उनको पछिल्लो फिल्म थियो ‘देवर बाबु’ । त्यसपछि के भयो ? तृप्ति लामो श्वास लिँदै भन्छिन्, ‘मेरो व्यक्तिगत जीवनमा धेरै घटना घटे । जीवनमा जस्तोसुकै अवस्थालाई पनि स्वीकार गर्नुपर्ने रहेछ ।’
What you should know
काठमाडौँ — ‘कुसुमे रुमाल’बाट दर्शकको मनमा प्रीतिको फूल फुलाउने अभिनेत्री कहाँ होलिन् ? १८ वर्षदेखि फिल्म क्षेत्रबाट भूमिगतझैं भएकी तृप्ति नाडकर केही दिनयता अचानक नेपालमा देखिइन् ।
सुटिङस्थलबाट नेपाली कलाकारहरूले उनीसँग बनाएका टिकटकहरू लाखौंले हेरे । उही परिचित हाँसो, जादुमयी अभिनय ।
दुई दिनअघि काठमाडौंमा उनीसँग भेट भएपछि तृप्ति फेरि नेपाल आउनुको राज खुल्यो । ‘तपाईंलाई थाहा छ, म १८ वर्षपछि यहाँ आएँ नि,’ न्यानो आत्मीयता सहितको मुस्कान दिँदै तृप्तिले भनिन् ।
मराठी, हिन्दी पर्दा हुँदै उनले नेपाली फिल्ममा पनि नयाँनयाँ संसार सजाइरहिन् । हर फिल्ममा उनको अभिनय कौशलले तृप्त पारिरहेका परिचित दर्शकका आँखाहरू जहिले पनि खोजिरहन्थे– कहाँ हराइन् तृप्ति नाडकर हराइन् ?
फिल्ममा उनलाई देख्न भने दर्शकका अतृप्त आँखा पर्खिरहेका थिए । सन् १९८३ को वर्ष ‘सम्झना’बाट नेपाली फिल्ममा छाएकी उनलाई यहाँका दर्शकहरूले कहिल्यै बिर्सन सकेनन् ।
नेपाली फिल्महरूमा सुन्दर संसार सजाएकी तृप्तिलाई यतिका वर्ष नेपाल आउन के कुराले रोक्यो ? फिल्म क्षेत्रसँगैको दुरी के कारणले बढ्यो ? बरु उनका छोरा धीरज नाडकरले ४ वर्षअघि ‘बाबरी’बाट नेपाली फिल्ममा डेब्यु गरे । तर तृप्तिको कमब्याक किन भएन ? यिनै कौतुहलका पत्र यसपटक तृप्तिले खोलिन् । त्यो भन्दाअघि हामी तृप्तिको खोजी कसरी भयो भन्ने कुरा सुनाउँछौं ।
कमेडी शो ‘कमेडी दरबार‘ निर्देशन गरिरहेका विक्की अग्रवाल र श्रद्धा प्रसाईंले पहिलो पटक फिल्म बनाउने भए । फिल्मको नाम सोचे– क, का, कि, की । फिल्मको कथा बुनिरहँदा उनीहरूको स्मृतिमा एउटा परिचित आकृति आइरह्यो । आकृति थिइन् तृप्ति । उनैका फिल्म हेरेर हुर्किएका विक्की-श्रद्धाले तृप्तिलाई थुप्रै वर्षदेखि पर्दामा देख्न पाएका थिएनन् । उनीहरूले सल्लाह गरे, ‘तृप्ति नाडकरलाई खोजौं ।’
खोज्न कहाँ सजिलो थियो ! तृप्ति न फेसबुक चलाउँथिन्, न उनको नम्बर नै उपलब्ध थियो । ‘कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ केही थाहा थिएन । फेरि भेटिहालेमा प्रस्ताव अस्वीकार गर्नुहोला भन्ने डर,’ विक्की सुनाउँछन् ।
विभिन्न माध्यम हुँदै उनीहरूले तृप्तिको सम्पर्क नम्बर पाए । फोन गरे । भने, ‘हामीले हजुरलाई सोचेर स्क्रिप्ट लेखेका छौं । हजुरले कमब्याक गर्नुपर्यो ।’ तृप्तिले स्क्रिप्ट पठाउनुस् भनिन् । स्क्रिप्ट पढ्नासाथ राजी भइन् । ‘उहाँ फर्कनु हामीलाई त सपनाजस्तो लागिरहेको छ,’ विक्की भन्छन् ।
यता विक्की-श्रद्धाले ‘क, का, कि, की’ का लागि प्रस्ताव गर्दा उता मुम्बईमा तृप्ति साना विद्यार्थीहरूलाई ‘कखरा’ सिकाइरहेकी थिइन् । १५ वर्षदेखि तृप्ति किन्डरगार्टेनमा विद्यार्थीहरूलाई स्नेहसाथ पढाइरहेकी थिइन् । यतिका वर्षपछि प्रस्ताव आउँदा उनी भावनात्मक भइन् ।
विक्की र श्रद्धालगत्तै उनलाई ‘बाटुलो जुन’का लागि अभिनेता भुवन केसीले पनि फोन गरेका रहेछन् । तर दुवैको फिल्मको छायाँकन एकै समय हुने भयो । उनले पहिले कबुल गरेको फिल्म ‘क, का, कि, की’ रोजिन् । तर स्कुलमा बिदा कसरी मिलाउने ? १५ वर्षमा कहिल्यै एक दिन पनि बिदा नलिएकी तृप्तिले लामै छुट्टी लिनुपर्ने भयो । ‘स्कुलको बिदाको समय पर्यो । अनि बाँकी म्यामलाई भनेर मिलाएँ नि,’ तृप्ति मुस्कुराउँदै भन्छिन् ।
जहाज नेपाली आकाशमा आइपुग्दासम्म तृप्तिको मन पक्षीझैं उडेको थियो । नेपाल टेक्नासाथ न्यानो आत्मीयता र वर्षौंदेखिको साइनो सम्झेर मन निथ्रुक्क भयो । आफ्नो देशका मायालाग्दा मान्छेहरू देख्दा भावुक भइन् । तर नेपाल त कति धेरै परिवर्तन भएझैं लाग्यो तृप्तिलाई । ‘बाटोहरू सबै परिवतर्नन भएजस्तो । सबै अर्कै भइसकेछन्,’ उनी वर्णन गर्छिन् ।
गौरी मल्लसँग तृप्तिको पहिलो भेट यसपटक भयो । ‘तर भेट पहिलेजस्तो नै लाग्दैन थियो । अरुले त पहिल्यैदेखि चिनजान हो कि ठान्थे,’ तृप्ति भन्छिन् । रेखा थापासँग भने उनले यसअघि ‘देवर बाबु’ र ‘ट्याक्सी ड्राइभर’मा काम गरेकी थिइन् । भेटमा पुराना दिनका सम्झना भए ।
नेपाल आएपछि तृप्तिलाई थाहा भयो, यहाँ उनका दर्शकहरूले कति खोजी गरेका रहेछन् भनेर । ‘म हरेक मान्छेको मन मुटुमा रहेछु,’ उनी पुलकित हुँदै भन्छिन् ।
तृप्तिको मामाघर हो नेपाल । दोलखाकी राधा शर्माको बिहे मुम्बईका श्रीकृष्ण नाडकरसँग भयो । तृप्ति दार्जिलिङमा १९६८मा जन्मिइन् । मुम्बईमा हुर्किइन् । दुई वर्षको उमेरदेखि नै विज्ञापनमा खेल्न थालेकी तृप्तिको मन हुर्कँदै गर्दा फिल्ममा बसिरहेको थियो ।
१० वर्षको उमेरमा उनले पहिलो पटक मराठी फिल्म खेलिन् । त्यसपछि त लगातार मराठी फिल्ममा लिड अभिनेत्रीको रुपमा काम गरिन् । एक दिन उनले मुम्बईमा सुटिङ गरिरहेको बेला हेर्नका लागि शम्भु प्रधान, तुलसी घिमिरे र भुवन केसी पुगे । उनको अभिनय देखेपछि शम्भुले ‘सम्झना’ र भुवनले ‘कुसुमे रुमाल’का लागि उनलाई प्रस्ताव गर्ने सोचे । तर तृप्तिले नेपाली बोल्लिन् त ? राजी होलिन् त ? तुलसी र शम्भुले खोज्दै जाँदा त साइनो केलाउन थाले । तुलसी तृप्तिको मामा पर्ने रहेछन् भने शम्भुको ससुरा उनका बाको साथी ।
तृप्ति राजी भइन् । तर उनलाई नेपाली बोल्न कठिन थियो । उनलाई भाषाको समस्या भयो । ‘मलाई फिल्म गरिरहँदा लाग्यो कि म कक्षा १२को परीक्षा दिइरहेछु । कहिल्यै सुन्दै नसुनेको शब्द भन्नुपर्ने । थाहा छैन मैले दुई फिल्म कसरी गरेँ,’ तृप्ति भन्छिन् ।
घरमा बाआमाले तृप्तिलाई केही कुरा लुकाउनुपर्यो भने कोड भाषाका रुपमा नेपाली बोल्थे । ‘तर काम गर्दागर्दै नेपाली भाषामा प्रेम बस्यो । भाषालाई गीतहरूले मिठास भरे,’ उनी भन्छिन् । तृप्तिलाई झट्ट सम्झना गर्नेहरूले सुरुमा ‘कुसुमे रुमाल’ गीत सम्झिन्छन् । त्यो गीतसँग तृप्तिको पनि विछट्टै प्रेम छ । ‘कुसुमे रुमाल गीत रञ्जित गजमेर अंकलले कुसुम आन्टीाक लागि लेख्नुभएको थियो । कुसुमबाट कुसुमे रुमाल बनेको थियो,’ उनी ती दिनतर्फ फर्किन्छिन् ।
दुई वटा नेपाली फिल्म गरिसक्दा पनि तृप्ति नेपाल आउन पाएकी थिइनन् । उनी ‘साइनो’ फिल्मको गीत सुटिङका लागि मात्र नेपाल आएकी थिइन् । त्यसपछि नेपाल आउजाउ त बाक्लै हुन थाल्यो । लाहुरे, साइनो, कोसेली, आमाको काँख, दुनियाँ हुँदै तृप्तिले दर्जन बढी फिल्ममा काम गरिन् । उनको पछिल्लो फिल्म थियो ‘देवर बाबु’ (२०६४) ।
त्यसपछि के भयो ? तृप्ति लामो श्वास लिँदै भन्छिन्, ‘मेरो व्यक्तिगत जीवनमा धेरै घटना घटे । बाको बोन क्यान्सर भयो । आमाले आमा गुमाउनुभयो, खुट्टा पनि भाँचियो ।’ त्यसपछि सायद जुरेन । विभिन्न समस्यासँग जुधिरहँदा पनि उनी पर्खिरहेकी थिइन् नेपाली फिल्म । प्रस्ताव पनि आएन । ‘जीवनमा जस्तोसुकै अवस्थालाई पनि स्वीकार गर्नुपर्ने रहेछ,’ उनी भन्छिन् । 
यता फिल्म नआउनु, उता विभिन्न समस्याहरूसँग जुधिरहनु । आर्थिक समस्या पनि देखिन थाल्नु । तृप्तिले काम गर्नुपर्ने अवस्था आयो । त्यसपछि उनले स्कुलको जागिर सुरु गरिन् । एउटा संसारमा रमाइरहेकी उनले त्यो संसारलाई चटक्कै छाडेर अर्को बाटो रोज्नुपर्दा सहज त थिएन । ‘स्कुल ज्वाइन गर्दाको पहिलो दिन म हराएँ नि । त्यो त मेरो फिल्ड नै थिएन । सुटिङबाट आएको मान्छे कसैको अन्डरमा बस्नुपरेको छ । म्यामले यो गर त्यो गर भन्छ, ओहो,’ तृप्ति सुनाउँछिन्, ‘त्यसमाथि किन्डरगार्टेननका बच्चाहरूलाई सम्हाल्नुपर्ने । एउटै कक्षामा ४० जना । त्यहीबेला थाहा पाएँ एउटा शिक्षकको जीवनमा पनि कति अफ्ठ्यारा आउँदा रहेछन् ।’
स्कुलमा जागिर खान गएको दिनदेखि नै तृप्तिले सेलिब्रिटी तृप्तिलाई सुटिङ सेटमै छाडेर हिँडेकी थिइन् । उनले स्कुलमा कहिल्यै पनि यो खुलाइनन् । ‘मैले कहिल्यै स्कुलमा म एक्ट्रेस छु भनिनँ । कसैलाई थाहा पनि भएन ।’ विस्तारै उनको लगाव साना बालबालिकासँग बढ्न थाल्यो । आफ्नो नयाँ दैनिकी नै तृप्तिलाई बानी पर्न थाल्यो । त्यो संसारमा उनी रमाउनुको एउटै कारण थियो– स्वीकारोक्ति । ‘सिकाइ र स्वीकारोक्ति दुवै सँगै भयो भने यो एकदम सुन्दर हुन्छ,’ तृप्ति प्रस्ट्याउँछिन् ।
अहिले स्कुलका विद्यार्थीहरूको प्रिय गुरुआमा भएकी छन् तृप्ति । ‘बच्चाहरू कति माया गर्छन् । स्कुलभित्र पुग्नेबित्तिकै सबैले मेरो नाम लिन्छन् । अभिभावकले भन्नुहुन्छ– तृप्ति म्याम, दिनभर घरमा तपाईंकै गुनगान हुन्छ । मेरो म्यामले त भन्नहुन्छ कि म तिमीलाई त रिटायर्ड हुनै दिन्न,’ तृप्ति सुनाउँछिन् । उनी चाहे फिल्ममा होस् वा स्कुलमा दुवै क्षेत्रमा उत्तिकै माया पाएकामा बरु गर्व गर्छिन् ।
