हराएँ नि । त्यो त मेरो फिल्ड नै थिएन । सुटिङबाट आएको मान्छे कसैको अन्डरमा बस्नुपरेको छ । म्यामले यो गर त्यो गर भन्छ, ओहो,’ तृप्ति सुनाउँछिन्, ‘त्यसमाथि किन्डरगार्टेननका बच्चाहरूलाई सम्हाल्नुपर्ने । एउटै कक्षामा ४० जना । त्यहीबेला थाहा पाएँ एउटा शिक्षकको जीवनमा पनि कति अफ्ठ्यारा आउँदा रहेछन् ।’

स्कुलमा जागिर खान गएको दिनदेखि नै तृप्तिले सेलिब्रिटी तृप्तिलाई सुटिङ सेटमै छाडेर हिँडेकी थिइन् । उनले स्कुलमा कहिल्यै पनि यो खुलाइनन् । ‘मैले कहिल्यै स्कुलमा म एक्ट्रेस छु भनिनँ । कसैलाई थाहा पनि भएन ।’ विस्तारै उनको लगाव साना बालबालिकासँग बढ्न थाल्यो । आफ्नो नयाँ दैनिकी नै तृप्तिलाई बानी पर्न थाल्यो । त्यो संसारमा उनी रमाउनुको एउटै कारण थियो– स्वीकारोक्ति । ‘सिकाइ र स्वीकारोक्ति दुवै सँगै भयो भने यो एकदम सुन्दर हुन्छ,’ तृप्ति प्रस्ट्याउँछिन् ।

Trupti Nadkar returns to bloom the flower of love in the hearts of the audience after 18 years

अहिले स्कुलका विद्यार्थीहरूको प्रिय गुरुआमा भएकी छन् तृप्ति । ‘बच्चाहरू कति माया गर्छन् । स्कुलभित्र पुग्नेबित्तिकै सबैले मेरो नाम लिन्छन् । अभिभावकले भन्नुहुन्छ– तृप्ति म्याम, दिनभर घरमा तपाईंकै गुनगान हुन्छ । मेरो म्यामले त भन्नहुन्छ कि म तिमीलाई त रिटायर्ड हुनै दिन्न,’ तृप्ति सुनाउँछिन् । उनी चाहे फिल्ममा होस् वा स्कुलमा दुवै क्षेत्रमा उत्तिकै माया पाएकामा बरु गर्व गर्छिन् ।

Trupti Nadkar returns to bloom the flower of love in the hearts of the audience after 18 yearsआफ्नो राज कहिल्यै नखोलेकी तृप्तिलाई देखेर स्कुल अहिले चकित छ । यसपटक उनको कलाकर्मबारे स्कुल र शिक्षकहरूले थाहा पाए । ‘यो पालि सबैले थाहा पाउनुभयो । सोचिरहेको छु, अब गएपछि के के हुने हो,’  तृप्ति हँसिलो अनुहारमा खुसीका रङ भर्दै भन्छिन् ।

समर्पण श्री उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully